
दिनेश कोइराला
नेपाली कांग्रेस जनसम्पर्क समिति विश्व सञ्जालले विगतदेखि नै राम्रो काम र अभ्यास गर्दै आएको छ । पछिल्लो निर्वाचनमा यसको भूमिका निकै प्रभावकारी थियो । अहिलेको अवस्थामा विश्व सञ्जाल नेपाली कांग्रेसका लागि महत्वपूर्ण फोरमको रूपमा लिनुपर्छ । अहिले विदेशमा बस्ने नेपालीहरूका दुईवटा पाटाहरू छन् । त्यो भनेको नेपाली नागरिकताको निरन्तरता र नेपालको अर्थतन्त्रमा विदेश बस्ने नेपालीको भूमिका अझ भनौँ महत्व ।
नेपाली कांग्रेसले एक वर्षअगाडि पूर्वआप्रवासी सम्बन्धी विभाग भनेर गठन पनि गरेको छ । तर यो नयाँ विभाग हो र यसको संयोजकको जिम्मेवारी मलाई दिएकाले एक वर्षको बीचमा हामीले पाँचवटा प्रदेशमा र एउटा उपत्यकामा कार्यक्रमा गरी पनि सकेका छौँ ।
जब हामीले ६ वटा कार्यक्रम गरेपछि हाम्रो विभागले के निष्कर्ष निकाल्यो भने वास्तवमा दोहोरो नागरिकताचाहिँ दिनै पर्दो रहेछ । हामीले यसमा केही अध्ययन गर्यौँ । हेर्यौँ, धेरै बुझ्यौँ, छलफल पनि चलायौँ ।
६ वटा कार्यक्रम गरिसकेपछि हामीले रिपोर्ट एउटा तयारी गरिरहेका छौँ र यसलाई विस्तृत फाइनल रूपमा दिन बाँकी छ र योभन्दा अगाडि हामीले राष्ट्रिय सम्मेलन गरेर त्यसलाई छलफल गर्ने र निष्कर्ष निकाल्ने सोचेका पनि छौँ । हामीले त्यो प्रतिवेदन तयार गरेपछि र यसमा विशेषगरी नागरिकताको सवाल आएको कारणले यो विश्व सञ्जाल परिवारसँग पनि बसेर छलफल गर्नुपर्नेछ भन्ने सोचेर मैले यहाँ यो सहयोग लिन चाहन्छु र यो हाम्रो प्रतिवेदन आएपछि यहाँहरूसँग पनि म छलफल गर्ने एउटा बाचा गर्न चाहन्छु ।
वास्तवमा मैले हाम्रो नेताहरूलाई भन्ने गरेको छु । २१औँ शताब्दीमा मानिसको भावनालाई भूगोलको रेखाले छेक्दैन । आज हामी यति विदेश गए भनेर चिन्ता गरिरहेका छौँ । मैले भन्ने गर्छु, यो आजको मात्रै समस्या हैन । हिजो पनि हाम्रो बुवा हजुरबुवाको पालामा पनि ‘बेटर अपर्चुनिटी’का लागि मान्छेहरू एक ठाउँबाट अर्को ठाउँ सर्ने गरेका थिए । र माइग्रेसनले नै मानव सभ्यताको विकास भएको छ ।
हाम्रो बुवाहरू पनि हजुरबुवाहरू पनि पहाडबाट तराई झर्नुभयो मिठो खानको लागि सुख पाउनको लागि । त्यसकारणले मान्छे बेटर अपर्चुनिटीको लागि बाहिर जानुलाई हामीले धेरै नकारात्मक लिएका छौँ । यसलाई त्यस्तो बुझ्न हुँदैन । र दोहोरी नागरिकता दिनुपर्छ । दोहोरो नागरिकता नहुँदा अहिले धेरै समस्याहरू आएका छन् ।
त्यसैले राजनीति अधिकारबाहेकको दोहोरो नागरिकता दिनै पर्छ । तर कोही व्यक्तिले नियुक्तिलगायतका कुराहरू गर्छ भने उताको नागरिकता त्यागेको प्रस्ट पारेको हुनुपर्ने व्यवस्था गरेर यसमा हामी अघि बढ्नुपर्छ ।
विकास विकासको क्रम हुँदै गर्दा त हानि र खतरा त हरेक कुरामा हुन्छ । हरेक कुराहरू तपाईंको ‘हाई गेन हाई रिस्क’ हुन्छ । स्वभाविक हो । यो १० वर्ष भित्र मलाई के लाग्छ भने अहिले विदेश जाने मात्र होइन फर्किने पनि छन् । हामी भन्छौँ दिनमा यति हजार युवाहरू विदेश गए । हामी जति विदेशी गएको देख्छौँ केही पर्सेन्ट फर्किने पनि त छन् ।
