कलाकार केदार घिमिरेको पहिचान नै ‘माग्ने बुढा’ बनिसकेको छ । उनले दर्शकबाट पाएको नाम नै चिनारीका रूपमा प्रयोग गर्ने गरिन्छ । रेडियोमा अन्तर्वार्ता गर्ने कलाकार भेट्ने क्रममै अभिनयप्रति आकर्षित भएका कलाकार घिमिरे केही समययता सर्वाधिक महँगा कलाकारका रूपमा चर्चामा छन् । एकप्लेट मःम र ३० सेकेन्ड टेलिशृंखलामा देखिन दिनभर छायांकनस्थलमा बस्ने कलाकार घिमिरे अहिले निर्माता र निर्देशकको रोजाइमा पर्ने कलाकार बनेका छन् ।

‘छक्का पञ्जा’ चलचित्रका शृंखलाबाट ठूलो पर्दामा स्थापित भएका कलाकार घिमिरेको ‘माग्ने राजा’ भदौ, ‘माइतीघर’ असोज र ‘जेरी अन टप’ कात्तिकमा प्रदर्शन हुँदै छ । व्यस्त कलाकार बनेर मनोरञ्जन दिइरहेका कलाकार घिमिरेको ‘साइलेन्ट कमेडी’ चलचित्रमा काम गर्ने सपना अझै पूरा भएको छैन । ‘साइलेन्ट कमेडी चलचित्रमा काम गर्ने मेरो सपना छ, किनकि त्यसबाट विश्वलाई आफ्नो कलाकारिता देखाउन सकिन्छ । चलचित्रमा संवाद नभएपछि त्यो सबै भाषीका लागि हुन्छ । त्यसले मेरो कलाकारिता र नेपाली चलचित्रलाई विश्वमा पुर्‍याउँछ भन्ने मलाई लाग्छ,’ उनले भने ।

ad

कलाकारितामा आफूलाई कसरी देख्नुभयो ?

म रेडियोमा काम गर्थें । त्यो समयमा ‘हिजो आजका कुरा’ टेलिशृंखला लोकप्रिय थियो । म त्यही सिलसिलामा विभिन्न कलाकारको अन्तर्वार्ता लिने गर्थें । उहाँहरूसँग कुराकानी गर्दागर्दै सामीप्य बढ्यो । मलाई विस्तारै कलाकारिता गर्ने रहर जाग्यो । त्यसपछि मैले अग्रज कलाकारलाई अभिनय गर्ने इच्छा जाहेर गर्न थालेँ । अभिनय सिक्न सुझाव आएपछि म त्यही अनुरूप अगाडि बढेँ । निर्देशक सन्तोष पन्तको घरअगाडि लाइन लागेर नै ‘अडिसन’ दिएको छु । त्यो भिडमा छानिएर अभिनय गर्न पाउनु मेरो भाग्य हो । नत्र त्यहाँ एकसे एक मान्छे थिए, जो कलाकार बन्न चाहन्थे । तर, म छानिएँ र कलाकारितामा पाइला अगाडि बढाउन सफल भएँ ।

म आफैँ लेखक पनि भएकाले म लेख्न सक्छु भन्दै काम माग्थेँ । टेलिीशृंखलामा तीस सेकेन्ड देखिन पाउँदा, एक दुई संवाद बोल्न पाउँदाको खुसीलाई शब्दमा व्यक्त गर्न सक्दिनँ । कमलादीमा एउटा अभिनय सिकाउने ठाउँ थियो । त्यहाँ अधिकांश कलाकार आउनुहुन्थ्यो, सोही क्रममा दीपक दाइ (दीपकराज गिरी), दमन दाइ (दमन रुपाखेती), जितु दाइ (जितु नेपाल)लगायतसँग राम्रो चिनजान भयो । त्यसपछि उहाँहरूलाई म कलाकारिता गर्छु भनेर काम माग्थेँ ।

‘माग्ने बुढा’को नाम कसरी पाउनुभयो ?

