
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय मुक्ति पार्टीबीच कार्यगत एकता भएको छ । यहाँ आज आयोजित घोषणासभामा जसपा अध्यक्ष अशोक राई र राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले एकतापत्रमा हस्ताक्षर गरे ।
दुवै दलबीच केन्द्रीय संयोजन समितिले पारित गरेका आचारसंहिता, निर्देशन तथा प्रदेश र जिल्ला संयोजन समितिले गरेका निर्णय पालना गर्ने समझदारी भएको छ । बैठक आयोजना गर्ने दलले पत्रपत्रिका, टेलिभिजन, एफएमलगायत सञ्चारमाध्यमको समन्वय तथा बैठकका निर्णयको ब्रिफिङ गर्ने व्यवस्था गरिएको छ ।
दुई दलले संयुक्त रुपमा आयोजना गर्ने सार्वजनिक कार्यक्रममा दुई दलबीचको कार्यगत एकताको उद्देश्य, नीति र कार्यक्रमका आधारमा आफ्नो मन्तव्य दिनुपर्ने समझदारी गरिएको छ ।
पार्टी नीतिअनुरूप दुवै दलले आ–आफ्ना अलग कार्यक्रम गर्न दुवै दल स्वतन्त्र हुने तथा कार्यगत एकताको नीतिविरुद्ध सार्वजनिक टीकाटिप्पणी गर्न नपाइने उक्त पत्रमा उल्लेख गरिएको छ ।
जसपा अध्यक्ष राईले मुलुकमा प्राप्त राजनीतिक उपलब्धिको रक्षा गर्न समान विचारधारा भएका दलबीच सहकार्य, समन्वय तथा एकता गरेर राजनीतिक धु्रवीकरण गर्नुपर्नेमा जोड दिए ।
जसपा संघीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठले लोकतन्त्रमा सबै नागरिकलाई समान अधिकार संरक्षण गर्नुपर्ने बताउँदै विद्यमान समानुपातिक, समावेशीताका कारण प्रतिनिधिसभामा अहिले महिलाको प्रतिनिधित्व करिब ३४ प्रतिशत पुगेकाले यसलाई थप सुदृढ गर्न निर्वाचन प्रणाली पूर्ण समानुपातिक बनाउनुपर्ने विचार व्यक्त गरे ।
राष्ट्रिय मुक्ति पार्टीका राजेन्द्र महतोले हिमाल, पहाड र मधेसमा बस्ने सबै समुदायको मेलमिलापबाट देशको उन्नति गर्न सकिने भन्दै दुवै पार्टीबीच भएका विषयलाई कार्यान्वयन गर्दै छिट्टै पार्टी एकीकृत गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालबाट विभाजन भई जनता समाजवादी पार्टी गठन भएको थियो । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीबाट अलग भएको राष्ट्रिय मुक्ति पार्टीबीच पहिचानसहितको सामाजिक न्याय, समानता आर्थिक विकासका लागि सैद्धान्तिक आधार पूरा भएको जनाइएको छ ।
पछिल्लो समय समान विचारधारा भएका मधेसकेन्द्रित दलले कार्यगत एकता तथा सहकार्य गर्नेगरी संघीय लोकतान्त्रिक मोर्चा गठन गरेका छन् ।









Facebook Comments