काठमाडौं । राष्ट्रपति बन्नुभन्दा अघिल्लोदिनसम्म सक्रिय राजनीति गरेको पार्टी नेकपा एमालेले उनको सदस्यता खोसेपछि पनि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा फर्कने घोषणा गर्दै अहिले एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध आफ्ना गतिविधिहरू केन्द्रित गर्न थालेकी छिन् । विगतमा ओलीसँग राम्रो गठजोड बनाएकै कारण देशकै सम्मानित पद राष्ट्रपतिको २ कार्यकाल पूरा गरेकी भण्डारीले अहिले भने ओलीविरुद्ध जेहाद नै छेडेकी छिन् ।

एमालेबाट माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतम बाहिरिएपछि आफूसँग प्रतिस्पर्धा गर्ने कोही नभएको जसरी एकछत्र र बाँचुन्जेल अध्यक्ष बन्ने मनोकांक्षा पालेका ओलीलाई विद्याको पुनरागमनले भने झस्काएको छ । पूर्वराष्ट्रपति भएपछि एमालेले सदस्यता नवीकरण गरेको भए पनि अहिले उनी राजनीतिमा फर्कने उद्घोषका साथ एमालेको नेतृृत्वका लागि तयार भएको अभिव्यक्ति दिएपछि झस्किएका ओलीले सचिवालयबाट निर्णय गराएर पार्टी सदस्यता नै खारेज गरेका थिए ।

ad

सदस्यता खारेजै भए पनि केही विदेशी शक्ति र पार्टीभित्र ओलीकै कारण चेपुवामा परेका नेताहरूको साथका कारण उनी अगाडि बढ्ने लक्ष्य लिएर सम्पर्क कार्यालय नै स्थापना गरेकी छिन् । भदौको तेस्रो साता हुने विधान अधिवेशनमा सहभागी हुन पनि नपाउने उनले अहिले आन्तरिक रूपमा अध्यक्ष ओलीलाई कमजोर पार्ने रणनीति बनाउन व्यस्त भएको विद्यानिकट स्रोतले देशान्तरलाई बताए ।

पूर्वराष्ट्रपति विद्या भण्डारीले एमालेको भावी नेतृत्वको आकांक्षा राख्दै आफू सक्रिय राजनीतिमा प्रवेश गरेको बताएपछि प्रधानमन्त्री समेत रहेका एमालेका अध्यक्ष केपी शर्मा ओलीले उनलाई राजनीतिमा आउन वञ्चित गरे पनि भण्डारी भने मदन भण्डारी फाउन्डेसनमार्फत आफ्नो राजनीतिक सक्रियता अगाडि बढाउने तयारीमा छिन् ।

ओलीकै साथ र सहयोगमा २/२ पटक मुलुकको सर्वोच्च पद राष्ट्रपति बनाइएकी एमाले पूर्वउपाध्यक्ष भण्डारी आफ्नै लागि चुनौती बनेपछि ओलीले पार्टीका सबै निकायबाट निर्णय गराई साधारण सदस्यबाट समेत वञ्चित गरेपछि रुष्ट बन्न पुगेकी भण्डारीले आफ्नो राजनीतिक यात्रालाई कायम राख्दै कार्यकर्ताहरूसँग सम्पर्कका लागि काठमाडौंको नयाँ बानेश्वर हाइटस्थित थापागाउँमा सम्पर्क कार्यालय खोलेकी छिन् । उक्त घरमा रङरोगन र सजावटको कार्यहरू अन्तिम चरणमा पुगेको बताइएको छ । २०४८ सालमा आफ्ना श्रीमान् स्वर्गीय मदन भण्डारीले चुनाव प्रचारप्रसार गर्न सम्पर्क कार्यालय खोलेकै घरमै भण्डारी समूहले सम्पर्क कार्यालय खोलेको हो । भण्डारी समूहले विद्या भण्डारीको अगुवाइमा मदन भण्डारीको स्मृतिमा हीरक महोत्सव मनाउन जननेता मदन भण्डारी ७५औँ जन्मजयन्ती मूल व्यवस्थापन समिति गठन गरिएको छ ।

भण्डारी हाल बुढानीलकण्ठस्थित भंगालमा बस्दै आएकी छिन् । आफूनिकटका नेता तथा कार्यकर्ताहरूलाई आवातजावतमा समस्या देखिएपछि भण्डारी समूहले थापागाउँमा चारतले घर भाडामा लिएर सम्पर्क कार्यालय खोलेको हो । हाल फाउन्डेसनको नाममा राजनीतिक गतिविधि सञ्चालन गर्ने र आगामी दिनमा भण्डारी नियमित रूपमा त्यहीँ उपस्थित भई कार्यकर्तासँग भेटघाट तथा समन्वय गर्ने योजना रहेको भण्डारीनिकटका नेताहरूले बताएका छन् ।

यतिबेला भण्डारी लगायत उनी निकटका नेताहरू शान्त देखिए पनि फाउन्डेसनको आवरणमा राजनीतिक गतिविधि अगाडि बढाउन भण्डारी समूह आन्तरिक गृहकार्यमा लागेको छ । भण्डारी समूहले फाउन्डेसनका गतिविधिअन्तर्गत आफ्नो सदस्यताको एजेण्डालाई तल्लो तहसम्म लैजाने तयारी गरिरहेको छ । सातै प्रदेशमा एकसाथ अभियान सञ्चालन गरेर सदस्यताको एजेन्डालाई तीव्र रूपमा उठाउने र नेतृत्वलाई सदस्यताका लागि दबाब दिने योजनामा भण्डारी समूह रहेको छ ।