काठमाडौं । जापानिज इन्सेफलाइटिसबाट सन् २०२५ को हालसम्म ११ जनाको निधन भएको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा, बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमले हालसम्म ६३ जनामा जापानिज इन्सेफलाइटिस् देखिएको र ११ जनाको मृत्यु भइसकेको बताए ।

उनका अनुसार तेह्रथुम, बारा, मोरङ, झापा, नवलपराली पश्चिम, कैलाली, प्युठान र अर्घाखाँचीका एक/एकजना तथा चितवन तीनजनाको मृत्यु भएको छ । मृत्यु भएकामध्ये आठ वर्षका एकजना, १७ वर्षका एकजना र ४० वर्षभन्दामाथिका नौजना रहेका छन् ।

ad

शाखा प्रमुख डा. गौतमका अनुसार घरमा नै रहेका ३० प्रतिशत र अस्पताल जाँदाजाँदै २७ प्रतिशतमको मृत्यु भएको छ । सन् २०२४ मा जापानिज इन्सेफलाइटिस्बाट २५ जनाको निधन भएको थियो भने ८६ जनामा संक्रमण भएको थियो ।

उनले जापानिज इन्सेफलाइटिस खोप नलगाएकाहरूमा धेरै संक्रमण देखिएको बताए । ‘हालसम्म २४ जिल्लामा ५० वटा स्थानीय तहमा यसको देखिएको छ । २४ वटा स्थानीय तहलाई उच्च जोखिमको रूपमा लिइएको छ । यो रोग विशेषगरी साउनदेखि कात्तिकसम्म बढी देखिन्छ,’ डा. गौतमले भने ।

उनका अनुसार नेपालमा ८२ प्रतिशत बालबालिकालाई जापानिज इन्सेफलाइटिस विरुद्धको खोप लगाई सकिएको छ ।

कसरी सर्दछ ?

चिकित्सकहरूका अनुसार जापानिज इन्सेफलाइटिस् मस्तिष्कमा संक्रमण हुने क्युलेक्स प्रजातिको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको गम्भीर रोग हो । यो लामखुट्टे साँझपख तथा झिसमिसे बिहानीको समयमा बढी सक्रिय हुने गर्दछ । धानबाली, दलदल र पानी जम्ने स्थान लामखुट्टेको लागि उपयुक्त प्रजननस्थल भएकाले यस्ता क्षेत्रमा संक्रमणको जोखिम बढी हुने गरेको बताइन्छ ।

जापानिज इन्सेफलाइटिस गम्भीर अवस्थामा पुग्यो भने मस्तिष्क सुन्निने, पक्षाघात हुने, बेहोस हुने, कोमामा जाने वा ३० प्रतिशतसम्मको मृत्युसमेत हुनसक्ने डा. गौतमले बताए । यो रोग जुनसुकै उमेरका मानिसलाई लाग्न सक्ने भए पनि धेरैजसो १५ वर्षमुनिका बालबालिकामा देखिने गर्दछ ।

यो रोग संक्रमित हाँस, कुखुराजस्ता चराचुरुंगी र सुँगर–बंगुुरजस्ता जनावरलाई टोकेका संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा सर्ने गर्दछ । यो रोग मानिसबाट मानिसमा भने सर्दैन ।