किरणराज शर्मा पौडेल
केन्द्रीय सदस्य नेपाली कांग्रेस

नेपाली कांग्रेस र नेकपा एमालेको सातबुँदे सहमतिअनुसार सत्ता गठबन्धन राम्रै चलिरहेको छ, दुई दलबीच सौहार्दता कायम रहेको कांग्रेस केन्द्रीय सदस्य किरणराज शर्मा पौडेलले बताएका छन् । उपसभामुख विवादमा अनधिकृत सिफारिस र अस्वीकृत विदेश भ्रमणका कारण टीकाटिप्पणी भइरहेको र उनको पारदर्शितामाथि प्रश्न उठे पनि हटाउने प्रस्ताव दर्ता नभएको उनले उल्लेख गरे । उपसभामुख प्रकरणमा कांग्रेसभित्र मतभेद रहेको पौडेलले स्वीकार गरे । उनै पौडेलसँग देशान्तरकर्मी मुक्तिबाबु रेग्मीले गरेको कुराकानीको सम्पादित अंश :

ad

अहिले सत्ता गठबन्धन ठिकठाकै चलिरहेको छ ?

गठबन्धन राम्रै किसिमले चलिरहेको छ । नेपाली कांग्रेस र नेकपा एमालेको बीचमा जुनबेला जुन सातबुँदे सहमति भएर गठबन्धनको सुरुवात भएको थियो त्यो सातबुँदेको मर्मअनुसार गठबन्धन राम्रो किसिमले चलिरहेको छ । एकआपसमा सौहार्दता र सद्भाव नै छ ।

सत्तारुढ गठबन्धन भित्रै पनि कोही उपसभामुख हटाउनुपर्छ भन्छन् तपाईंहरू एकदमै जोसिनुहुन्छ फेरि थचक्क बस्नुहुन्छ किन नि ?

अब उपसभामुखको विषयमा धेरै टीकाटिप्पणी भइसकेको छ । धेरै लामो समयदेखि उपसभामुखको विषय चर्चामा रह्यो । उपसभामुखले जुन अनधिकृत मान्छेहरूलाई सिफारिस गर्नुभयो । अमेरिकी एम्बेसीमा उहाँसँग सम्बन्धित नभएको विषयवस्तु र प्रसंगभन्दा पनि बाहिर भएका मान्छे र आर्थिक लेनदेन र चलखेलको हिसाबमा मानिसहरूको नाम भिसा प्रक्रियालाई सहज बनाउन लागि जुन किसिमले उहाँले सिफारिस गर्नुभयो ।

त्यो कुरा धेरै पहिलेदेखि उठेको हो र उहाँ योभन्दा पहिले पनि बालबालिकासँग सम्बन्धित काम गर्ने भएको हुनाले उहाँको विषयमा अरू धेरै कुराहरू पनि उठिरहेका थिए । अहिले पनि उहाँ जुन विदेश भ्रमणमा हुनुहुन्छ, उहाँले जुन स्वीकृति लिएर भ्रमण जानुपर्ने थियो र त्यो स्वीकृति पनि नलिईकन र आफ्नो मनोमानी किसिमले उहाँ कहाँ जाने के गर्ने भन्ने कुरा एउटा जिम्मेवार र एउटा सार्वजनिक पदमा बसेको व्यक्तिले जानकारी पनि नदिईकन जानुभएको भन्ने कुरा सुनिन्छ ।

तर संसद् सचिवालयले त स्वीकृति लिएको छ भन्छ नि ?