अभिनय सिक्ने ठाउँमा चिनजान भएपछि दीपक दाइले ‘तीतो सत्य’ नामक टेलिशृंखला सुरु गर्नुभयो । त्यो लोकप्रिय हुँदा पनि मैले चाहेजस्तो लामो भूमिका पाएको थिइनँ । म लेख्न सक्छु भनेर ‘प्रेसर’ दिन्थेँ । तर, नयाँ कलाकारको रहर र निर्देशकको बाध्यता अहिले बुझ्न थालेको छु । ‘तीतो सत्य’बाट अभिनयको भोक नमेटिएपछि ‘जिरे खुर्सानी’ टेलिशृंखलासँग जोडिएँ । ‘तीतो सत्य’ सुरु भएको एक वर्षपछि सुरु भएको ‘जिरे खुर्सानी’मा म व्यस्थापकको रूपमा जोडिएँ । अभिनय पनि गर्थें र अन्य सबै काममा सहयोग गर्थें । टेलिशृंखला लोकप्रिय भएपछि नयाँ र स्थापित कलाकार थपिन थाले फेरि मैले आफूले चाहेजस्तो अवसर पाउन सकिनँ ।

सोही टेलिशृंखलामा दमन दाइ र सीतारामजी (सीताराम कट्टेल)सँग सल्लाह भएपछि एउटा छुट्टै टेलिशृंखला तयार गर्न जुट्यौँ । सुरुमा हामीले ‘ढिकीच्याउँ’ नामक ३५ मिनेटको ‘डमी एपिसोड’ बनायौँ । त्यो प्रसारण भएन तर त्यसमा मैले निर्वाह गरेको ‘माग्ने बुढा’को पात्रलाई ‘मेरी बास्सै’मा ल्यायौँ किनकी त्यो पात्रलाई सबैले रुचाउनुभएको थियो ।

‘माग्ने बुढा’ किन सहजै दर्शकसँग जोडिए ?

‘मेरी बास्सै’ सुरु गर्दा हामीले सहरकै कथा देखायौँ । सोही कारण सुरुआतका चार भाग दर्शकले हेरेनन् । टेलिशृंखला नै बन्द गर्ने भन्ने सल्लाह हुँदा गाउँमा ‘ट्राइ’ गरौँ भनेर नयाँ तरिकाले सुरुआत गर्‍यौँ । मलगायत साथीहरू गाउँमा हुर्किएकाले हामीले गाउँको कथालाई राम्रोसँग प्रस्तुत गर्न सक्यौँ । ‘माग्ने बुढा’लाई पनि आवरणसँगै बुढ्यौली बानी, व्यवहार दियौँ । आइरहेका पात्रभन्दा भिन्न भएकाले त्यसलाई दर्शकले आफूसँग नजिक ठान्नुभयो । त्यो बेला एउटा प्रयोग नै गरेको हो । किनकि मेरो उमेरअनुसार म बुढा थिइनँ, तर बोली र आवरणले मलाई ‘माग्ने बुढा’मा स्थापित गर्‍यो । किनकि दर्शकको जीवनसँग म जोडिएँ । अहिले पनि मलाई ‘माग्ने’ भनेर बोलाउनुहुन्छ, खुसी लाग्छ ।

कलाकार सीताराम कट्टेल ‘धुर्मुस’सँग ‘केसी’ जोडी भएर धेरै काम गर्नुभयो । पछि यो जोडी किन अलग भयो ?

कलाकार कट्टेलसँग मैले सुरुआती संघर्ष गरेको छु । उहाँसँग अहिले पनि मेरो सुमधुर सम्बन्ध नै छ । काम गर्दा सानातिना मनमुटाव हुनु सामान्य नै हो, तर त्यही कारणले हामी अलग भएका हौँ भन्ने भाष्य गलत हो । कलाकार कट्टेल कलाकारिता छाडेर समाज सेवामा सक्रिय भएपछि फरकफरक रूपमा काम गर्न थालेका हौँ । त्यसपछि म कलाकार विल्सनविक्रम राईसँग ‘स्टेज कार्यक्रम’मा देखिन थालेँ । तर, मैले कलाकार राईसँग जोडी बाँधेको थिइनँ । मेरो जोडी कलाकार कट्टेल नै हुनुहुन्थ्यो । हामी हास्यकलाकार एउटा परिवारजस्तै छौँ, हौँ । परिवारमा मनमुटाव कसको हुँदैन र ? तर, त्यही कारण विभाजित भइँदैन नि !

टेलिशृंखलाबाट चलचित्रमा आउने सोच कसरी आयो ?

नेपाल टेलिभिजनमा ‘तीतो सत्य’, ‘जिरे खुर्सानी’ र ‘मेरी बास्सै’ निकै लोकप्रिय भयो । तर, कुनै समयमा बन्द हुने, फेरि सुरु हुने पनि भयो । त्यस्तो हुँदा कलाकार दीपकराज गिरीले मिलेर चलचित्रमा काम गरौँ भनेर प्रस्ताव ल्याउनुभयो । टेलिशृंखलामा आइरहेको उतारचढावले हामी सबैलाई चलचित्रमा पाइला टेक्न प्रेरित गर्‍यो । हामी कलाकार गिरीको प्रस्तावमा सहमत भएर चलचित्रमा भित्रिएका हौँ ।

सुरुआती समयमा एकसाथ देखिनुभएका हास्यकलाकार विस्तारै छुट्टिनुभयो नि ?

