भक्तपुर । नेपाली कांग्रेस सूर्यविनायक नगरपालिकाको तेस्रो सम्मेलन उद्घाटन गर्दै प्रमुख अतिथि सहमहामन्त्री जीवन परियारले भक्तपुर क्षेत्र नम्बर २ बाट निर्वाचित भक्तपुर कांग्रेसका सभापति दुर्लभ थापा अबको मन्त्रिमण्डल पुनर्गठनमा मन्त्री बन्ने ठोकुवा गरे, त्यसका लागि आफू पनि मरिहत्ते गरेर लाग्ने बताए । उनले नगर समितिको सम्मेलनले विधान संशोधनको लागि सुझाव लगायत नगर भित्रका पार्टीका समस्याहरू समेत विश्लेषण गरेर क्षेत्र, जिल्ला हुँदै केन्द्रमा सुझाव पेस गर्नसमेत सल्लाह दिए । कांग्रेसको महाधिवेशन ०८३ मंसिरभित्रै सम्पन्न हुने र अबको चुनावहरूमा सबै निकायमा कांग्रेस एक्लै लड्नेसमेत दाबी गरे ।

कुलिङ पिरियडको गडबडी छानबिनका लागि बनेको संसदीय समितिका सभापतिसमेत रहेका परियारले त्यसको समाधानको बारेमा भने स्पष्ट बताएनन् । उक्त कार्यक्रममा विशिष्ट अतिथि नेपाली कांग्रेस भक्तपुरका सभापति एवं संघीय सांसद दुर्लभ थापाले आफू पहिलोपटक सभापति हुँदा अनुभव र परिपक्वताको कमीले गर्दा सबैलाई मिलाउन नसक्दा र केन्द्रबाट उम्मेदवार लाद्दा भक्तपुर कांग्रेसको संगठन छिन्नभिन्न भए पनि दोस्रोपटक सभापति बनेपछि संघीय सांसद् प्रदेश सांसद २ वटा नगरपालिका र भक्तपुरका ३८ वडा मध्ये १५ वटा जिताउन सफल भएको बताए । यसमा अग्रज नेतागण र सबै साथीहरूको सहयोग रहेको पनि नहिच्किचाईकन बताए ।

ad

नगरसभापति निशान ढुंगेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा पूर्वसभापतिद्वय गणेशमान चक्रधर, महेश श्रेष्ठ, तरुणदल पूर्वअध्यक्ष विनोद कायस्थ, क्षेत्रीय सभापतिद्वय जीवन खत्री र भेषबहादुर कार्की, जिल्ला नेता कबिर राणा, पूर्व प्रदेशमन्त्री कृष्णलाल भँडेल, महासमिति सदस्य विष्णुराज कार्की, प्रदेशसभापति प्रदीप कार्की, भक्तपुर नगरसभापति राजेन्द्र तमखुलगायतले सम्मेलनको सफलताको शुभकामना व्यक्त गरेका थिए । उपसभापति रमेश अधिकारीले स्वागत भाषण गरेको कार्यक्रम सचिव विश्वराम थापाले सञ्चालन गरेका थिए ।

००