अब संसद् सचिवालयले स्वीकृति लिएको छ भनेर भनेको छ । उहाँ १७ पटक विदेश जानुभयो । उहाँले सातपटक स्वीकृति लिनुभएको छ । १० पटक स्वीकृति नलिईकन जानुभयो । कहाँ जानुहुन्छ ? के गर्नुहुन्छ ? के बोल्नुहुन्छ ? भन्ने कुरा त्यो रेकर्ड गराउनुपर्दैन ? त्यो कुरा जानकारी गराउनु पर्दैन ? एउटा सार्वभौम देशलाई त्यो कुरा जानकारी हुनुपर्छ कि पर्दैन ? मनोमानी हिसाबले हिँड्न पाइन्छ ? भन्ने किसिमको प्रतिनिधिसभाका माननीय सदस्यहरूले उठाएको कुरा पनि हामीले सुनेकै हो । त्यसकारणले यसमा सही सलामत अवस्थामा उहाँ हुनुहुन्न । उहाँले गर्ने क्रियाकलाप पारदर्शी र सही सलामत होऊन् भन्ने कुरा राज्यले चाहेको छ । तर त्यो खालको स्थिति देखिएको छैन । त्यो भएर उहाँमाथि टीकाटिप्पणी उठिरहेको छ ।

तर अहिले तपाईंहरूलाई किन उपसभामुख हटाउनुपर्‍यो ?

उपसभामुख हटाउने प्रसंग अहिले मात्रै आएको होइन । उपसभामुखले गैरराजनीतिक र गैरसंवैधानिक तवरले सीमाभन्दा बाहिर गएर गरेका क्रियाकलापहरूको बारेमा टीकाटिप्पणी अहिले भइरहेको छ । उहाँ राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उपसभामुख हुनुभएको हो । रास्वपाले अहिले पनि भिजिट भिसाको कुरामा संसद् अवरुद्ध गरिरहेको छ । र उहाँले अहिले उपसभामुख हुँदै गर्दा विदेश भ्रमण अथवा बाहिर जाँदा पदलाई बिर्सेर रास्वपाको पनि प्रवक्ताको रूपमा काम गर्नुभएको छ । उहाँका त्यस्ता कर्तुतहरू छन् र जो कुराहरू हिजो उठेका थिए, बीचमा सेलाए र त्यसमा उहाँले सफाइ पनि दिन सक्नुभएको छैन ।

त्यो कुरा टुंगिएको होइन । उहाँसँग सम्बन्धित पार्टीले भिजिट भिसा प्रकरणलाई लिएर संसद् अवरुद्ध गरिरहेको छ । यदि भिजिट भिसाको प्रसंगमा उहाँ पनि जोडिएको व्यक्ति हो । त्यसकारणले उहाँको विषयमा किन बोल्दैन रास्वपा ? रास्वपामा काम गरेको व्यक्ति मानव बेचबिखनदेखि भिजिट भिसाको प्रकरणमा स्वयं संलग्न भएको देखिएको छ । आफ्ना कुरा नउठाउने, तर गलत कुरालाई उठाएर संसद्मा अवरुद्ध गर्ने काम नगर्नुस् भन्नको लागि एउटा सबकको लागि पनि यो कुरा उठेको हो । अहिले मलाई लाग्छ, उहाँको विषयमा अविश्वास दर्ता भएको पनि छैन र हुन सक्छ भोलि । अहिले प्रसंग चलेको छ ।

यही प्रसंगमा तपाईंको पार्टी पनि एक ढिक्का भएन, एकथरी हटाउनुपर्छ, हटाइहालौँ, एकथरी हामी हटाउने पक्षमा छैनौँ खाली कागजमा हस्ताक्षर गर्दैनौँ भन्छन् नि ?

