काठमाडौं । विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै निजी विद्यालय सञ्चालकहरुले यही साउन २९ देखि आन्दोलनमा उत्रिने घोषणा गरेका छन् ।

ad

हिसान, नेसनल प्याब्सन, एन प्याब्सन र प्याब्सनले संयुक्त विज्ञप्ति जारी गर्दै आफूहरुको माग सम्बोधन नभए साउन २९ गतेदेखि आन्दोलन गर्ने चेतावनी दिएका हुन्। उनीहरुले निजी विद्यालयलाई क्रमशः गैरनाफामूलक बनाइने भन्ने वाक्यांश तत्काल हटाइनुपर्ने माग राखेका छन् । आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्याब्सन केन्द्रीय कार्यसमिति महासचिव आरबी कटुवालले आफूहरूका माग सम्बोधन गरी विधेयकमा संशोधन नगरे साउन २९ गतेदेखि आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।

त्यस्तै, पूर्ण छात्रवृत्ति भन्ने शब्द पनि हटाइनुपर्ने, हाल अभ्यासमा रहेको जम्मा विद्यार्थी संख्याको १० प्रतिशत छात्रवृत्ति दिने प्रावधानलाई निरन्तरता दिइनु पर्ने, छात्रवृत्तिअन्तर्गत भर्ना शुल्क, बार्षिक शुल्क र मासिक पढाइ शुल्क कायम हुनुपर्ने उनीहरुको माग छ । विधेयकमा निजी लगानीमा सञ्चालित विद्यालयहरूलाई क्रमशः गैरनाफामूलक बनाउँदै लैजाने प्रावधान, २०५८ सालमा सरकारले कम्पनी कानून बमोजिम सञ्चालन गर्न दिने गरी गरेको कानूनी व्यवस्था विपरित रहेको बिद्यालय सञ्चालकहरुले बताएका छन् ।