काठमाडौँ । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले हमास समूहको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाइका लागि सरकारले अधिकतम् कूटनीतिक पहल जारी राखेको बताएकी छन् ।

उनले परराष्ट्रमन्त्रीमा नियुक्त भएपछि आफूले सरकारका तर्फबाट यो मुद्दालाई प्राथमिकतामा राखेर काम सुरु गरेको बताएकी छन् । ‘यो एक वर्ष म उपस्थित भएका राष्ट्रसङ्घीय महासभादेखि अन्तरराष्ट्रिय मञ्च, विभिन्न द्विपक्षीय तथा बहुपक्षीय बैठक तथा भेटवार्तामा सबैसँग विपिनको रिहाइका लागि विशेष आग्रह गरेकी छु । निरन्तर यो प्रयास भइरहेको छ,’– उनले भनेकी छन् ।

ad

यसैगरी गत असोजमा दोहामा आयोजित ‘एसियन कोअपरेसन डाइलग’ (एसिडी) सम्मेलनमा सम्बोधन र त्यसपछिका साइडलाइन भेटहरूमा पनि उनले सो विषय उठाएकी थिईन् । इजरायल र हमासबीच युद्धविरामको तयारी भएपछि त्यसमा संलग्न र सम्बद्ध देशका विदेशमन्त्रीहरूसँग फोनमा र ती देशका नेपालस्थित राजदूतसँग भेटेरै डा.राणाले विपिनको रिहाइका लागि सहयोग गर्न आग्रह गरेकी थिईन् ।

विपिनको रिहाइका लागि नेपाल सरकारले कूटनीतिक प्रयासलाई निरन्तर रूपमा जारी राखेको बताउँदै मन्त्री डा राणाले इजरायल सरकार र हमासबीच युद्धविरामको गृहकार्य सुरु भएपछि तथा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासलाई बन्दीहरू रिहा गर्न दबाब दिएपछि आफ्नो कूटनीतिक पहललाई थप सक्रिय बनाएको स्मरण गराएकी छन् ।

उनले गत माघमा कतारका विदेश राज्यमन्त्री डा मोहम्मद बिन अब्दुलाजिज अल‐खुलाइफीसँग फोनवार्ता गरी पहिलो चरणमै बिपिनको रिहाइका लागि आग्रह गरेकी थिईन् । खुलाइफी शान्तिवार्ताका प्रमुख वार्ताकार एवं मध्यस्थकर्ता हुन् ।

यस्तै, इजरायलका विदेशमन्त्री गिडियन सारसँग पनि फोनवार्ता गरी मन्त्री डा.राणाले सोही आग्रह गरेकी थिईन् । त्यस क्रममा उनले हमासले अपहरण मुक्त गर्न लागेका भनिएका व्यक्तिहरूको पहिलो चरणमा नै विपिनको रिहाइका लागि इजरायल सरकारले पहल गरिदियोस् भन्ने आग्रह गरेकी थिईन् ।

यसैगरी, इजिप्टका विदेशमन्त्री डा.बदर अब्देल–अति तथा इरानी विदेशमन्त्रीसँग फोनवार्ता गरी विपिनको रिहाइका लागि विशेष पहल गरिदिन नेपाल सरकारका तर्फबाट मन्त्री डा.राणाले आग्रह गरेकी थिईन् । आफ्नो शल्यक्रियाका लागि बैंककमा रहँदा मन्त्री डा.राणाले त्यहीबाट इजिप्टका विदेशमन्त्रीसँग पनि फोनवार्ता गरेकी थिईन् ।

हमास समूहको नियन्त्रणमा रहेका विपिन जोशीको शीघ्र रिहाइको पहलमा परराष्ट्र मन्त्रालयले कुनै कसर बाँकी नराखी काम गरिरहेको र यो नेपाल सरकारको दायित्व भएकमो उनको भनाइ छ । हाल परराष्ट्र मन्त्रालयको परामर्शमा र इजरायल सरकारको सहयोगमा विपिनकी आमा र बहिनी इजरायल पुगेका भन्दै मन्त्री राणाले इजरायली राष्ट्रपतिसँग भेटगरी विपिनको रिहाइको अपिल गरेको जानकारी पनि गराएकी छन् ।