नेपाली कांग्रेस पार्टीमा दुईखाले मान्छे छन् । एकथरी मान्छे यथार्थपरक भएर गल्तीलाई यो खराब हो भनेर भन्न सक्ने मान्छे छन् तिनीहरूले एकखालको कुरा गरेका छन् । एकथरी मान्छे के छन् भने जो पपुलर छ, स्टन्टबाजी गर्ने प्रवृत्ति भएका मानिसहरूले यसलाई हटाउनुहुन्न भनेर मास पपुलारिटीका लागि सपोर्ट गरेका छन् । कुलमानको विषयमा पनि त्यही कुरा उठेको थियो, कुलमान हटाएर आखिर त केही त बिग्रिएन नि त । कुलमान हटाएर के बिग्रियो ? कुलमानले आफ्नो परिधिभित्र रहेर काम नगरेकाले उसलाई हटाउनु पर्‍यो । सरकारले हटाउन सक्थ्यो । हटाउनुहुन्न भन्ने मान्छेहरू पनि त अहिले यही पार्टीमा छन् नि ! तिनै मान्छेले अहिले यस्ता कुरा उठाइरहेका छन् र पार्टीमा अझ जिम्मेदार पदमा बसेका मान्छेहरूले त्यस्ता गैरजिम्मेदार अभिव्यक्ति दिनुहुँदैन भन्ने हाम्रो मान्यता हो ।

पदाधिकारीले नै त्यही भनिसकेपछि अरूले के बुझ्ने भन्ने प्रश्न होला नि ?

पदाधिकारी व्यक्तिगत हो कि पार्टीगत हो ? पदाधिकारी पार्टीगत हो भने पार्टीको तर्फबाट भन्नुपर्‍यो । उहाँले व्यक्तिगत हिसाबमा भन्नुभएको छ । पार्टीगत हिसाबमा उहाँले भन्नुभएको जस्तो मलाई लाग्दैन । उहाँहरूले पार्टीगत रूपमा पार्टीको केन्द्रीय समिति छ, नभए कार्यसम्पादन समिति छ, नभए पदाधिकारी र पूर्वदाधिकारी बसेर निर्णय गर्ने प्रचलन छ कांग्रेसमा । उहाँहरूले बैठक बसेर नै यो विषय उठाउने भन्ने भएको हो जस्तो मलाई लाग्छ । पार्टीको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा यो कुरा उठेको हो । केन्द्रीय सदस्यको बीचमा यो कुरा उठेको त होइन । उहाँहरू त्यही ठाउँमा उभिएर त्यही ठाउँमा बसेर यो कुरा गर्नुहुन्न भनेर किन भन्नुहुन्न ? पार्टीका जिम्मेवार पदाधिकारीले जहाँ मिटिङ बसिन्छ त्यो ठाउँमा नबोलेर यो कुरालाई नरोकेर यो कुरा उठाउनुहुन्न, पार्टीले हस्ताक्षर गर्न लाग्यो भनेपछि ५० थरीका कुरा गर्ने स्टन्टका कुरा गर्नु राम्रो होइन ।

अहिले संवैधानिक परिषद्मा कांग्रेसको उपस्थिति शून्य छ । कांग्रेसलाई त्यहाँ राख्न उहाँलाई हटाउन खोजिएको हैन त ?

यो गलत सोचाइ र गलत बुझाइ हो । त्यो सिटमा कांग्रेसको मान्छे जान अथवा अरू कुनै गठबन्धनको मान्छे जानको लागि अहिले यो प्रसंग उठेको पनि होइन । हटाउने प्रसंग उठेकै छैन । त्यस्तै क्रियाकलापलाई यदि हामीले छुट दिने हो भने हिजो अर्को ठाउँको अर्को विषयले छुट पाउँदा आज फेरि अर्को विषय जन्मियो र भोलि अरू विषयहरू पनि जन्मिन्छन् । त्यसकारणले यस्ता गलत क्रियाकलापहरू गर्नेलाई नसियत दिनुपर्छ भन्ने हो । मान्छेलाई बेच्ने, गायब गर्ने, यस्ता विषयलाई एउटा छोड्दा अर्को, अर्को छोड्दा अर्को त्यसकारणले यो विषयलाई गम्भीरतापूर्वक उठाउन पर्छ भन्ने कुरा कांग्रेसमा उठेको हो । उहाँलाई अविश्वास राखेको पनि छैन र उहाँलाई अविश्वास राखेर हटिसकेपछि कांग्रेसको आउने भन्ने कुरा पनि कहीँ कतै होइन र कुनै पनि गठबन्धनको कुनै पनि पार्टीको मान्छे त्यहाँ ल्याउने भन्ने खालको यो प्रसंग चलेकै छैन । एउटा अनुमानको भरमा उठेका कुराहरू मात्र छन् ।

दुईतिहाइको सरकारमा हुनुहुन्छ, तपाईंहरूले जे चाह्यो त्यही हुन्छ नि ?

