काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग भारतीय विदेश सचिव विक्रम मिस्रीले शिष्टाचार भेटवार्ता गरेका छन् ।

सभापति देउवा निवास बुढानीलकण्ठमा आज भएको भेटमा उनीहरूबीच द्विपक्षीय आपसी हितका विविध विषयमा कुराकानी भएको सभापति देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

ad

उनीहरूबीच नेपाल–भारतबीचको घनिष्ठ र बहुआयामिक सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको थियो ।

विदेश सचिव मिस्री परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा नेपालको दुई दिने औपचारिक भ्रमणका लागि आज यहाँ आइपुगेका हुन् ।

भारत र नेपालबीच बलियो र मैत्रीपूर्ण परराष्ट्र सम्बन्ध रहिआएको छ । विदेश सचिवको भ्रमणले दुई देशबीचको नियमित उच्चस्तरीय भ्रमण आदानप्रदानको परम्परालाई निरन्तरता दिएको र द्विपक्षीय सम्बन्धलाई अझ अघि बढाउने अवसर हुने विश्वास गरिएको छ ।