अहिले विशेषगरी नेपाली कांग्रेसले र हाम्रो नेतृत्व रहेका नेताहरूले के सोच्नुपर्छ भने १० वर्षभित्र आउने र जाने बराबर हुन सक्छ यदि हामीले वातावरण बनायौँ भने । अहिलेको जुन यो नागरिकता छ त्यस विषयमा मैले पनि यसमा केही अध्ययन गरेको छु । र अहिले यो जुन यो वंशजको नागरिकता त्यागेर अहिले गैरआवासीय नागरिकता दिने ट्रेन्ड बस्यो । यसलाई त हामीले के बनाइदियौँ भने वंशजको नागरिकता त्याग्ने वातावरण बनाइदियौँ ।
यस विषयमा नेताहरूसँग यो गलत भयो भनेर पटक–पटक भन्ने पनि गरेको छु । हामी त नेपालमा यस्तो वातावरण गर्नुपर्छ कि जो दोहोरी नागरिकता दिएर पनि भोलि १० वर्षभित्रमा स्वस्फूर्त रूपमा विदेशी नागरिकता त्यागेर नेपाली नागरिकता लिने वातावरण हामीले बनाउन सक्नुपर्छ । त्यसलाई निश्चय नै हामी नेपाली कांग्रेसले त्यसको भूमिका निर्वाह गर्न पर्छ र यो धेरै साथीहरूले भन्नुहुन्छ । अहिले कांग्रेसले के गर्यो भन्ने प्रश्न उठिरहेको छ ।
हामी नेपाली कांग्रेसले निश्चय नै केही कमजोरी गरेका छौँ । हाम्रो पनि कमजोरी छ । यदि कांग्रेसले कमजोरी नगरिदिएको भए नेपालमा कम्युनिस्टहरू यति मौलाउँदैन थिए । आजको दिनमा संसारबाट लोप भएको कम्युनिस्ट हामीलाई चुनौतीको पहाड हुन्थेन । हामी सच्चिएको भए कम्युनिस्टहरू मात्रै होइन नयाँ पार्टीहरू पनि यति अगाडि आउने थिएनन् । हाम्रा लिडरहरूले हामीले केही कमजोरी गरेका छौँ । त्यसमा हामीले पनि केही कति पर्छ आफ्नो भागको जिम्मा लिनैपर्छ ।
नयाँ दलहरू पुराना दालहरूलाई गाली गरेको भरमा आएका छन्, त्यसैले हामीले केही गरेनौँ त्यसकारणले हामी सिध्याए अरूले धेरै गरे त्योचाहिँ म मान्न सक्दिन । तर यो निश्चित हो कि हामीले पनि कमी–कमजोरी गरेका छौँ । सुधार्नु पर्छ । अब नेताहरूलाई हामीले खबरदारी गर्न सक्नुपर्छ । यो भित्र रहेका विकृतिलाई हटाउन त हामीले खबरदारी गर्न पर्छ । कुनै गुट–उपगुटभन्दा माथि उठेर आफ्नो व्यक्तिगत स्वार्थभन्दा माथि उठेर कोही बोल्छ भने त्यसलाई साथ दिन जरुरी पनि छ ।
गल्तीलाई सच्याउन खबरदारी गर्न तपाईं हाम्रै महत्वपूर्ण भूमिका रहनेछ । म अन्तिममा फेरि एउटा आग्रह गर्न चाहन्छु कि यो देश बनाउने हामीले नै हो । नेताहरूलाई सुधार्ने पनि हामीले नै हो । अरू कसैले बनाइदिँदैन । नयाँ आएका र विरोध गरेको भरमा देश चलाउन गाली मात्र गरेर चल्दैन । देश चलाउन सीप, ज्ञान, क्षमता र अनुभव चाहिन्छ । त्यो हाम्रो पार्टीभित्र हाम्रा धेरै नेताहरूसँग छ । तर अहिले केही दण्डहीनता मौलाएकै हो । भ्रष्टाचार मौलाएको छ ।
हामीभित्र पनि भ्रष्टाचारको कुरा उठेको छ । हाम्रा अहिले गएका मन्त्रीहरूमा पनि औँला उठाइएको छ । कांग्रेसबाट छानबिनको सुरुवात गरौँ । हाम्रोबाट सुरुवात गरौँ । कांग्रेस र एमाले अहिले सरकारमा छन् । नेपाली कांग्रेस र एमालेका हाम्रा नेताहरूबाट जजसलाई औँला ठड्याइएको छ त्यहाँबाट भ्रष्टाचारको छानबिन सुरु गरौँ । कांग्रेसभित्र भएका कमीकमजोरी हटाउन महत्वपूर्ण भूमिका निर्वाह गरौँ । यो देश अगाडि लैजाने देश बनाउने कांग्रेसले नै हो ।
विदेशमा बस्ने नेपालीहरूको ज्ञान, सीप, पुँजी, प्रविधिलाई नेपालले धेरैभन्दा धेरै प्रयोग गर्नुपर्छ र समृद्ध राष्ट्र बनाउने अभियानमा जुट्नुपर्छ ।
(कोइराला नेपाली कांग्रेसका केन्द्रीय सदस्य हुन् ।)









Facebook Comments