
काठमाडौं । राप्रपाका सांसद दीपक बोहोराको निधनका कारण रिक्त रहेको रुपन्देहीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–३ मा आगामी कात्तिक १७ गते उपनिर्वाचन हुने भएपछि सत्तारुढ कांग्रेस, एमाले र प्रतिपक्षी दल रास्वपाले यसलाई प्रतिष्ठाको विषय बनाएका कारण उक्त उपनिर्वाचनलाई प्रमुख राजनीतिक दलहरूका निम्ति ‘मिनी जनमतसंग्रह’का रूपमा बुझ्न थालिएको छ ।
यस निर्वाचनमा कुनै पनि दलबीच तालमेलको सम्भावना न्यून देखिएकाले पनि दलहरू आफ्नो प्रभाव र जनमत परीक्षण गर्ने अवसरका रूपमा उपयोग गर्न रणनीतिका साथ आन्तरिक मोर्चाबन्दीमा जुटेका छन् । २०८४ सालमा हुने आमनिर्वाचनमा कस्तो परिणाम आउँछ भन्ने उपनिर्वाचनले नै संकेत दिने दाबी दलहरूले गर्न थालेका छन् ।
यस क्षेत्रमा ०७९ को निर्वाचनमा एमालेलगायत दलकोे समर्थनमा बोहोराले बहालवाला गृहमन्त्री एवं कांग्रेसका प्रभावशाली नेता बालकृष्ण खाँणलाई पराजित गरेका थिए । ०७९ कांग्रेस नेतृत्वमा माओवादीसहितका पाँच राजनीतिक दलको गठबन्धन थियो भने एमाले नेतृत्वमा उपेन्द्र यादव नेतृत्वको जसपा र राप्रपासहितको जिल्ला र निर्वाचन क्षेत्रअनुसारको गठबन्धन बनेको थियो । रास्वपाले भने प्रत्यक्षतर्फ उम्मेदवार उठाएको थिएन ।
एमालेसँगको गठबन्धनमा राप्रपाका बोहराले निर्वाचन जिते पनि विगतमा यस क्षेत्रका मुख्य प्रतिस्पर्धी कांग्रेस र एमाले नै देखिएका छन् । संगठनभन्दा पनि व्यक्तिको प्रभाव र गठबन्धनको बलले राप्रपा नेता बोहोराले ७० र ०७९ को निर्वाचन जितेका थिए । त्यसबाहेकका निर्वाचनमा कांग्रेस र एमालेले आलोपालो जित्दै आएका छन् ।
सत्तारुढ कांग्रेसले हालसम्म औपचारिक रूपमा उम्मेदवारको घोषणा गरिसकेको छैन । तर, कांग्रेसभित्र प्रमोद यादव, रामचन्द्र ढकाल, सुशील गुरुङलगायतका नेताहरूको नाम आकांक्षीका रूपमा चर्चामा छन् । उम्मेदवार छनोट गर्नुअघि केन्द्रबाटै नेताहरू निर्वाचन क्षेत्र पुगेर आममतदाताको मनोविज्ञान बुझेर फर्किएका छन् । महामन्त्री विश्वप्रकाश शर्मा र पार्टीका प्रचार विभाग प्रमुख मीन विश्वकर्मालगायतका नेताहरू निर्वाचन क्षेत्रका नागरिकसँगको जनमत बुझेर केही दिनअघि फर्किएका हुन् ।
प्रचार विभाग प्रमुख विश्वकर्माले नयाँ अनुहारलाई उम्मेदवार बनाउने प्रयास भइरहेको बताएका छन् । यो एउटा सिटले देशभरको वर्तमान अवस्थाको जनलहर कता छ भन्ने कुराको संकेत गर्ने भएकाले कांग्रेसले यसलाई प्रतिष्ठाको विषय बनाएको उनको भनाइ छ । यद्यपि यो उपनिर्वाचनलाई ०८४ कै जनमतका रूपमा त नहेरेका उनले बताए ।
एमालेले राष्ट्रिय सभाका पूर्वसांसद खिमलाल भट्टराईलाई उम्मेदवार बनाउन लागेको चर्चा छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले भट्टराईलाई रुपन्देही–३ को उपनिर्वाचनका लागि तयारी गर्न निर्देशन नै दिएको एमाले नेताहरू बताउँछन् ।
भट्टराई २०७८ मा राष्ट्रिय सभा सदस्य निर्वाचित भएका थिए । २०७९ को प्रतिनिधिसभा निर्वाचनमा केन्द्रबाट रुपेन्देही–५ मा भट्टराई र वासुदेव घिमिरेलेलाई टिकट दिइएको थियो । भट्टराई राष्ट्रिय सभा सदस्यबाट राजीनामा दिएर उम्मेदवार हुन गएका थिए ।
