
काठमाडौं– यही भदौ ३ गतेदेखि काठमाडौंको भृकुटीमण्डमा आयोजना हुने नाडा अटो शो २०२५ मा आमुल परिवर्तन र प्रविधिको प्रयोग हेर्न पाइने भएको छ ।
नाडा अटो शोको पूर्व सन्ध्यामा आज काठमाडौंमा नाडा अटोमोबाइल्स अफ एसोसिएसन नेपाल (नाडा)ले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष करण चौधरीले यस बर्षको नाडा अटो शो २०२५ प्रविधि, संस्कृति र अटोमोबाइलको नवीन संयोजन हुने बताए । १६ संस्करणहरुको सफल इतिहास, अग्रणी ब्राण्डहरुको सहभागिता र लाखौं दर्शकहरुको विश्वासले नाडा अटो शोलाई नेपालको अटोमोटिभ उद्योगको सर्वोत्कृष्ट मञ्चको रुपमा स्थापित गरेको पनि अध्यक्ष चौधरीले बताए । वि.सं. २०५५ मा सुरु भएको नाडा अटो शो आजसम्म आईपुग्दा नेपाली अटो उद्योगको प्रमुख प्रदर्शनी बनेको र जसले प्रविधि, नवप्रवद्र्धन एवं गतिशीलतामा महत्वपूर्ण योगदान दिँदै आएको नाडाले जनाएको छ ।
नाडा अटो शो २०२५ अटोमोबाइल उद्योगप्रतिको जनचासो हुनुका साथै, अत्याधुनिक प्रविधि तथा नेपालमा गरिएका इनोभेसनहरूको भव्य उत्सव हुने विश्वास आयोजकको रहेको छ । यो केवल प्रदर्शनी मात्र नभई नेपालको दिगो, स्मार्ट र भविष्यमुखी मोबिलिटीको प्रतिविम्ब भएको नाडाले जनाएको छ । गो फर मोर भन्ने नारासहित आयोजना हुन लागेको यस बर्षको शोले नवीनतम प्रविधि, ग्राहकको संलग्नता र अटो क्षेत्रको महत्वपूर्ण परिस्थितिको तन्त्रलाई एकै छानामुनी ल्याउने पनि आयोजकको भनाई छ ।
नाडा अटो शोमा स्वचालन र बुद्धिमत्ताको नयाँ युगको प्रतिकस्वरुप उन्नत चारपाङ्ग्रे रोबोट्सहरु , भविष्यको शहरी हवाई मोबिलिटीको पहिलो झलक दिपल ईभीटोल युएभी जस्ता विशेष प्रविधिहरु प्रस्तुत गरिने भएको छ । यसका साथै १९ चार पाङ्ग्रे ब्राण्डहरु, १३ वटा हल्का व्यावसायिक सवारी साधन ब्राण्डहरु, ४ वटा दुई पाङ्ग्रे सवारी ब्राण्डहरु, लुब्रिकेन्ट्स, टायर, ब्याट्री, ग्यारेज उपकरण र वित्तीय संस्थाहरु गरी ३५ कम्पनीहरु, १२५ भन्दा बढी प्रदर्शकहरु अटो शोमा प्रस्तुत हुने पत्रकार सम्मेलनमा जानकारी दिइयो । नाडा अटो शोमा एक लाखभन्दा बढी आगन्तुकहरु आउने अपेक्षा पनि आयोजकले गरेको छ ।









Facebook Comments