काठमाडौं । ‘गो फर मोर’ नाराका साथ १७ औं संस्करणको ‘नाडा अटो शो २०२५ काठमाडौंको भृकुटीमण्डपमा आजदेखि सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले अटो शोको उदघाटन गरेका थिए ।

सो अवसरमा प्रधानमन्त्री ओलीले बजेट र मौद्रिक नीतिमा उदारता अपनाइएको, पूर्वाधार विकासमा जोड दिइएको र देशैभर हाइवे निर्माण भइरहेको बताउँदै व्यवसायीहरु असन्तुष्ट हुनुपर्ने ठाउँ नदिइएको बताए । उनले व्यवसायीहरुलाई सहयोग गर्न सरकार तयार रहेको बताए ।

ad

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले अटो शोले अर्थतन्त्रमा पुर्‍याएको योगदान एकदमै महत्त्वपूर्ण रहेको बताए । ईभीको बजार बढ्नु सकारात्मक भएको पनि उनको भनाई थियो ।

आगामी भाद्र ८ सम्म चल्ने नाडा अटो शो २०२५ नाडाको ५०औं वार्षिकोत्सवको अवसरमा हुँदैछ। यस वर्षको प्रदर्शनीमा १२५ भन्दा बढी प्रदर्शकको सहभागिता, ३० भन्दा बढी सवारी साधनका ब्रान्डहरू, विद्युतीय, हाइब्रिड र स्मार्ट मोबिलिटीका समाधानहरू र भिन्टेज मोटर शो रहेका छन् ।

प्रदर्शनीमा १९ वटा चारपांग्रे सवारी ब्रान्ड, १३ वटा हल्का व्यावसायिक सवारीका ब्रान्ड, ४ वटा दुईपांग्रे सवारीका ब्रान्ड र अटो पार्ट्स, टायर, ब्याट्री, लुब्रिकेन्ट, ग्यारेज उपकरण तथा वित्तीय सेवा प्रदायक ३५ कम्पनीहरूको सहभागिता रहेको आयोजकले जनाएको छ ।


यसैबीच काठमाडौंको भृकुटीमण्डपमा आजदेखि शुरु भएको नाडा अटो शो २०२५ मा एमएडब्लु वृद्धिले चिनियाँ कार निर्माता चांगान अटोसँग सहकार्य गरेर नेपालमा नयाँ युगको मोबिलिटीको सुरुआत भएको सन्देश दिँदै ल्याएको ईभीटोल ९इलेक्ट्रोनिक भर्टिकल टेकअफ एन्ड ल्यान्डिङ० उड्ने कार सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त उड्ने कार सार्वजनिक गरेका हुन् । अटो शोको स्टल नं ए १ मा प्रदर्शनका लागि राखिएको उक्त कार आगन्तुकहरुको आकर्षणको केन्द्र नै बनेको छ ।