भक्तपुर । स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिजा)मा ९२.५ प्रतिशत अंक हासिल गरेर भक्तपुरको चाँगुनारायण नगरपालिका पहिलो भएको छ । स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिजा)को आर्थिक वर्ष २०८०/०८१ को नतिजामा ९१ प्रतिशत अंक हासिल गरी भक्तपुरकै मध्यपुर थिमि नगरपालिका भक्तपुर जिल्लामा दोस्रो हुन सफल भएको छ । सूर्यविनायक नगरपालिकाले ९०.५ प्रतिशत अंक हासिल गर्दै जिल्लामा तेस्रो हुँदा सबैभन्दा कम भक्तपुर नगरपालिकाले ८९ प्रतिशत अंक हासिल गरेको नतिजामा उल्लेख छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रवार लिजाको आ.व. २०८०/०८१ को नतिजा सार्वजनिक गरेको हो । कार्यविधि अनुसार स्थानीय तहको स्वमूल्यांकनका विभिन्न १० वटा विषयक्षेत्र निर्धारण गरेको छ । त्यसमा शासकीय प्रबन्ध, संगठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय एवं आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्यसम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपत व्यवस्थापन र सहकार्य तथा समन्वयलाई सूचक मानेर स्थानीय संस्थागत क्षमता स्वमूल्यांकन गर्ने गरिन्छ ।

ad

नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन २०७४ र अन्त सरकारी वित्त व्यवस्थापन ऐन २०७४ लगायतका कानुनले स्थानीय तहको कार्य जिम्मेवारी तोकेका विषय, कार्यविधि र उपलब्धीका बारेमा लेखाजोखा गर्न स्वमूल्यांकन गर्ने गरिएको छ ।

स्थानीय तहको सवल दुर्वल पक्षहरूको विश्लेषण गर्ने प्रायोजनका लागि स्थानिय तह संस्थागत क्षमता स्वमूल्यांकन कार्याविधि, २०७७ अनुसार स्वमूल्यांकनको नतिजा कार्यापालिकाबाट स्वीकृत गरी आ–आफ्नो वेबसाईट र सूचना पाटी मार्फत सार्वजनिक गर्नुपर्ने कार्यविधिमा उल्लेख छ ।