
भक्तपुर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राजनीतिक दल र सरकारको गतिविधिका कारण सर्वत्र नैराश्यता बढेको भन्दै विशेषगरी युवाहरूले त्यही नैराश्यताका कारण मुलुक नै छोड्दै गइरहेको बताएका छन् ।
हिजो शनिबार भक्तपुरको बालकोटमा श्यामबहादुर कार्की स्मृति प्रतिष्ठानद्वारा आयोजित कार्कीको १८औँ स्मृति दिवसमा कार्की प्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले भने, ‘तर यस समस्याबाट नेपाली कांग्रेस भाग्न नहुने र समस्याको चुरो पत्ता लगाएर समाधान गर्नुपर्नेछ । मुलुकको जुनसुकै समस्यालाई समाधान गर्न सक्ने पार्टी नेपाली कांग्रेस मात्र हो । चाहे व्यवस्था परिवर्तन होस् वा संविधान निर्माण । त्यसैले युवाहरूलाई रोक्ने र सबै सकियो भन्ने भाष्यलाई चिर्ने काम पनि कांग्रेसकै हो । हामी चुनाव हारिन्छ कि भन्ने चिन्ताले ग्रसित हुँदा कमजोर बन्दै गइरहेका छौँ, किन भने पद र लोभका कारण मति बिग्रने हो । चुनाव हार्दैमा राजनीति सिद्धिँदैन । नत्र भने राणा शाहीले नै कांग्रेस सिध्याउँथे वा ३० वर्ष प्रतिबन्धित रहँदा नै सिद्धिन्थ्यो । त्यसैगरी २०६४ मा हामी नराम्रोसँग पराजित भयौँ तर पनि मुलुकको प्रमुख शक्तिको रूपमा हामी नै रह्यौँ । र संविधान जारी गरेर नै छोड्यौँ । त्यसैले अब कांग्रेसले चुनावमुखी राजनीति होइन, मुलुकको सबै समस्यालाई सम्बोधन गर्न सक्ने गरी नीतिहरू अगाडि बढाउनुपर्छ । त्यसको लागि हामी नेताहरू तयार हुनुपर्छ । देशका जल्दाबल्दा समस्या समाधान गरियो भने जनसमर्थन प्राप्त हुन्छ र सजिलै चुनाव जितिन्छ । अहिले मुलुकमा सर्वत्र नैराश्यता छाएको छ, त्यसको जिम्मेवार हामी नेतृत्वमा रहेकाहरू नै हौँ । त्यसैले नेताहरू नसुध्री राजनीति सुध्रँदैन । र पार्टी बलियो हुँदैन । हामीले हाम्रा आचरण दिनचर्या सबै बदल्नुपर्छ, लाभको राजनीति होइन, समर्पणको भावनाले अगाडि बढ्नुपर्छ, त्यसो भएमा कार्यकर्ता, जनता सबै खुसी हुन्छन् र पार्टी बलियो हुन्छ ।’
कार्यक्रममा विशेष अतिथिको रूपमा बोल्दै संघीय सांसद एवं नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले अबको राजनीति सामाजिक सञ्जाल र एआई प्रविधिसँग प्रतिस्पर्धा गर्नुपर्ने भइसकेकोले हामी सबै त्यसका लागि तयार हुनुपर्ने बताउँदै स्व. कार्कीप्रति श्रद्धाञ्जली व्यक्त गरे ।
प्रतिष्ठानका सल्लाहकार ध्रुव ठकुरीले स्वागत गरेको कार्यक्रममा अर्का सल्लाहकार वरिष्ठ पत्रकार कबिर राणाले कार्कीको जीवनीमाथि प्रकाश पार्दै श्रद्धासुमन व्यक्त गरेका थिए भने कार्यक्रम प्रतिष्ठानका अध्यक्ष कार्कीका जेठा छोरा विष्णुराज कार्कीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सचिव प्रदीप कार्कीले गरेका थिए । सो अवसरमा १ सयभन्दा बढीले रक्तदान गर्नुका साथै प्रतिष्ठानले स्थानीय गणेश प्राविका विद्यार्थीहरूलाई खेलकुद तथा शैक्षिक सामग्री वितरण गरेको थियो ।









Facebook Comments