
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपमहासचिव जनार्दन शर्मा एकले अर्कालाई सार्वजनिक मञ्चबाटै आलोचना गरिरहनुले उनीहरूबीचको सम्बन्धमा लामो समयदेखि चल्दै आएको दरार कायमै रहेको देखाउँछ । शर्माले प्रचण्डलाई लक्षित गर्दै मनमोहन अधिकारीबाहेक सबै कम्युनिष्ट प्रधानमन्त्रीहरू भ्रष्टाचारमा मुछिएको समेत भन्न भ्याए । प्रचण्डले पनि जनार्दन्लाई पार्टी नै छोडेर जान चुनौती दिनुले दुईबीचको अन्तद्र्वन्द्व छरपस्ट भएको छ ।
प्रचण्ड र शर्माबीच चलिरहेको अन्तरसंघर्षबारे हालै सम्पन्न स्थायी कमिटी बैठकमा पनि घनीभूत रूपमा छलफल भएको थियो । बैठकले नेतृत्वको आलोचना गरेकोमा शर्माले आत्मालोचना गनुपर्ने सुझाव दिएको थियो । तर, शर्मा त्यसका लागि तयार नभई उल्टै पहिला प्रचण्डले आत्मालोचना गर्नुपर्ने अडान लिए । यद्यपि बैठकमा पार्टीभित्रका विवाद बाहिर छताछुल्ल नपार्ने निर्णय भएको थियो ।
बैठकपछि जारी सर्कुलरमा समेत यो विषय उल्लेख छ । यसका साथै जनार्दन शर्माले आत्मालोचना गर्न निर्देशन दिँदा अटेर गरेको विषय पनि सर्कुलरमा समावेश छ । ‘कमरेड प्रभाकरले आत्मालोचना गर्नु भएन र उल्टै पार्टी नेतृत्वविरुद्ध निराधार आरोपहरू लगाउनुभयो । अतः स्थायी समिति बैठकले पार्टी नेतृत्वका विरुद्ध लगाइएका निराधार आरोपहरूलाई खारेज गर्दै क. प्रभाकरलाई कडा आलोचनासहित भविष्यमा त्यस प्रकारका अभिव्यक्ति र गतिविधि नगर्न निर्देशन दिने निर्णय गरिएको छ’, सर्कुलरमा उल्लेख छ ।
तर शर्माले भने नेतृत्वको आलोचना गर्न छोडेका छैनन् । सार्वजनिक मञ्चमा चर्का नसुनिए पनि पार्टीका नेता कार्यकर्तासँगको अन्तरक्रियाका क्रममा उनले आफ्ना कुरा निर्धक्क राखिरहेका छन् । पार्टीले सर्कुलर जारी गरेपछि शर्मा गृहजिल्ला रुकुममा राजनीतिक कार्यक्रममा सरिक भएका थिए ।
शर्माले रुकुममा पाँचवटा पालिकामा अन्तक्र्रिया गरे । अन्तर्विरोधलाई विधि प्रक्रियाबाट हल गर्दै पार्टीलाई एक ढिक्का बनाएर अगाडि बढ्न शर्मालाई जिल्लाका नेताहरूले सुझाव दिएका थिए । त्यसअघि शर्माले जिल्लाको बैठकमा पार्टीका बारेमा ब्रिफिङ गरेका थिए । पार्टीभित्र आफ्नोबारेमा भ्रम रहेको बताउँदै उनले त्यसलाई चिर्न आफूले पटकपटक कोसिस गरेको, पार्टीलाई अझ राम्रो बनाउन विधिको कुरा उठाएको र पार्टीबाट आफू कहिल्यै टाढा नजाने भएकाले भ्रममा नपर्न पनि आग्रह गरेका थिए ।
