काठमाडौं। नेपाली कांग्रेसका बागमतीका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा पक्षले पार्टी सभापति शेरबहादुर देउवाबाटै धोका भएको टिप्पणी गरेको छ ।

संसदीय दलको नेतामा विश्वासको मत गुमाएपछि लामाले नियुक्त गरेका तीन मन्त्रीलाई शपथ गराउने पूर्वसहमति कार्यान्वयन हुन नसकेको असन्तुष्ट पक्षले जनाएको छ।

ad

मुख्यमन्त्री बानियाँले शुक्रबार मन्त्रिपरिषद्लाई पूर्णता दिँदा लामा पक्षका व्यक्तिबाट मन्त्री बनाएनन् । कांग्रेसबाट मुख्यमन्त्रीसहित आठ र एमालेबाट ६ जना मन्त्री छन् । मुख्यमन्त्री बानियाँले २७ साउनमा एमालेबाट ६ र कांग्रेसबाट दुईजनालाई मन्त्री बनाएका थिए ।

शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्दा पार्टीभित्रको अर्को पक्षका १४ सांसद मध्ये कुनैलाई पनि मन्त्री बनाएनन् । मुख्यमन्त्री बानियाँले सामाजिक विकास मन्त्रालयमा काभ्रेका कञ्चनचन्द्र बादे, आर्थिक मामिला तथा योजना मन्त्रालयमा रसुवाका प्रभात तामाङ, युवा तथा खेलकुद मन्त्रालयमा ललितपुरकी उर्मिला केसी नेपाल, संस्कृति तथा पर्यटन मन्त्रालयमा भक्तपुरका सुरेश श्रेष्ठ र सहकारी तथा गरिबी निवारण मन्त्रालयमा चितवनकी बिनु रायमाझी पौंडेललाई नियुक्त गरेका छन्।

पार्टी सभापतिसँग गरेको सम्झौता देउवाले कार्यान्वयन गराउन नसकेको लामा पक्षले बताएको छ । एक् सांसदले भने, ‘सभापति शेरबहादुर दाइसँग हामीले गरेको सहमति उल्लंघन भयो। विश्वासमा सभापतिबाट नै धोका भयो। कार्यान्वयन गराउनुभएन।’

लामा पक्षका नेताहरुका अनुसार उनले मन्त्रीमा नियुक्त गरेका, तर शपथ गराउन नपाएका तीनजनालाई मन्त्रिपरिषद् विस्तार गर्दा समेट्ने सहमति बनेको थियो । त्यही सहमतिको आधारमा २७ साउनमा मुख्यमन्त्री बानियाँलाई विश्वासको मत दिएको लामा पक्षका सांसद गोविन्द लम्सालले जानकारी गराए।

साउन १४ गते तत्कालीन मुख्यमन्त्री बहादुर सिंहले लामाले गोविन्द लम्साललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिएका थिए । माया श्रेष्ठ र गीता गुरुङलाई मन्त्री नियुक्त गरे पनि जिम्मेवारी भने तोकिएको थिएन।

संसदीय दलको नेता हुँदै मुख्यमन्त्रीबाट बाहिरिएका लामासँग मुख्यमन्त्री बानियाँको यही विषयले विवाद देखिएको थियो । उनले नियुक्त गरेका तीनजनालाई नवगठित मन्त्रिपरिषद्मा सहभागी नगराउने भए विश्वासको मत नदिने अडानमा लामा पक्ष थियो।

दुई पक्षको विवाद केन्द्रसम्म आइपुगेको थियो। दुई पक्षका नेताहरुको संवाद सभापति देउवा सहित शीर्ष तहसँग भएको थियो । विश्वासको मत प्रदान गर्ने दिनसम्म समेत लामा पक्षले आफ्नो माग राख्दै काठमाडौंमा बैठक बसिरहेको थियो।

अपरान्ह ४ बजेका लागि तोकिएको विश्वासको मत लिने समय समेत लामा पक्षधर पुग्न ढिलो भएको हुँदा समयमा सुरु हुन सकेको थिएन । लामाले नियुक्त गरेका तीनजनालाई मन्त्री बनाउनुपर्ने माग सभापति देउवाले कार्यान्वयन हुने प्रतिबद्धता जनाएपछि लामा पक्ष विश्वासको मत दिन हेटौँडा गएको थियो।

लामा पक्ष विश्वासको मत दिन तयार भएपछि मुख्यमन्त्री बानियाँको पक्षमा ६३ मत परेको थियो । प्रस्तावको विपक्षमा २२ र तटस्थमा ७ मत पर्‍यो । बागमती प्रदेशसभामा ११० सदस्य छन् ।

असन्तुष्ट पक्षले मन्त्रिपरिषद विस्तार गर्दा आ–आफ्नो समूहसँग कुनै सरसल्लाह नभएको जनाएको छ ।

लामाको पक्षमा सांसदहरु कुन्दनराज काफ्ले, उत्तम जोशी, लक्ष्मी श्रेष्ठ, रमेशकुमार महत, हरिप्रभा खड्गी, रामकुमार पहाडी, क्षत्रबहादुर बम्जन, गीता गुरुङ, मसिना खड्का, तीर्थ लामा, रामकृष्ण चित्रकार, माया श्रेष्ठ, गोविन्द लम्साल र समिता खड्गी छन्।

मन्त्रिपरिषद् विस्तारमा आपसी सल्लाह गरेर अघि बढ्ने आपसी समझदारी रहेको र त्यसलाई पूर्ण रुपमा बेवास्ता गरिएको लामा पक्षका एक सांसदले बताए।