
काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले सत्तापक्षमा बस्ने जानकारी दिँदै संसद सचिवालयलाई पत्र लेखे पनि त्यसले आधिकारिकता नपाउने देखिएको छ । २२ असारदेखि प्रतिपक्षमा बस्दै आएको नाउपाले ४५ दिनपछि फेरि सत्तापक्षमा बस्ने जानकारी संसद सचिवालयलाई दिएको हो ।
नाउपाका सांसद गंगाराम चौधरीले गत २२ असारमा सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराउँदै प्रतिपक्षमा बस्ने भनेर निवेदन दिएका थिए । त्यही निवेदनपछि प्रतिपक्षमा बस्दै आएको नाउपाकी अध्यक्ष रञ्जिता चौधरीले पार्टीको लेटरहेडमा फेरि सत्तापक्षमा बस्न निवेदन दिएकी थिइन् ।
सोबारेमा बुधबारको कार्यव्यवस्था परामर्श समितिमा सभामुख देवराज घिमिरेले प्रस्ट पारेको संसद सचिवालयका प्रवक्ता एकराम गिरीले बताए । ‘आजको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुखज्यूले यसबारेमा प्रस्ट पार्नुभएको छ । संसद् सचिवालयले संसदीय दलको पत्रलाई आधिकारिक मान्ने हो । नारिक उन्मुक्ति पार्टीले निवेदन पार्टीको लेटरप्याडमा दिएको छ । संसदीय प्रक्रियाअनुसार गर्न सभामुखले भन्नुभएको छ । बेन्च सार्ने विषय त तुरुन्तै निर्णय भइहाल्छ,’ प्रवक्ता गिरीले भने ।
नाउपाबाट संघीय सरकारमा राज्यमन्त्री रहेका अरुण चौधरीले असार तेस्रो साता नै राजीनामा दिएको बताएका थिए । चौधरी त्यस दिनदेखि मन्त्रालय र संसद दुवै ठाउँमा गएका छैनन् ।
हालै सुदूरपश्चिममा भएको भूमिसम्बन्धी सरुवामा घुसकाण्डमा रञ्जिताको संलग्नता रहेको भन्ने आरोपले रञ्जिता श्रेष्ठ र संरक्षक रेशम चौधरीबीचको विवाद बढेको छ ।









Facebook Comments