
काठमाडौं । पार्टीभित्र हावी हुने विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा कार्यवाहक सभापति डीपी अर्याल र उपसभापति डा. स्वर्णिम वाग्लेबीचको शक्तिसंघर्ष थप पेचिलो बन्दै गएको छ । सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा जेलमा परेपछि कार्यवाहक पाउन होडबाजी गरे पनि अर्यालले उक्त पदमा बाजी मार्न सफल भएका थिए । आफ्नो कतिपय जिम्मेवारीमा अर्यालले हस्तक्षेप गरिरहेकोमा वाग्ले असन्तुष्ट रहेको बुझिएको छ ।
सहकारी ठगीको मुद्दामा कारागारमा रहेका पार्टी सभापति रवि लामिछानेका विश्वासपात्र रहेका हालका सहकोषाध्यक्ष दीपक बोहरालाई केही दिनअगाडि बसेको रास्वपाको केन्द्रीय समितिको बैठकमा सहमहामन्त्री बनाउने प्रयास भएपछि रास्वपामा तीव्र विवाद उत्पन्न भएको छ । सुमना श्रेष्ठले राजीनामा दिएपछि महिनौँदेखि रिक्त रहेको सहमहामन्त्री पदमा महामन्त्री कविन्द्र बुर्लाकोटीले बोहराको नाम प्रस्ताव गर्नासाथ बैठकमा खैलाबैला मच्चिएको थियो ।
यो विषय एजेन्डामा नरहेको भए पनि अचानक प्रस्ताव ल्याएको भन्दै क्रान्तिशिखा धितालले आपत्ति जनाएपछि उनलाई तोसिमा कार्की, हरि ढकाल र सुमना श्रेष्ठले साथ दिएका थिए । उनीहरूले पार्टीको वैकल्पिक छवि कायम राख्न विधि र पारदर्शितामार्फत मात्र पदाधिकारी चयन गर्नुपर्नेमा जोड दिए ।
पार्टीका प्रभावशाली मानिएका नेताहरूले नै विरोधमा उत्रिएपछि महामन्त्री बुर्लाकोटीले प्रस्ताव फिर्ता लिन बाध्य भएका थिए । पार्टीका कार्यवाहक सभापति अर्याल र महामन्त्री बुर्लाकोटीले बोहरालाई सहकोषाध्यक्षको भूमिकाबाट औपचारिक रूपमा नहटाई सहमहामन्त्रीमा ल्याउने प्रयास गरे पनि त्यो सफल हुन सकेन । सहमहामन्त्रीको आकांक्षी रहेकी क्रान्तिशिखालाई फकाएर बोहोरालाई नै सहमहामन्त्री बनाउने प्रयासमा अर्याल र बुर्लाकोटी रहेका छन् ।
यसैबीच रास्वपाका अध्यक्ष रवि लामिछानेलाई नख्खु कारागारमा सरुवा गरेको छ । सहकारी रकम अपचलनको अभियोगमा जिल्ला कारागार रुपन्देहीमा रहेका उनलाई हिजो शनिबार नख्खु कारागार ल्याएको हो ।









Facebook Comments