
नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले पार्टीको विभिन्न जिम्मेवारीमा रहेकाहरुले आफूलाई इमान्दारितापूर्वक उभ्याउनुपर्ने बताएका छन् । उनले टोलदेखि केन्द्रसम्मका जिम्मेवारीमा रहेकाहरुले पार्टीलाई समय दिनुपर्ने बताए । ‘पार्टी अधिवेशनको बेला दरखास्त हाल्नका लागि मारामार हुन्छ,’ सोमबार वीरेन्द्रनगरमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उपसभापति खड्काले भने, ‘निर्वाचित भएर आइसकेपछि आफ्नो भूमिका निर्वाह नगरिदिने, खटाएको ठाउँमा नजाने प्रवृत्तिलाई म म भन्दै सुधार्न आवश्यक छ ।’
उनले स्वर्गीय नेताहरुले इतिहास छोडेर गएको बताउँदै विगतको इतिहास कांग्रेसको तागत भएको बताए । ‘स्वर्गीय नेताहरु हामीलाई ब्युझाउन आउनुहुन्न, उहाँहरुले केवल इतिहास छोडेर जानु भएको छ,’ उपसभापति खड्काले भने, ‘इतिहासको ताकत समातेर जाँगरिलो भनेर अघि बढ्न आवश्यक छ ।’
उनले पार्टी र देशभित्र समस्या रहेको बताउँदै ती समस्याको समाधान कांग्रेसले गर्ने बताए । ‘पार्टीभित्र समस्या छन्, समाधान हामीले गर्ने हो, अरु आएर गरिदिँदैन्, देशभित्र र समाजमा समस्या छन्, ती समस्याको समाधान कांग्रेसले गर्ने हो,’ उनले भने । उपसभापति खड्काले आम मतदाताले कांग्रेस र विभिन्न तहको नेतृत्वमा रहेकाहरुबाट सुधार खोजिरहेको बताए । उनले मतदाता र नागरिकहरुमा निराशा नभएर असन्तुष्टी रहेको बताउँदै ती असन्तुष्टीहरुलाई जिम्मेवारीमा रहेकाहरुले सम्बोधन गर्नुपर्ने बताए ।
‘आम मतदाता र कार्यकर्तामा निराशा छैन्, असन्तुष्टी छ, निराशा हुँदा प्रतिक्रियाविमुख हुन्छ, असन्तुष्टीले मानिसलाई जाँगरिलो बनाउँछ, उर्जावान बनाउँछ, अहिले आम मतदाता र नागरिकहरुमा देखिएको असन्तुष्टी हो,’ उनले भने, ‘मतदाता र नागरिकहरुले नेतृत्वमा रहेकाहरुबाट कमिकमजोरी र त्रुटिहरुलाई सच्याएर सुध्रने प्रतिवद्धता खोजिरहेका छन् ।’
पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुखसमेत रहेका खड्काले प्रतिष्ठानले पहिलोपटक अनुसन्धान निर्देशनालय गठन गरेको बताए । उनले अनुसन्धान निर्देशनालयमार्फत नेपाली कांग्रेसको इतिहासमै पहिलोपटक ‘पोलिसी एण्ड रिसर्च’ स्कुल सुरु गरिएको बताए । ‘उक्त कार्यक्रम अन्र्तगत ३२ वर्षमुनिका विद्यार्थीहरुको समूह बनाएर प्राज्ञिक लेखन र तथ्याङ्क विश्लेषणको काम सुरु गरिएको छ,’ उनले भने, ‘त्यसको परिणाम केही महिनामा सार्वजनिक गर्दैछौं ।’ उनले प्रतिष्ठान अन्तर्गत नीति, प्रतिक्षण र अनुसन्धान विभागलाई पूर्णता दिएर तिब्रगतिमा कामहरु भइरहेको जानकारी पनि दिए ।
जब सपनामा दिवंगत नेता बस्याल आउनुभयो...
उपसभापति खड्काको सोमबार सुर्खेत आउने कार्यतालिका थिएन् । पूर्व उपप्रधानमन्त्रीसमेत भइसकेका खड्काको राजधानी छोड्नु अघिल्लो दिननै कार्यतालिका बनिसकेको हुन्छ । सोही अनुसार जिल्लामा सुरक्षा निकाय र पार्टीका नेता तथा कार्यकर्ता तयारी अवस्थामा रहन्थे । सोमबार भने एक्कासी खड्का गृहजिल्ला सुर्खेत आइपुगे ।
पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका विभिन्न कार्यक्रममा व्यस्त खड्का सुर्खेत आउनुको रोचक कारण छ । जुन कारण उनले पार्टी कार्यालयमा कार्यकर्तासँग सुनाए ।
‘सोमबार राति तीन बजेतिर ब्यूझिए, बाथरुम गएर फेरि सुतेँ, सपनामा खड्क बस्यालजी भेट्न आउनुभयो । दुःख सुखको कुरा गर्नुभयो । उहाँले सधैं तपाईँको सहयोग सद्भाव पाएँ, मैले पनि गर्न सक्ने सहयोग गर्दै गएँ, पहिले अप्रत्यक्ष रुपमा गरें, यो पटक खुलेर गर्ने मन छ, तपाईँलाई शुभकामना दिउँ भनेर आएको हो भन्नुभयो,’ देखेको सपना सुनाउँदै उपसभापति खड्काले भने, ‘कुरा गर्दागर्दै आँखाबाट खाशु खसाल्नुभयो, हात मिलायौं, नजिक–नजिक आएर अंगालो हाल्ने बेला म ब्युँझिए, घडि हेर्दा त्यति बेला विहानको साढे ६ बजेको थियो ।’
त्यसपछि मनमा छटपटी सुरु भएको उनले सुनाए । ‘मन दुविधामा भयो, जाउँजाउँ लाग्यो, तर, कसैलाई खवर गरेको थिइँन्, फेरि आजै बैठकहरु छन्,’ उनले भने, ‘साढे सात बजेतिर सुर्खेत जाने निर्णय गरेँ, आफै टिकट काट्न लगाएँ अनि विहानको जहाजबाट सुर्खेत आइपुगेँ, यहाँ आइपुग्दा यति आत्मसन्तुष्टी भएको छु कि त्यसको सीमानै छैन् ।’
सुर्खेत आएका खड्काले साउन २५ गते मृत्यु भएका नेपाली कांग्रेसका नेता, संविधानसभा सदस्य, पूर्व स्वास्थ्य राज्यमन्त्री खड्कबहादुर बस्यालको घरमा पुगेर स्वर्गीय बस्यालप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै परिवारजनलाई समवेदना व्यक्त गरे । यसै बुलबुले उद्यानमा पुगेर पिपलपानी अर्पण कार्यक्रममा पनि सहभागी भए ।









Facebook Comments