
काठमाडौं । सोलुखुम्बु जिल्लाको सोलु दुधकुण्ड नगरपालिकामा जुनबेशी खोलाको पानीको वहाव सदुपयोग हुने गरी दोभान हाइड्रोपावरले निर्माण गरेको ५.२ मेगावाट क्षमताको जुनवेशी जलविद्युत आयोजनाले परीक्षण उत्पादन शुरु गरेको छ ।
अबको केही सातापछि व्यावसायिक उत्पादन शुरु हुने आयोजनाले जनाएको छ । आयोजनाको सबै काम सम्पन्न भएकाले परीक्षणको काम शुरु भएको आयोजनाका निर्देशक अनिल बस्नेतले बताउनुभयो । यस आयोजनाबाट उत्पादन भएको विद्युतीय ऊर्जालाई नेपाल बिद्युत प्राधिकरणको १३२ केभी तिङ्गला लमाने सव स्टेशनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोेडिने छ ।
यो अर्ध–जलाशययुक्त जलविद्युत आयोजना हो । आयोजनाका प्रायः सबै हेडवक्र्स कम्पोनेन्टहरू, जल प्रवाह प्रणाली र पावरहाउस जुनबेसी खोलाको बायाँ तटमा अवस्थित छन् । यस आयोजनाको पावरहाउस नाजिङ गाउँमा जुनबेसी खोलाको बायाँ तटमा छ, जुन जुनबेसी खोला र दूधकुण्ड नदीको संगमबाट करिब १ किलोमिटर माथि छ । हेडवक्र्स जुनबेसी गाउँमा अवस्थित छ, जुन जुनबेसी खोला र मन्जुम खोलाको संगमबाट करिब २० मिटर माथि छ ।









Facebook Comments