सबै चलचित्रमा सबै पात्र उपयुक्त नहुन पनि सक्छ होला । सुरुआतसँगै गरेका हौँ, अहिले पनि सँगै काम गर्न असहमति छैन । सबैको आ–आफ्नो विचार हुनसक्छ, तर हामी अहिले पनि सबै चलचित्रमै काम गरिरहेका छौँ । हामी किन निरन्तर सँगै भएनौँ भन्ने जवाफ सायद मसँग पनि छैन ।

तपाईं पनि विस्तारै बाहिर काम गर्दै हुनहुन्छ नि ?

पछिल्लो चलचित्र ‘छक्का पञ्जा ५’सम्म म सँगै छु । अबको त्यसपछि दुई/तीन वर्ष ‘छक्कापञ्जा’ नल्याउने सल्लाह भएपछि म बाहिरको चलचित्रमा व्यस्त भएको हुँ । पहिला मैले धेरै चलचित्रकर्मीलाई ‘नो’ भनेको थिएँ । अहिले भने आफूलाई सुहाउँदो कथावस्तु र भरपर्दो निर्माण समूहसँग काम गरिरहेको छु । तर, म ‘छक्कापञ्जा’ समूहसँग छुट्टिएको भन्ने होइन, उक्त परिवारको सदस्यका रूपमा सधैँ रहिरहनेछु । बाहिर काम गर्दा पनि म सल्लाह गरेर नै आएको हुँ ।

बाहिर काम गर्ने सिलसिलामा ‘माग्ने राजा’ नै किन रोज्नुभयो ?

यो पात्र मसँग जोडिएको छ । मलाई नै हरेर तयार गरिएको जस्तो छ । मलाई सधैँ सहायक भूमिकामा देख्ने र चलचित्रभर देखिँदा कस्तो हुन्छ वा हेर्न पाऊँ भन्ने दर्शकका लागि यो चलचित्र खास छ । यो हास्यसँग मात्र जोडिएको छैन, एउटा गहन विषय उठाइएको छ । यो एउटा आमनागरिकको कथा हो । एउटा नागरिकले आफूलाई राजा ठानेर गर्ने गतिविधिलाई चलचित्रमा मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गरिए तापनि यसले एउटा महत्वपूर्ण शिक्षा पनि दिन्छ ।

तपाईं लेखक पनि भएकाले चलचित्र निर्देशन गर्ने तयारी छैन ?

मैले कलाकारिता सुरु गर्दादेखि नै लेख्ने गर्थें । अहिले पनि लेखनलाई छाडेको छैन । मैले चलचित्र निर्देशन गर्ने सोच बनाएर केही कथा पनि लेख्ने प्रयास गरेँ । दुई/तीनवटा कथा लेखेँ पनि तर त्यसलाई पूरा गर्न सकिनँ । त्यही सिलसिलामा बाहिरका चलचित्रका प्रस्ताव आउन थाले । व्यस्त भएकाले मैले चलचित्र लेखनलाई पूर्णता दिन सकेको छैन । त्यसकारण निर्देशन गर्ने समय पाएको छैन । तर मेरो सोच चलचित्र निर्देशन गर्ने छ । भविष्यमा निर्देशक बन्छु ।

गाईजात्रामा नदेखिनुभएको लामो समय भयो । प्रहसन गरौँ जस्तो लाग्दैन ?

लाग्छ नि ! हामी हास्यकलाकारको ठूलो पर्व हो गाईजात्रा । त्यहाँ मञ्चमा उभिएर अगाडि रहेका दर्शकलाई खुसी बनाउनुको आनन्द बेग्लै छ । तर, पछिल्लो केही वर्षयता चलचित्रमा व्यस्त भएकाले समय निकाल्न सकेको छैन । चलचित्रमा जोडिएपछि अभिनयसँगै प्रचार र प्रदर्शनपछि पनि काम गर्नुपर्छ । त्यसकारण समय मिलाउन नसकेर नै हो । नत्र गाईजात्रामा प्रस्तुत हुने रहर नहुने हास्यकलाकार सायदै होलान् । मैले धेरै ‘मिस’ गर्छु । तर, आफ्ना जिम्मेवारी र दायित्वले गर्दा म गाईजात्रामा छैन । समय मिलेमा भविष्यमा फर्किनेछु ।