काठमाडौ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू एमालेको कार्यकर्ता भएको बताउँदै आफ्नो सदस्यताको बारेमा धेरै छलफल गरिरहनु नपर्ने बताएकी छिन् ।

विभिन्न कार्यक्रममा सहभागी हुन विराटनगर पुगेकी भण्डारीले विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै कोही पनि आलोचनाभन्दा बाहिर नरहेको र आफू पनि हुन नसक्ने बताईन ।

ad

उनले भनिन्– म एमाले कार्यकर्ता भएर राष्ट्रपतिमा निर्वाचित भएकी हुँ । जहाँसम्म म पनि आलोचनाभन्दा मुक्त छैन, कोही पनि छैन। उनले राष्ट्रपतिको कार्यकाल पूरा गरिसकेपछि आफूले पार्टी सदस्यता नवीकरण गरेको दावी गरिन् ।


उनले आफू एमालेको कार्यकर्ता भएकाले एमालेको लागि काम गर्ने हो भन्दै पार्टीको औपचारिक कुरा के छ, मलाई त्यो थाहा नभएको बताईन। ‘जुनसुकै जनताको छोराछोरी निर्वाचित राष्ट्रपति हुनसक्छन्, उनीहरूको कार्यकाल सकेपछि आफ्नो सामाजिक तथा राजनीतिक जीवनमा फर्कन सक्छन्,’ उनले भनिन्।

उनले आफू पार्टी सदस्य भएको ४५ बर्ष भईसकेको भन्दै आफ्नो सदस्यता कसैले खोस्न नसक्ने कुरा समेत दोहोराईन ।