अघि तपाईंले कांग्रेसबाट विरोध छ भन्नुभयो । अरू साना दलहरूले पनि अलिअलि विरोध गरेको तपाईंले सुन्नुभएको छ । त्यसकारणले सम्बन्धित ठाउँमा बसेर छलफल गरेर त्यसपछि यो गर्ने या नगर्ने भन्ने कुराको निर्णयमा पुगेपछि एकमत भएर त्यो कुरालाई अगाडि बढाउनुपर्छ ।

दुईतिहाइले जे पनि गर्न सक्छ भन्ने कुराहरूलाई हामीले धेरै ध्यान दिने कुरा पनि छैन र उनको सिट खाली भएपछि हाम्रो मान्छे राखौँला भन्न पनि होइन । उनका जुन कुकृत्य छन् ती कुकृत्यहरूलाई रोक्नका लागि भोलि कसैले पनि यस्ता क्रियाकलापहरू नगरून् । आफ्नो पदीय दुरुपयोग नगरून् र आफ्नो जिम्मेदारीलाई ख्याल गरून् र सार्वजनिक पद धारण गरेको मान्छेले कसरी चल्ने भन्ने कुराको महसुस गरून् भन्नका लागि यो कुरा उठेको हो । त्यो कुरा जायज पनि हो । उठ्दाखेरि त्यसले कुनै आपत्ति र कुनै घाटा हुँदैन । झन् भोलि यसपछिका हुने अरू घटनाहरू रोकिन्छन् ।

अर्को प्रसंग, अहिले सरकारले जुन किसिमले काम गरिरहेको छ, आममानिसमा निराशा छ । ती कुराचाहिँ चिर्न सकेको छ त यो सरकारले ?

मलाई के लाग्छ भने निराशा भन्ने कुरा छैन । निराशा भन्ने कुरा भाष्य मात्रै बनाइएको हो । नेपालको जति क्षमता छ, जति आर्थिक बजेटले धान्न सक्छ त्यो हिसाबको काम सरकारले गरेको छ । हाम्रो पुँजी नै छैन । हाम्रो बजेटै धेरै छैन । हामीले धेरै कुरा एलोकेसन गर्नै सक्या छैन । जे जति छ त्यसलाई व्यवस्थित किसिमले प्रयोग गर्ने व्यवस्थित किसिमले सदुपयोग गर्ने काममा सरकार लागेको छ । छिटफुट एक–दुई मन्त्रीहरूबाट काम गर्ने सन्दर्भमा केही कमीकमजोरी भएका होलान् । मैले सबै दूधले नुहाएका छन् भनेर त भन्दिनँ । तर पनि सरकारले आफ्नो कामको गतिलाई अगाडि बढाउनको लागि प्रयत्नशील छ । प्रयत्न गरिरहेको छ । तपाईंले जुन प्रश्न गर्नुभयो त्यो प्रश्न हिजो धेरै मानिसहरूले गरेका छन् । आममानिसहरूले गरेका छन् । सामाजिक सञ्जालमा पनि आएका छन् ।

जो मान्छे अहिले एक्सनमा गएको हो, सरकारमा भएका मान्छे प्रधानमन्त्रीदेखि मन्त्रीसम्म उनीहरूलाई यो कुरा जानकारी छ, जगजाहेर छ । त्यसकारणले उनीहरू राम्रो गर्ने कुरामा प्रयत्नशील छन् । त्यसकारणले केही भएकै छैन । निराशा छ भन्ने कुरा निराशा होइन । जे गर्छु भनेको थियो भनेको सोचेअनुसारको काम भएको छैनन् ।

