काठमाडौं । अविश्वास प्रस्तावमार्फत आफ्नै पार्टीका बहादुरसिंह लामालाई हटाएर बाग्मती प्रदेशका मुख्यमन्त्री बनेका इन्द्रबहादुर बानियाँले बिहीबार पाँच नयाँ मन्त्री नियुक्त गरेर १४ सदस्यीय मन्त्रिपरिषद्लाई पूर्णता दिँदा ३ मन्त्रीको माग गरेका पूर्वमुख्यमन्त्री लामा भने जिल्लिएका छन् । आफ्नो पक्षका ३ जनालाई मन्त्री नबनाएसम्म विश्वासको मत नदिने भन्दै अड्डी कसेका लामालाई अन्तिम समयमा फकाएर विश्वासको मत लिन सफल बानियाँले मन्त्रिपरिषद्लाई पूर्णता दिँदा भने उनी पक्षका कसैलाई पनि समेटेनन् ।

पार्टी सभापति शेरबहादुर देउवाको मध्यस्थतामा आफ्नो पक्षका ३ जनालाई मन्त्री बनाउने सहमति भए पनि सभापति देउवाले धोका दिएको आरोप लामा पक्षले लगाएको छ । बाग्मती प्रदेश सरकारमा कांग्रेसका ८ र एमालेका ६ मन्त्री छन् । कांग्रेसतर्फ शिवराज अधिकारी (आन्तरिक मामिला तथा कानुन), उर्मिला नेपाल (युवा तथा खेलकुद), कञ्चनचन्द्र बादे (सामाजिक विकास), प्रभात तामाङ (आर्थिक मामिला तथा योजना), सुरेश श्रेष्ठ (संस्कृति तथा पर्यटन), कृष्णकुमार तामाङ (खानेपानी, ऊर्जा तथा सिँचाइ) र बिनु रायमाझी पौडेल (सहकारी तथा गरिबी निवारण) बनेका छन् ।

ad

एमालेबाट मधुसूधन पौडेल (कृषि तथा पशुपन्छी विकासमन्त्री), किरण थापामगर (स्वास्थ्यमन्त्री), डा. दिनेशचन्द्र देवकोटा (भौतिक पूर्वाधार विकासमन्त्री), भरतबहादुर केसी (वन तथा वातावरणमन्त्री), जयराम थापा (श्रम, रोजगार तथा यातायातमन्त्री) र विन्दु श्रेष्ठ (उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री) बनेका छन् ।