
काठमाडौं । प्रधानमन्त्री भएलगत्तै भारत भ्रमणमा जानका लागि मरिहत्ते गर्दा पनि निम्तो नपाएका केपी शर्मा ओलीको भारत भ्रमणको मिति तय भएको जनाइएको छ । गत वर्षको असार ३१ मा प्रधानमन्त्री नियुक्त भएका ओली त्यसलगत्तै नयाँ दिल्ली जान खोजेका थिए । तर ‘दिल्ली दूर’ भएपछि मंसिरमा बेइजिङको भ्रमण गरे । त्यसपछि भारतको संस्थापनपक्ष झन् चिढिँदा परराष्ट्रमन्त्री आरजु राणालाई राखीको सम्बन्ध गाँस्न लगाएर निम्ता मगाउन खोज्दा पनि असफल भए ।
पछिल्लो समय भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले छिमेकसँग सम्बन्ध बढाउन भन्दै नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वागत गर्न तयार रहेको भारतीय सञ्चारमाध्यमहरूले बताएका छन् । रुस–युक्रेन युद्धका कारण अमेरिका भारतसँग पनि चिढिएर ५० प्रतिशत कर लगाएपछि मोदीले नजिकका छिमेकीसँग सम्बन्ध विस्तार गर्न लागेका हुन् । त्यसैको फलस्वरूप मोदीले बेइजिङको यात्रा गर्दै छन् ।
बेइजिङको निम्ता नेपालमा सुरुमा राष्ट्रपति रामचन्द्र पौडेललाई आए पनि उनले अनिच्छा देखाएकाले प्रधानमन्त्री ओली त्यसतर्फ भदौको दोस्रो साता जानेछन् । चीनको बन्दरगाह सहर तियान्जिनमा भदौ १४देखि १८ सम्म आयोजना हुने सांघाई को–अपरेसन अर्गनाइजेसन (एससिओ)को शिखर सम्मेलनमा सहभागी हुन चीनले प्रस्ताव गरे पनि राष्ट्रपति पौडेलले जान इच्छा देखाएनन् ।
राष्ट्रपति पौडेलले आफू चीन जान तयार भएको जवाफ सुरुमा दिए पनि जापानी सेनाविरुद्ध चिनियाँ सेनाले विजय प्राप्त गरेको वर्षगाँठको परेडमा नेपालको उच्चस्तरीय प्रतिनिधित्व हुने कुरा कूटनीतिक सन्तुलनका हिसाबले सही नहुने सुझावपछि राष्ट्रपति पौडेल चीन नजाने निष्कर्षमा पुगेको बताइन्छ ।
चीनपछि भारत जाने
सामान्यतया भारतले नेपालमा नयाँ सरकार गठन भएलगत्तै प्रधानमन्त्रीलाई छिट्टै निमन्त्रणा दिने परम्परा रहँदै आएको छ । तर ओली प्रधानमन्त्री बनेपछि सो परम्परामा ढिलाइ हुनु केवल औपचारिकतामै सीमित नभई राजनीतिक सन्देशका रूपमा पनि व्याख्या गरिएको छ ।
२०७२ सालमा नेपालले नयाँ संविधान जारी गरेपछि भारतले त्यसप्रति असन्तोष जनाएको थियो । मधेस–केन्द्रित दलले उठाएको माग पर्याप्त सम्बोधन नभएको भारतको ठहर थियो । प्रधानमन्त्री ओलीले भने संविधानलाई समयानुकूल परिमार्जन गर्ने, तर कार्यान्वयनलाई ढिलो नगरिने अडान लिए । भारतको सुझावलाई तत्काल स्वीकार नगर्ने ओलीको स्पष्ट धारणा भारतलाई असहज भएको विश्लेषकहरू बताउँछन् ।
प्रधानमन्त्री ओलीले भदौको अन्त्यतिर भारत यात्रा गर्ने तयारी गरेका छन् । यसका लागि आवश्यक कूटनीतिक संवाद भइरहेको छ । भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिश्री भदौ १ गते (आज) काठमाडौं आउँदै छन् । उनको भ्रमणलाई भारततर्फबाट प्रधानमन्त्री ओलीलाई औपचारिक निमन्त्रणा दिने र भ्रमण एजेन्डामा छलफल गर्ने अवसरको रूपमा हेरिएको छ । भारतीय प्रधानमन्त्री मोदी र नेपालका प्रधानमन्त्री ओलीबीच विहारको बोधगयामा भेटवार्ता हुने सम्भावना रहेको छ ।
नेपाल र भारतबीचको सम्बन्ध ऐतिहासिक, भौगोलिक र सांस्कृतिक निकटतामा आधारित भए पनि विगत केही वर्षयता विभिन्न विषयमा असहमति र अविश्वास देखिएको छ । तर, हाल दुवै देशले सम्बन्ध सुधारतर्फ कदम चालिरहेका छन् ।
प्रधानमन्त्री ओलीको आसन्न भारत भ्रमणलाई द्विपक्षीय विश्वास पुनःस्थापित गर्ने अवसरका रूपमा हेरिएको छ । सीमा विवाद, व्यापार घाटा, ऊर्जा सहकार्य, भौतिक पूर्वाधार, सुरक्षा चासो र जनस्तरको सम्बन्ध सुदृढीकरणजस्ता विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।









Facebook Comments