काठमाडौं । ऊर्जावान् समय नेकपा एमाले र त्यसपछि माले अनि फेरि नेकपा एमाले बनेका नेता वामदेव गौतम नेकपाको एकता प्रक्रिया भंग भएपछि घर न घाटका बनेका थिए । माओवादी र एमाले मिलेर बनेको नेकपामा राम्रै हैसियत पाएका वामदेव गौतम एकता भंग हुनुअघिसम्म प्रचण्ड र माधव नेपालसँग मिलेर केपी ओलीविरुद्ध लागेका थिए । तर, एमाले र माओवादीको एकता प्रक्रिया भंग भएपछि कतै नलागेर ‘नेकपा एकता राष्ट्रिय अभियान’को दोकान थापेका थिए ।

दोकान चल्ने अवस्था नदेखेपछि कहिले एमाले त कहिले माधव नेपालको एकीकृत समाजवादीमा जाने भनेर अन्तर्वार्ता दिँदै हिँडे । सुरुमा माधव नेपालको एकीकृत समाजवादीमा जाने ठिक्क परेका उनलाई नेकपा एमालेका अध्यक्ष केपी ओलीले ललिपप देखाएपछि त्यहाँ जान रोकिए ।

ad

त्यसपछि छटपटिएका वामदेव अन्ततः साउन २ गते एकीकृत समाजवादीको वरिष्ठ नेता बन्दै पार्टी प्रवेश गरे । तर, २ साता बित्न नपाउँदै गौतमले पछुतो व्यक्त गरेका छन् । गौतमले आफूलाई अपेक्षित जिम्मेवारी नदिएको भन्दै पार्टी नेतृत्वप्रति असन्तुष्टि जनाएका छन् । नेकपा एकता राष्ट्रिय अभियानलाई एकीकृत समाजवादीमा समाहित गरेर पार्टीमा प्रवेश गरेका गौतमले संगठन विभागको नेतृत्व मागेका थिए, तर पार्टी अध्यक्ष नेपालले उक्त जिम्मेवारी दिन अस्वीकार गरेपछि विवाद सतहमा आएको हो ।

गत असार २७ मा नेकपा एकीकृत समाजवादी र गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानबीच एकता भएको थियो । दुवै पक्षले राजनीतिक दर्शन, सिद्धान्त, र कार्यदिशामा एकरूपता रहेको भन्दै एकता घोषणा गरेका थिए । साउन २ गते काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित विशेष समारोहमा एकताको औपचारिक घोषणा भएको थियो । तर, एकता भएको एक छोटो समयमै गौतम र पार्टी नेतृत्वबीच मतभेद देखिएको छ ।

गौतमले पार्टीको संगठन विभागको जिम्मेवारी मागेका थिए । उनले संगठन विभागको नेतृत्व पाएमा २०८४ को निर्वाचनमा एकीकृत समाजवादीलाई एकल बहुमतको शक्ति बनाउन सकिने दाबी गरेका थिए । तर, पार्टी अध्यक्ष माधवकुमार नेपाल र अन्य नेताहरूले गौतमलाई यति छिट्टै यस्तो महत्वपूर्ण जिम्मेवारी दिन नहुने अडान लिएका छन् ।

पार्टीका उपाध्यक्ष बेदुराम भुसालले गौतमको मागलाई अस्वीकार गर्दै भने, ‘भर्खरै पार्टीमा प्रवेश गर्नुभएका कमरेडलाई तत्काल संगठन विभागजस्तो महत्वपूर्ण जिम्मेवारी कसरी दिन सकिन्छ ? उहाँले पहिले पार्टी संगठन र कार्यकर्तालाई बुझ्नुपर्छ ।’ यस्तो भनाइले गौतम थप असन्तुष्ट बनेका छन् । सामाजिक सञ्जालमा गौतमले व्यक्त गरेको असन्तुष्टिमा उनले भनेका छन्, ‘मलाई संगठन विभाग नदिए के गरौँ–गरौँ भएको छ । भर्खर आएको पार्टी छोड्न पनि भएन । माओवादीमा गएको भए उनीहरूले उत्साहका साथ जिम्मेवारी दिन्थे ।’

गौतम लामो समयदेखि नेपालको कम्युनिष्ट आन्दोलनमा सक्रिय छन् । उनले नेकपा (एमाले)को उपाध्यक्ष पदबाट २०७८ भदौ १८ मा राजीनामा दिएर नेकपा एकता राष्ट्रिय अभियान गठन गरेका थिए । एमाले र माओवादी केन्द्रसहित विभिन्न कम्युनिष्ट पार्टीहरूलाई एकीकरण गर्ने उद्देश्य बोकेको यो अभियानले खासै गति लिन सकेन ।