सोचेअनुसारको भनेअनुसारको काम हुनुपथ्र्यो । त्यो कुरा हामी पनि भन्छौँ । जे कुरा गर्छु भनेर यो सरकारमा हामी गएका थियौँ, जति सोचेका थियौँ, त्यो भएको छैन । त्यो कुरा नभएका कारण भोलि जनतामा निराशा पैदा हुन सक्छ । जनताहरूको जुन खालको चेतना छ अहिले, चेतनाको विकास भएको छ जनतामा, भनेअनुसारको काम नगर्दा निराशा उत्पन्न हुन सक्छ है । खतरा छ है, त्यसकारणले सजग भएर काम गर, अलि सक्षमता देखाऊ भन्ने कुरा हामीले पनि भनेका छौँ आममानिसको भनाइ पनि त्यही हो ।

खतराको कारण ?

खतरा भन्नाले भोलि निराशा उत्पन्न हुन सक्छ । जुन कमिटमेन्ट गरेर सत्तामा गएको हो, त्यो कमिटमेन्टलाई आशा जगाउने हुनुपर्‍यो । तर आशा जगाउने भएन भने त्यसले निराशा जन्माउने हुन सक्छ है भन्ने कुरा मात्रै हो ।

यही निराशालाई आशामा बदल्नका लागि दुई ठूला पार्टी मिल्नुभयो । तर त्यो निराशा चिर्नका लागि के ले रोक्यो त ? अहिले त सबै कुरा छ नि त तपाईहरूसँग ?

तपाईसँग मेरो कुरा यहीँनेर फरक भयो । निराशा नै उत्पन्न भएको छैन । सरकारले आशा जगाउने किसिमले काम गरिरहेको छ, अगाडि बढिरहेको छ, र आशा जगाउनको लागि प्रयत्न गरिरहेको छ ।

उदाहरण दिनुस् त आशा जगाउने काम सरकारका ?

अब सरकारका त सबै काम छ नि दैनिक काम चलाएकै छ, सरकारले सबै कुराहरू गरेकै छ नि, सरकारले गर्ने कुराहरू त तमाम कुराहरू छ नि कहाँ एकछिन भनेर सकिन्छ र धेरै काम गर्‍या छ नि सरकारले ।

तर प्रधानमन्त्रीले नै काम गर्न सकिएन भनेर स्वीकार गर्नुभएको छ, मन्त्रिमण्डल पुनर्गठन गर्नका लागि कांग्रेसले नमानेको कुरा पनि छ ?

मन्त्रिमण्डल परिवर्तन गरेर अथवा गियर चेन्ज गर्न त पर्छ । तर गियर चेन्ज गर्नु भनेको मन्त्री मन्त्रिमण्डल पुनर्गठन अथवा मन्त्री फेर्नु मात्रै होइन र अहिले भइराखेको हामीले के काम गर्न खोजेका थियौँ त्यो त प्रधानमन्त्रीले कार्यसम्पादन मूल्यांकन गरेर त्यसपछि जनताको बीचमा यो मन्त्रीले यस्तो काम भयो भनेर भन्नुपर्छ । कार्यसम्पादन सम्झौता त भर्खरै भएको छ । कार्यसम्पादनको रिपोर्ट हेरेर यो मन्त्रीले त्यो त भन्न सक्नु पर्‍यो नि ! त्यसकारणले त्यो रिपोर्ट नआउँदै अहिले कसैलाई पनि यसले राम्रो गर्‍यो यसले नराम्रो गर्‍यो भन्ने अवस्था रहन्छ जस्तो मलाई लाग्दैन ।

तपाईंहरूले सरकार बनाउँदा संविधान संशोधन गर्छौं, अव्यवस्था हटाउँछौँ भन्नुभएको थियो, कहाँ पुग्यो ?

