
काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल किमाथांका स्थित सीमा सुरक्षा पोष्ट (बिओपी) र चिनियाँ प्रहरीको संयुक्त टोलीले सङ्खुवासभाको उत्तरी क्षेत्र किमाथांका नाकामा रहेका नेपाल-चीन सीमाका स्तम्भ निरीक्षण गरेको छ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ अरुण गुल्म चैनपुरअन्तर्गतको किमाथांका बिओपी र चिनियाँ प्रहरीको संयुक्त टोलीले उत्तरी क्षेत्र भोटखोला गाउँपालिका-१ किमाथांका चीनको स्वशासित क्षेत्र तिब्बतसँगको सीमाना पर्ने नेपाल-चीन सीमानाका पाँच स्तम्भको निरीक्षण गरेको हो। सशस्त्र प्रहरी बल नेपाल नम्बर-४ अरुण गुल्म चैनपुरका प्रहरी नायब उपरीक्षक बाबुराम पौडेलका अनुसार उक्त टोलीले ६६, ६७, ६८/२, ६९/१ र ६९/२ नम्बरका स्तम्भ (जङ्गेपिल्लर) निरीक्षण गर्नुका साथै सीमाको अवस्थालगायतबारे जानकारी लिएको थियो।
टोलीमा किमाथांकाका इन्चार्ज नविन खतिवडाको नेतृत्वमा सात जना, नेपाल प्रहरीका चार जना र चीनका तर्फबाट आठ जनाको सहभागिता थियो। टोलीले सीमा स्तम्भ निरीक्षणका साथै सरसफाइ पनि गरेको थियो।
नेपाल-चीनको सीमाअन्तर्गत सङ्खुवासभामा २१ वटा स्तम्भ छन्। भोटखोला-१ स्थित दोङ्गोप्पा खोला र छोकाङ खोलामा गत जेठमा आएको बाढीले यहाँस्थित ७१/१ नम्बरको स्तम्भ बगाएको थियो। भोटखोला गाउँपालिका वडा नं १, २ र ३ को भूभाग चीनसँग जोडिएको छ। यस क्षेत्रमा करिब पाँच हजारको बसोबास छ। किमाथांका नाकामा २०७६ सालमा सशस्त्र प्रहरी बल सीमा सुरक्षा पोष्ट स्थापना भएको हो।









Facebook Comments