
काठमाडौं । आफ्नै पार्टीको सरकार अनि गुट पनि एउटै, वागमती प्रदेशमा नेपाली कांग्रेसभित्र किचलो हुँदा प्रदेश सरकार नै गतिहीन बनेको छ । पहिला मुख्यमन्त्री रहेका बहादुर सिंह लामालाई नेपाली कांग्रेसको संसदीय दलको नेताबाट हटाउन हात धोएरै लागेका इन्द्र बानियाँ अन्ततः मुख्यमन्त्री नै भए पनि उनले मन्त्रिमण्डल विस्तार भने गर्न अझै सकेका छैनन् । प्रदेश सभापतिसमेत रहेका बानियाँ उनै लामासँग संसदीय दलको नेतामा पराजित भएका थिए । तर अनेक तिकडमबाजी गरेर बानियाँले संसदीय दलमा जित निकाल्दै मुख्यमन्त्रीको कुर्सीबाट पनि बिदा गराएका छन् ।
बजेट ल्याउने बेलादेखि नै लामा नेतृत्वको सरकारसँग असन्तुष्ट कांग्रेस सांसदहरूको जोडबल अनि सभापति शेरबहादुर देउवाले ढाडस दिएपछि बानियाँ वागमती प्रदेशको छैटौँ मुख्यमन्त्री बन्न पुगेका हुन् । १४ मन्त्रालय रहेको वागमतीमा कांग्रेसको भागमा मुख्यमन्त्रीसहित ८ मन्त्रालय र एमालेको भागमा ६ मन्त्रालय छ । जसमा एमालेले आफ्ना ६ जना मन्त्रीहरूलाई सरकारमा पठाइसकेको छ भने कांग्रेसले मुख्यमन्त्रीसहित खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री मात्रैको टुंगो लगाएको छ । संविधानअनुसार २२ जनासम्म मन्त्री बनाउन सकिने भए पनि बानियाँले त्यत्रो आकारको नबनाउने बताएका छन् । सकसमा परेका उनले विकल्पबारे पनि गोप्य रूपमा शीर्ष नेताहरूसँग समेत परामर्श थालेको बुझिएको छ ।
मन्त्रिमण्डल विस्तारमा ढिलाइ हुँदा कांग्रेसको भागमा रहेको आर्थिक मामिला तथा योजना मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, संस्कृति तथा पर्यटन मन्त्रालय, सहकारी तथा गरिबी निवारण मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय र सामाजिक विकास मन्त्रालयको जिम्मेवारीसमेत प्रदेश प्रमुखको कार्यालयले मुख्यमन्त्री बानियाँलाई थमाएको छ ।
संसदीय दलका नेताका लागि कांग्रेसभित्र उत्पन्न भएको विवादले कांग्रेसका ३७ सांसदलाई दुईधारमा विभाजन गरिदिएको छ भने निर्वतमान मुख्यमन्त्री बहादुरसिंह लामा र मुख्यमन्त्री बानियाँ समूह दुईधार बनेका छन् । जसका कारण पनि मन्त्री नियुक्तिको प्रक्रिया सहज नभएको विश्लेषकहरू बताउँछन् । लामाले आफ्ना समूहका तीनजनालाई मन्त्री नियुक्त गर्नुपर्ने सर्त राखेका छन् । पार्टी सभापति शेरबहादुर देउवा निवासमा भएको सहमति कार्यान्वयन गनुपर्ने लामा समूहको अडान छ ।
हालसम्म कांग्रेसबाट कृष्णकुमार तामाङले मात्र मन्त्रालयको जिम्मेवारी पाएका छन् भने अर्का मन्त्री शिवराज अधिकारी विना विभागीय अवस्थामा रहेका छन् । अब कांग्रेसले ५ मन्त्री नियुक्त गर्न बाँकी छ । तत्कालीन सहकारी मन्त्री मदुकुमार श्रेष्ठ, आन्तरिकमन्त्री सुरजचन्द्र लामिछाने, पर्यटनमन्त्री विमल ठकुरी, युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जन र खानेपानीमन्त्री श्याम खड्काले लामाको साथ छोडेर बानियाँलाई साथ दिएको गुण तिर्नु पर्ने आवाज पनि उठेको छ ।
निवर्तमान मुख्यमन्त्री लामाले साउन १४ गते मन्त्री नियुक्त गरेर शपथ खान नपाएका तीन सांसदको नामअघि सारेका छन् । जसमा धादिङका गोविन्द लम्साल, चितवनकी गीता गुरुङ र चितवनकै माया श्रेष्ठ रहेका छन् । यसैगरी वागमती प्रदेशको प्रमुख सचेतकमा कञ्चन वादे र सदस्य सचिवमा मीनकृष्ण महर्जन नियुक्त भएका छन् ।









Facebook Comments