संविधान संशोधनको विषय हाम्रो पार्टीको योभन्दा अघिल्लो बैठकमा पनि उठेको हो । नेपाली कांग्रेसले संविधान संशोधनका लागि पार्टीभित्र पनि एउटा संयन्त्र बनाउनुपर्छ भन्ने कुरा पार्टीभित्र पनि भएको छ र सभापतिजीले त्यो संयन्त्र बनाउने भन्ने कुरा भएको छ र त्यसपछि संघीय संसद्मा पनि संविधान संशोधनको लागि एउटा समिति बनाएर त्यसपछि बुदाँहरू टिपेर छलफलमा लगेर संविधान संशोधनको प्रक्रिया अगाडि बढाउने कुरा अगाडि बढ्छ र मलाई लाग्छ त्यो कुरा हुन्छ ।

अब तपाईंहरू उपचुनावमा पनि होमिँदै हुनुहुन्छ के छ तयारी नेपाली कांग्रेसको ?

उपचुनावमा नेपाली कांग्रेस शान्ति र स्थिरताको नारा लिएर जान्छ । अब जनताको बीचमा जान्छ । देशमा विकासको अग्रगामी छलाङ ल्याउने कांग्रेस हो । कांग्रेसका उम्मेदवारहरू राम्रा छन् भन्ने कुरा लिएर जान्छ । र कांग्रेसले अब आफ्नो तयारी गर्दै छ । चुनावमा कांग्रेसले एकल प्रतिस्पर्धा गर्छ । र नेपाली कांग्रेसले रुपन्देहीको क्षेत्र नम्बर ३ मा विजय हासिल गर्छ ।

को हो उम्मेदवार ?

उम्मेदवारको विषयमा अब छलफल चलिरहेको छ । त्यहाँ हाम्रो पार्टीको क्षेत्रीय कार्यसमितिको बैठक बसेर उसले उम्मेदवारको सिफारिस गर्छ र उसले सिफारिस गरेको उम्मेदवारलाई जिल्ला कार्यसमितिले संसदीय समितिमा पठाएर उम्मेदवारको टुंगो लाग्छ ।

तपाइँ नेपाली कांग्रेस जनसम्पर्क समिति समन्वय विभागको प्रमुख, के गर्दै हुनुहुन्छ ?

जनसम्पर्क समिति समन्वय विभागको पहलमा अहिले सबै देशका जनसम्पर्क समितिहरूले अधिवेशनको लागि तयारी गरिरहेका छन् । विश्वभरिका सबै देशका जनसम्पर्क समितिहरूले अधिवेशनको लागि आफ्नो प्रक्रिया प्रारम्भ गरिसकेका छन् । सदस्यता नवीकरण, सदस्यता वितरण र हामीले आश्विन मसान्तसम्म सदस्यता वितरण र नवीकरण गरिसक्नुस् भनेर हामीले केन्द्रीय समितिको बैठकले निर्णय गरेर हामीले उहाँहरूलाई निर्देशन गरेका छौँ । त्यो निर्देशनअनुसार उहाँहरूले अहिले सदस्यता नवीकरण र वितरणको प्रक्रिया अहिले चलाइरहनु भएको छ ।

अमेरिका, क्यानडा युकेमा लामोसमयदेखि अधिवेशन हुन सकेन भनेर टिप्पणी भइरहेको छ ?

