काठमाडौं । तत्कालीन नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओलीबाट पेलिएपछि एकीकृत समाजवादी पार्टी गठन गर्दासँगै रहेका दुई पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र झलनाथ खनालबीच अहिले विवाद बढ्दै गएको छ । एकीकृत समाजवादीका अध्यक्ष नेपाल र सम्मानित नेता खनालबीच पछिल्लो समय वाकयुद्ध नै चलेपछि कार्यकर्ताहरू पनि अन्योलमा परेको बुझिएको छ । सम्मानित नेता खनालको हालैको टेलिभिजन अन्तर्वार्ता र त्यसको जवाफमा नेपालको चर्को प्रतिक्रियाले पार्टीभित्र गम्भीर मतभेद रहेको प्रष्ट हुने राजनीतिक विश्लेषकहरू बताउँछन् ।

इमेज टेलिभिजनमा दिएको अन्तर्वार्तामा खनालले नेकपा एमाले विभाजन गरेर एकीकृत समाजवादी गठन गर्नु गलत भएको स्वीकार गरेका थिए । ‘जतिबेला यो पार्टी विग्रह वा विभाजन गरियो, त्यो नै गलत रहेछ भन्ने ठाउँमा पुग्दै छु म,’ खनालले भनेका थिए, ‘एमालेमा जुन विद्रोह गरियो, त्यो विद्रोह पुष्टि नै भएन ।’ पार्टी नेतृत्वप्रति कडा असन्तुष्टि व्यक्त गर्दै संस्थागत र सैद्धान्तिक कमजोरीहरू पनि औँल्याएका थिए । समाजवादी मोर्चाको गतिविधि, माओवादीसँग एकताको चर्चा र वामदेव गौतमलाई पार्टीमा भित्र्याउने प्रक्रियालाई उनले नेतृत्वको असफलताको उदाहरणका रूपमा प्रस्तुत गरे ।

ad

खनालले पार्टीको महाधिवेशन भएको १३ महिनासम्म पनि नीति र कार्यक्रम स्पष्ट नभएको भन्दै नेतृत्वको कार्यशैलीमाथि प्रश्न उठाए । उनले पतञ्जली जग्गा प्रकरणमा समेत नेपाललाई नैतिकताको आधारमा नेतृत्व छोड्न संकेत गरेका छन् । ‘वैचारिक, राजनीतिक, सैद्धान्तिक र सांगठानिक रूपले पुनर्गठन जरुरी छ,’ खनालको भनाइ छ ।

खनालको अभिव्यक्तिको जवाफमा अध्यक्ष नेपालले विराटनगरमा पत्रकारहरूसँग कुरा गर्दै चर्को भाषामा प्रतिक्रिया जनाए । उनले खनाललाई पार्टीबाट बिदा हुन सुझाव दिँदै भने, ‘अचेल त एआईको जमाना छ, बोल्दै नबोलेको कुरा पनि आइदिन्छ । यदि बोलेको हो भने यो पार्टीमा बस्ने ठाउँ नै रहेन । खुरुक्क राजीनामा दिएर बिदा भएर जानुपर्छ ।’ नेपालले खनाललाई संस्थागत निर्णय उल्लंघन गर्ने ‘नम्बर वान’ नेता भएको आरोप लगाए ।
नेपालको यो अभिव्यक्तिलाई खनालले ‘तानाशाही’ को संज्ञा दिए । ‘पार्टी नेतृत्वले यस्तो भाषा बोल्नुहुँदैन । चित्त नबुझे बैठकमा छलफल गर्न सकिन्थ्यो, तर सार्वजनिक रूपमा आदेश दिनु तानाशाही हो,’ खनालको पछिल्लो प्रतिक्रिया रहेको छ ।

नेपाल र खनालबीचको यो टकराव नयाँ होइन । पार्टी गठनको सुरुदेखि नै यी दुई नेताको अडान फरक छ । खनालले पुँजीवादी–जनवादी क्रान्ति २०६३ मा सम्पन्न भएको भन्दै वैज्ञानिक समाजवादको दिशामा अघि बढ्नुपर्ने तर्क गर्छन् । उनी एमालेसँगको एकताको पक्षमा देखिन्छन्, विशेषगरी २०७९ को आमचुनावपछि उनको एमालेप्रतिको रुझान बढेको छ ।

यता, नेपाल भने जनताको बहुदलीय जनवाद (जबज)लाई अंगीकार गर्दै माओवादी केन्द्रसँग नजिक छन् । माओवादीसँग एकताको चर्चा र समाजवादी मोर्चाको गतिविधिमा नेपालको सक्रियता छ, तर खनालले यस्ता कदमप्रति असहमति जनाउँदै आएका छन् । गत १३ साउनको समाजवादी मोर्चाको बैठकमा आफूलाई सहभागी नगराई वामदेव गौतमलाई राखिएको घटनाले पनि खनाल रुस्ट देखिएका छन् ।