
काठमाडौं । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले मनसुनजन्य विपद् जोखिमलाई मध्यनजर गरी सरकारका सम्पूर्ण निकायलाई आवश्यक सतर्कता अपनाउन निर्देशन दिएका छन् ।
शहरी विकास मन्त्रालयमा आज गृहमन्त्री रमेश लेखक, रक्षामन्त्री मानविर राई, मुख्यसचिव एकनारायण अर्याल, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेश भट्टसहित बसेको बैठकमा कार्यवाहक प्रधानमन्त्री सिंहले देशका विभिन्न भूभागमा देखिएको मनसुनजन्य जोखिमको जानकारी लिएका थिए ।
बैठकमा उनले हाल देशका विभिन्न स्थानको मौसम र सम्भावित जोखिमबारे जानकारी लिँदै पूर्वतयारीमा रहन, घटना घटिहालेमा क्षति हुन नदिन खोज तथा उद्धारका लागि ‘हाइअलर्ट’ मा रहन निर्देशन दिएका हुन् ।
त्यसैगरी उनले सम्भावित जोखिमको क्षेत्रमा एसएमएस अलर्ट, स्थानीय सञ्चारमाध्यम र सुरक्षा निकायमार्फत पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउन पनि निर्देशन र्दिए ।
बैठकमा प्राधिकरणका कार्यकारी प्रमुख भट्टले लुम्बिनी प्रदेशको दाङ, बाँके, बर्दियामा पानी पार्ने प्रणाली सक्रिय रहेको जानकारी गराए । भारी वर्षा हुँदा बबई नदी र राप्ती नदीको पश्चिम भागमा खतराको तह पार गरेकाले बर्दिया क्षेत्रमा अबको ४ देखि ५ घण्टामा डुबान हुन सक्ने सम्भावना रहेको बताए ।








Facebook Comments