धेरै जनसम्पर्क समिति अधिवेशन समयमै गर्नुपर्ने थियो समयमा गरेनन् त्यो कुरा केन्द्रलाई जानकारी पनि छ । विभागलाई जानकारी पनि छ । र सन् २०२१ मा जुन कोरोनाकालमा कांग्रेसको १४औँ महाधिवेशन हुनुभन्दा अगाडि जुम मिटिङबाट धेरै देशका अधिवेशन सम्पन्न भएका हुन् । फिजिकल्ली अब प्रत्येक च्याप्टर गठन गर्ने प्रत्येकलाई सदस्यता वितरण गर्ने र फिजिकल्ली उपस्थिति भएर अधिवेशन गर्ने कुरा बीचमा त्यो कोरोनाको कारणले अलिकति ल्यापसेस भएको हो । अहिले त्यो खालको अवस्था पनि छैन । अहिले खुल्ला किसिमले हिँडेर सदस्यता वितरण गरेर सबैलाई सदस्यता दिएर अधिवेशन गर्नेे अवस्था छ । त्यसकारणले म्याद सकिएका अथवा म्याद भए म्याद भएकाको म्याद छँदै छ । तीन–चारवटा देशको म्याद छ । अरू म्याद सकिएका देशहरूको जनसम्पर्क समितिहरूलाई अधिवेशन गर्नुस् भनेर हामीले परिपत्र गरेका छौँ ।

उहाँहरूले केन्द्रको निर्देशन बमोजिम अधिवेशनको लागि तयारी गरिरहनुभएको छ । अमेरिकामा पनि अधिवेशनको प्रक्रिया सुरु भएको छ । क्यानडामा पनि अधिवेशन प्रक्रिया सुरु भएको छ । अब केही सदस्यताको विषयमा हामीले केही साथीभाइहरूलाई अझ जति सदस्यता जनसम्पर्क समितिले बाँड्न खोजिरहेको छ जतिजनालाई त्योभन्दा पनि बढी साथीहरूलाई जनसम्पर्क सदस्य र नेपाली कांग्रेस क्रियाशील सदस्य दिएर हामीले अधिवेशन अझ भव्य किसिमले बनाउनुपर्छ भन्ने हिसाबमा हामी लागिरहेका छौँ । सबैले जनसम्पर्क समितिको सदस्यता पाउँछ कांग्रेसको क्रियाशील सदस्य पाउँछ । जो नेपाली नागरिक छ, उसले कांग्रेसको क्रियाशील सदस्यता पाउँछ ।

क्यानडा, अमेरिका, जापान, अस्ट्रेलियादेखि लिएर सबै देशमा जनसम्पर्क समितिको अधिवेशन हुन्छ । यसको समय सकिएपछि उहाँहरूले सबै नामावली कलेक्सन गर्नुहुन्छ र केन्द्रमा नाम पठाउनुहुन्छ र केन्द्रीय समितिमा विभागले समन्वय गरेर कहिले कुन मितिमा अधिवेशन गर्ने भन्ने कुरा तय हुन्छ । हामीले यसलाई मोटामोटी पौष मसान्तभित्र सबै देशहरूले आफ्नो अधिवेशन सम्पन्न गर्ने किसिमले कार्यतालिका बनाउनुस् भनेर हामीले सबैलाई निर्देशन दिइसकेका छौँ ।

जनसम्पर्कको त तपाईंहरूले कार्यतालिकाअनुसार भन्दै हुनुहुन्छ, अब नेपाली कांग्रेसको १५औँ महाधिवेशन कुन कार्यतालिकामा हुने हो ?

नेपाली कांग्रेसको क्रियाशील सदस्यता आश्विन मसान्तसम्म नवीकरण गरिसक्ने भनेर अस्तिको केन्द्रीय कार्यसमितिको बैठकले निर्णय गरेको छ । आश्विन मसान्तभित्र सबै देशभरिका, सबै जिल्लाहरूले क्षेत्र, जिल्ला सबैले क्रियाशील सदस्य नवीकरण गरेर केन्द्रमा पठाइसक्नुहुन्छ । त्यसपछि नयाँ क्रियाशील सदस्य वितरणको कुरा सुरु हुन्छ । नयाँ क्रियाशील सदस्य वितरण भइसकेपछि नवीकरण गरेका र नयाँ सदस्य जम्मा गरेर अनि सम्बन्धित क्षेत्रमा जिल्लामा बुथ कमिटीमा पठाउँछौँ । त्यसपछि अधिवेशन सुरु हुनेछ ।