काठमाडौं । सरकारले गत आर्थिक वर्ष २०८१/८२ मा राष्ट्रिय गौरवका आयोजनाका लागि विनियोजन गरिएको रकममध्ये जम्मा ७२ प्रतिशत मात्रै खर्च गरेको छ । महालेखा नियन्त्रक कार्यालय अनुसार गत आर्थिक वर्षमा गौरवका आयोजनामा ४४ अर्ब ७२ करोड रुपैयाँ खर्च भएको छ । आयोजना लागि सरकारले ६० अर्ब ७५ करोड रुपैयाँ विनियोजन गरेको थियो ।

सरकारले १८ वटा राष्ट्रिय गौरवका आयोजनाका लागि गत आवमा चालु तर्फ दुई अर्ब ७७ करोड रुपैयाँ विनियोजन गरेको थियो । पुँजीगत तर्फ ५७ अर्ब ७१ करोड र वित्तिय व्यवस्थाका लागि २६ करोड ५२ लाख रुपैयाँ विनियोजन गरिएको थियो । जसमध्ये चालुतर्फ दुई अर्ब तीन करोड रुपैयाँ खर्च भएको छ । सरकारले विनियोजन गरेको रकमको करिब ७३ प्रतिशत खर्च भएको छ । पुँजीगत तर्फ ४२ अर्ब तीन करोड रुपैयाँ खर्च भएको छ । यो रकम विनियोजन रकमको ७२ प्रतिशत हो ।

ad

आयोजनामध्ये पशुपति क्षेत्र विकास कोषको र लुम्बिनी विकास कोषका लागि विनियोजन गरिएको बजेटमध्ये सतप्रतिशत खर्च भएको छ । पशुपति क्षेत्र विकास कोषका लागि सरकारले गत आवमा २१ करोड विनियोजन गरेको थियो । लुम्बिनी विकास कोषका लागि ४५ करोड रुपैयाँ विनियोजन गरेको थियो ।

तर, पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल र निजगढ अन्तराष्ट्रिय विमानस्थलको खर्च शून्य छ । गत आवमा पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलका लागि सरकारले एक करोड र निजगढका लागि २५ करोड ५२ लाख रुपैयाँ विनियोजन गरेको थियो ।

बबई सिंचाई आयोजनामा ९९ं.७ प्रतिशत खर्च भएको छ । यस आयोजनाका गत आवमा सरकारले चालु तर्फ तीन करोड ५६ लाख र पुँजीगत तर्फ दुई अर्ब ३४ करोड रुपैयाँ विनियोजन गरेको थियो । जसमध्ये दुई करोड ९९ लाख चालु खर्च भएको छ भने पुँजीगत तर्फ दुई अर्ब ३४ करोड नै खर्च भएको छ । ७१ लाख रुपैयाँ खर्च हुन बाकी रहेको महालेखाको तथ्यांकमा उल्लेख छ ।

हुलाकी राजमार्गको ९७.२५ प्रतिशत खर्च भएको छ । राजमार्गका लागि गत आवका सरकारले चालु तर्फ नौ करोड ५५ लाख र पुँजीगत तर्फ सात अर्ब १६ करोड रुपैयाँ विनियोजन गरेको थियो । जसमध्ये गत आवमा चालु खर्च आठ करोड ७४ लाख भएको छ भने पुँजीगत खर्च ६ खर्ब ९७ करोड खर्च भएको छ ।

उत्तर दक्षिण राजमार्ग लागि विनियोजन गरिएको बजेट पनि ९६.६२ प्रतिशत खर्च भएको छ । सो आयोजना लागि सरकारले पाँच अर्ब ३९ करोड रुपैयाँ विनियोजन गरेको थियो । पुष्पलाल राजमार्ग (मध्य पहाडी राजमार्ग) का लागि विनियोजन गरिएको रकममध्ये ९५.३ प्रतिशत खर्च भएको छ । सो आयोजनाका लागि सरकारले तीन अर्ब ४२ करोड रुपैयाँ विनियोजन गरेको थियो ।

महाकाली सिंचाई आयोजना (कञ्चनपुर) का लागि सरकारले गत आवमा एक अर्ब ६७ करोड रुपैयाँ विनियोजन गरेको थियो । विनियोजन गरेको रकममध्ये ९३ प्रतिशत खर्च भएको छ । सिक्टा सिचाई आयोजना लागि विनियोजन गरेको रकममध्ये ८९ प्रतिशत खर्च भएको छ । सो आयोजना लागि सरकारले एक अर्ब ६० करोड रुपैयाँ विनियोजन गरेको थियो ।

रानी जमरा सिचाई आयोजनाका लागि सरकारले दुई अर्ब ३७ करोड विनियोजन गरिएकोमा एक अर्ब ५५ करोड रुपैयाँ मात्रै खर्च भएको महालेखाको तथ्यांक छ ।

सुनकोशी ड्राइभर्सनको खर्च ७३ प्रतिशत छ भने मेलम्ची आयोजनाका लागि विनियोजन गरिएको रकमको ६० प्रतिशत मात्रै खर्च भएको छ । गत आव सुनकोशी ड्राइभर्सनका लागि सरकारले एक अर्ब ६४ करोड रुपैयाँ विनियोजन गरेको थियो भने मेलम्ची खानेपानी आयोजनाका लागि ५२ करोड ८६ लाख रुपैयाँ विनियोजन गरेको थियो ।

राष्ट्रपति चुरे संरक्षण कार्यक्रमका लागि सरकारले एक अर्ब पाँच करोड रुपैयाँ विनियोजन गरिएकोमा ९१ करोड २४ लाख रुपैयाँ खर्च भएको तथ्यांक छ ।