
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालले एक अर्कोविरुद्ध विष वमन गर्ने कार्यलाई जारी राखेका छन् । सम्मानित नेता खनालले एक टेलिभिजन अन्तरवार्ताका क्रममा एमाले फुटाउनु गलत भएको भन्ने आशयको अभिव्यक्ति दिएपछि रुष्ट बनेका अध्यक्ष नेपालले खनाललाई खुरुक्क राजीनामा दिएर पार्टीबाट बिदा हुन भनेपछि उनीहरूबीचको विवाद सतहमा आएको हो ।
पछिल्लोपटक दिनहुँजसो नेपाल र खनालबीच एक–अर्कोविरुद्ध निकृष्ट रूपमा आरोप–प्रत्यारोप चलिरहेको छ । नेपालले पार्टी निर्णय नमान्ने नेताहरूको सूचीमा खनाल एक नम्बरमा रहेको भनी कटाक्ष गर्दै एमालेमै फर्केर ओलीको सेवा गरे हुन्छ भनेपछि खनालले पनि नेतृत्व गर्न नसक्ने नेपाललाई आफैँले पार्टी छाड्न भनेका थिए । खनालले आफ्नो अनुहार ऐनामा हेर्न र आफैँ एमालेमा फर्किनेबारे सोच्न नेपालमाथि व्यंग्य गरेका छन् ।
पतञ्जलि जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेपछि नैतिकताका आधारमा नेपालले अध्यक्ष र संसदीय दलको नेता छाड्नुपर्ने खनालले बताउँदै आएका छन् । नेपाल र खनालबीच वाक्युद्ध चलिरहेकै अवस्थामा नेकपा (एकीकृत समाजवादी)ले सचिवालय, स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय समितिको बैठक बोलाएको छ । अध्यक्षको राजनीतिक प्रतिवेदन, समसामयिक राजनीति, पार्टीको अधिवेशन, विभिन्न अभियानको समीक्षा गर्न साउन २८ गते सचिवालय, भदौ ४ गते स्थायी कमिटी, ५ गते पोलिटब्युरो र भदौ ७ र ८ गते केन्द्रीय समितिको बैठक बोलाइएको हो ।
यस्तै पार्टीको तेस्रो वरियता लिँदै एकीकृत समाजवादीमा केही दिनअगाडि पसेका वामदेव गौतम पनि आफूले कुनै जिम्मेवारी नपाएको भन्दै गुनासो गरिरहेको भए पनि अध्यक्ष नेपालले कुनै सुनुवाइ नगरेपछि गौतम पनि टेढिन थालेका छन् । आफ्नो नेतृत्वमा रहेको नेकपा एकता राष्ट्रिय अभियानलाई एकीकृत समाजवादीमा एकता गरे पनि जिम्मेवारी दिन आलटाल गरिएपछि गौतम असन्तुष्ट छन् ।
उनले जिम्मेवारी नपाए लामो समयसम्म पार्टीमा नबस्ने अभिव्यक्ति दिएपछि एकीकृत समाजवादीमा हलचल भइरहेकै बेलामा शनिबार गौतम र खनालबीच छलफल भएको छ । गौतमले खनाललाई डल्लुस्थित उनकै निवास पुगेर भेटवार्ता गरेका थिए । अध्यक्ष नेपालसँग सार्वजनिक रूपमा नै वाक्युद्ध चलिरहेको बेलामा खनालले गौतमलाई भेट्नु अर्थपूर्ण रूपमा लिइएको छ ।









Facebook Comments