एमालेले सुरुमा घिमिरेलाई टिकट दिए पनि अन्तिम समयमा भट्टराईलाई आधिकारिक उम्मेदवार बनाएको थियो । घिमिरेले भट्टराईभन्दा अघि उम्मेदवारी दर्ता गराएकाले आयोगले उनको उम्मेदवारीलाई मान्यता दिएको थियो । घिमिरे रुपन्देही–५ बाट निर्वाचित भएका थिए ।
माओवादीले भने आगामी पदाधिकारी बैठकले मात्रै उम्मेदवारीको विषय टुंगो लगाउने बताएको छ । समाजवादी मोर्चा (माओवादी, एकीकृत समाजवादी, नेकपा ) को साझा उम्मेदवार बनाउने कि माओवादीको एक्लै बनाउने विषयमा अनौपचारिक छलफल जारी छ । विगतको निर्वाचन परिणाम हेर्दा माओवादी चौथो स्थानमा छ ।
रास्वपाले रुपेन्देही–३ को उपनिर्वाचनलाई ०८४ को निर्वाचनको ‘जनमतसंग्रह’का रूपमा हेरेको छ । अहिले पार्टीका अधिकांश नेताहरूको मुख्य ध्यान नै उपनिर्वाचनतिर मोडिएको छ । रास्वपाले साउन ५ गते उम्मेदवार आह्वान गरी खुला प्रतिस्पर्धा गराएको थियो । सो आह्वानमा नौजनाले नाम दर्ता गरेका छन् । उम्मेदवारी दाबी प्रस्तुत गर्नेमा सुलभ खरेल, पार्थिवेन्द्र उपाध्याय, लेखजंग थापा, ज्ञानु पौडेल, जितबहादुर गुप्ता, कुसुम महर्जन, रचना क्षेत्री, पुनमकुमारी अग्रवाल र मधुप्रसाद अर्याल छन् ।
अघिल्लो निर्वाचनमा प्राप्त समानुपातिक मतले रास्वपा यस क्षेत्रका तेस्रो शक्ति देखिएको थियो । ०७९ को निर्वाचनमा प्राप्त समानुपातिक मतको हिसाबले कांग्रेस पहिलो, एमाले दोस्रो र रास्वपा तेस्रो शक्तिका रूपमा देखिएका छन् । कांग्रेसले २० हजार २ सय ७८, एमालेले १६ हजार ९ सय ८६, रास्वपाले १४ हजार १ सय ५४ र राप्रपाले ९ हजार १ सय ८३ मत ल्याएका थिए । रास्वपाले उपनिर्वाचनसम्बन्धी सम्पूर्ण कार्यको नेतृत्व गर्ने जिम्मेवारी सहमहामन्त्री एवं लुम्बिनी प्रदेश इन्चार्ज विपीनकुमार आचार्यलाई दिइसकेको छ ।
समानुपातिक मतलाई आधार मान्ने हो भने कांग्रेस, एमाले र रास्वपा नै यस क्षेत्रका मुख्य शक्ति हुन् । सत्ता सहकार्यमै रहेका कांग्रेस र एमाले मुख्य प्रतिस्पर्धी हुन् तर उनीहरूका लागि रास्वपा नै मुख्य चुनौती बनिरहेको छ । कांग्रेस र एमालेले सत्तामा रहेका दुवै दलका लागि मुख्य चुनौती नै रास्वपा भएको बताएका छन् । त्यसैले जसले उनीहरूमा दुई दलमध्ये जित्दा पनि केही फरक नपर्ने तर रास्वपाले जितेमा भने त्यसको प्रत्यक्ष असर ०८४ को चुनावमा पर्ने भय देखिन्छ ।
राप्रपाले भने दीपक बोहराकै दुई छोराहरू क्याप्टेन गौरव बोहरा र इन्जिनियर प्रज्वल बोहरासहित ६ जनाको नाम सिफारिस गरेको छ । राप्रपाले जिल्ला अध्यक्ष तथा पूर्वनगरप्रमुख सागरप्रताप राणा, केन्द्रीय सदस्य वसन्तविक्रम शाही, सदस्य स्वाती थापा र अधिवक्ता दिलीपकुमार मल्लिकको नाम पनि सिफारिस गरेको हो ।
अघिल्लो चुनावमा राप्रपाका नेता बोहोराले खाँणलाई २ हजार ६ सय ८१ मतले पराजित गरेका थिए । बोहराले ३६ हजार ७ सय १७ मत पाउँदा खाँणले ३४ हजार ३६ मत पाएका थिए ।
अघिल्लो चुनाव जितेको राप्रपाले मधेशकेन्द्रित दल र अरु साना क्षेत्रीय दलहरूसँग मोर्चाबन्दी गर्ने प्रयास गरिरहेको छ । मधेशबाट नयाँ राजनीतिक शक्तिका रूपमा उदाएको सीके राउत नेतृत्वको जनमत पार्टीले पनि कसैसँग गठबन्धन नगर्ने घोषणा गरेको छ । आफ्नो पार्टीप्रतिको जनआकांक्षा बुझ्नका लागि पनि उसले गठबन्धनमा नजाने निर्णय लिएको हो ।









Facebook Comments