काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विश्वासको मत पाएका छन् । उनले मंगलबार साँझ बागमती प्रदेश सभाको बैठकमा विश्वासको मत पाएका हुन् ।

१ सय १० सदस्यीय बागमती प्रदेश सभामा उनका पक्षमा ६३ मत आएको छ । नेकपा एमाले र कांग्रेस गठबन्धनका साउन २० गते बानियाँ मुख्यमन्त्री बनेका थिए । तर कांग्रेसभित्रै निवर्तमान मुख्यमन्त्री बहादुर सिंह लामा पक्षधर १४ सांसद असन्तुष्ट भएपछि मंगलबार दिउँसो ४ बजेलाई तोकिएको विश्वासको मत लिने तालिका पछि सरेको थियो ।

ad

कांग्रेस सभापति शेरबहादुर देउवाको निर्देशनपछि असन्तुष्ट पक्ष हेटौँडा आएर संसदीय दलको बैठक बसेर एकमना भएर अघि बढ्ने निर्णयपछि बानियाँलाई सहज बनेको हो । प्रदेश सभामा सबैभन्दा ठूलो दल कांग्रेसको ३७ र साझेदार एमालेका २७ सभासद् छन् ।

यस्तै प्रतिपक्षी नेकपा माओवादीका २१, राप्रपाका १३ (सभामुख सहित), नेकपा एकीकृत समाजवादीका ७, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ सांसद छन् ।

साउन १४ गते कांग्रेसका तीन जना सांसद गोविन्द लम्साल (धादिङ), माया श्रेष्ठ (चितवन) र गीता गुरुङलाई मन्त्री नियुक्त गर्ने निर्णय भएको थियो । मुख्यमन्त्री बहादुर सिंह लामाले लम्साललाई आन्तरिक मामिला तथा कानून मन्त्रालय, श्रेष्ठलाई युवा तथा खेलकुद मन्त्रालय र गुरुङलाई सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी दिइएको थियो ।

उनीहरुको शपथको समय पनि तय भएको थियो । तर, एमालेको असहमति र प्रदेश प्रमुख दीपक देवकोटाको स्वास्थ्य प्रतिकुलका कारण शपथग्रहण रोकियो ।

पार्टी सभापति शेरबहादुर देउवासँग पनि यी तीनजनालाई शपथ गराउने सहमति भएपछि राजीनामा दिएको बताएका लामाले सहमति कार्यान्वयन नभएको भन्दै यही मुद्दालाई लिएर विश्वासको मत लिने दिनसम्म असन्तुष्ट समूहको नेतृत्व गर्दै मुख्यमन्त्री बनेका बानियाँलाई चुनौती दिएका थिए ।

तर पार्टी सभापतिको निर्देशनपछि उनीहरु मंगलबार मुख्यमन्त्रीलाई विश्वासको मत दिन राजी भएपछि बानियाँलाई सहज भएको हो । बानियाँले प्रदेश सभाका अन्य दलहरुलाई पनि विश्वासको मत दिन लिखित पत्राचार नै गरेका थिए ।

बैठकमा नेकपा एकीकृत समाजवादीका ४ र नेमकिपाका ३ सदस्य तटस्थ बसेका थिए भने समाजवादीकै ३ प्रदेश सभा सदस्य अनुपस्थित थिए ।