
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)की स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले पार्टी अध्यक्ष माधवकुमार नेपालविरुद्ध दिएको अभिव्यक्तिका लागि आत्मालोचना गरेकी छन्। शुक्रबार बसेको पार्टी सचिवालय बैठकपछि प्रवक्ता प्रकाश ज्वालाले नेतृ झाँक्रीले भविष्यमा यस्ता गल्ती नदोहोर्याउने प्रतिबद्धता जनाउँदै आत्मालोचना गरेको जानकारी दिए।
पार्टीले उनको जवाफलाई आत्मालोचनासहितको स्पष्टिकरणका रूपमा लिँदै छलफलमार्फत विषयलाई टुङ्ग्याउने निर्णय गरेको ज्वालाले जानकारी दिए ।
पार्टी निकट युवा संघ नेपालको लुम्बिनी प्रदेश भेलालाई गत असार १५ मा सम्बोधन गर्दै झाँक्रीले अध्यक्ष माधवकुमार नेपालका कारण पार्टीमा संकट आएकोले पार्टी पुनर्गठन गरेर जानुपर्ने बताएकी थिइन् । पतञ्जली जग्गा भ्रष्टाचारमा विशेष अदालतमा मुद्दा परेपछि नेपालको सांसद् पद निलम्बन भएको र अध्यक्षकै बारेमा संकट आएकाले अर्लि महाधिवेशन गर्नुपर्ने उनको तर्क थियो ।
सँगै, उनले नेपाललाई लक्षित गर्दै अब काँधमाथि मरेको सिनो हालेर हिँड्न नसकिने बताएकी थिइन् । उनले भनेकी थिइन्, ‘अर्ली महाधिवेशनबाट पुनर्गठन गरेर अध्यक्ष बनाऔँ, कहाँ हुन्छ यसरी ? म त भन्छु, अब अर्ली महाधिवेशन गरौँ। कानुनी, संवैधानिक हिसाबले अध्यक्षमाथि समस्या आयो। अरु कैयौं पार्टीका सदस्यमाथि पनि समस्या आएकै छ, अब काँधमाथि मरेको सिनो हालेर हिँड्न सकिँदैन।’
जुन अभिव्यक्तिलाई लिएर एकीकृत समाजवादीभित्र विवाद जन्मिएको थियो । पार्टी अनुशासन विपरीत अभिव्यक्ति दिएको भन्दै झाँक्रीसँग स्पष्टीकरण मागिएको थियो। अब उनले दिएको आत्मालोचनापछि पार्टीले उनलाई माफी दिएको ज्वालाले बताए।









Facebook Comments