रूपान्तरणको कुरा गर्दा, नीति तथा विधिको कुरा गर्दा पार्टी नेतृत्वले पेल्दै आएको गुनासो शर्माले गरेको बैठकमा सहभागी रुकुमका नेताले बताए । ती नेताका अनुसार आफूले सधैँ अध्यक्षलाई सहयोग गरेको भन्दै शर्माले नीतिगत रूपमा र परिष्कृत गरेर जाऊँ भन्दा आफूलाई पेलिएको बताएका थिए । अध्यक्षले भनेको सधैँ मान्दै आए पनि नयाँ कुरा उठाएर पेल्ने गरेको शर्माको गुनासो छ । पार्टी विभाजन गर्छ भन्ने हल्लासम्म चलाइएको भन्दै शर्माले कार्यकर्तासँग गुनासो पोखेका थिए ।
उपमहासचिव शर्माले आइतबार स्थायी समिति बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई समेत आत्मालोचना गर्नुपर्ने माग गरेका थिए । अध्यक्ष प्रचण्डले ‘गल्ती गर्नेले मात्र आत्मालोचना गर्छ’ भनेर प्रत्युत्तर दिएसँगै दुवै नेताबीचको मतभेद झनै चुलिएको हो ।
स्थायी समितिको बैठक सकिएर बाहिरिँदै गर्दा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले जनार्दनको नाम नलिए पनि उनीप्रति लक्षित गर्दै आत्मालोचनासम्बन्धी उक्त टिप्पणी गरेका थिए । यसअघि साउन १६ गते सुरु भएको बैठकमा प्रचण्डले पार्टीभित्र अनुशासनहीनता बढेको र आन्तरिक कुरा बाहिर पुर्याइएकोप्रति गुनासो गरेका थिए । प्रचण्डको उक्त अभिव्यक्ति पनि जनार्दनप्रति लक्षित रहेको नेताहरू बताउँछन् ।
बैठकमा जनार्दनले पार्टी निर्माणको सवाल उठाउनु अपराध हो भने सजाय भोग्न तयार रहेको बताएका थिए । उनले भने, ‘मैले पार्टी निर्माणका लागि सबैका सामु प्रश्न उठाएँ, अरूले भित्रभित्रै यो पार्टी बन्दैबन्दैन भन्दै हिँडेका छन् । तर जति धकेल्न खोजे पनि म पार्टीमा अडिइरहन्छु ।’
उनले माओवादीले ३१ लाखबाट ११ लाख मतमा झर्नुको जिम्मेवारीमाथि प्रश्न उठाउँदै भनेका छन्, ‘त्यसमा मेरो कमजोरी छ भने म आत्मालोचना गर्न तयार छु । होइन भने अन्य जिम्मेवार ठाउँबाट पनि आत्मालोचना आवश्यक छ ।’
आइतबारको बैठकमा अधिकांश सदस्यले नेतृत्वविरुद्ध जनार्दनको आलोचना अस्वीकार्य भएको बताएका थिए । कतिपयले नेतृत्वविरुद्ध सार्वजनिक अभिव्यक्ति अनुशासनविपरीत भएको भन्दै उनलाई आत्मालोचना गर्न सुझाव दिएका थिए ।
प्रवक्ता अग्नि सापकोटाले पनि बैठकमा ‘प्रचण्डले आत्मालोचना गर्नुपर्छ’ भन्ने माग औचित्यहीन रहेको बताए । शर्मा यसअघि माओवादीको महाधिवेशनमा महासचिवको आकांक्षी थिए । तर प्रचण्डले देव गुरुङलाई महासचिव बनाए । त्यसयता शर्माले पार्टीभित्र विशेष महाधिवेशनको माग गर्दै नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको बहसलाई निरन्तरता दिँदै आएका छन् ।
अहिले पनि अधिकांश नेताहरू प्रचण्डको लाइनमा उभिँदा शर्माले फरक धारणा राखिरहनु, बैठकमा समेत झुक्न नखोज्नु र बाह्य दलका नेतासँग वैचारिक बहसमा सहभागी हुनुले पार्टीभित्रको विवाद चर्कंदो दिशामा गएको विश्लेषण गरिएको छ ।









Facebook Comments