काठमाडौं । नेपाली कांग्रेस वागमती प्रदेश संसदीय दलको नेतामा पराजित भएका वागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले आज राजीनामा दिने तयारी गरेका छन् । लामा आज हेटौँडा पुगी पत्रकार सम्मेलन गरी प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाउने तयारीमा छन् । संसदीय दलको नेतामा हारे पनि मुख्यमन्त्रीबाट राजीनामा नदिने अडानमा रहेका लामालाई बिहीबार बेलुका कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नै निवास बुढानीलकण्ठमा बोलाएर राजीनामा दिई मार्गप्रशस्त गर्न निर्देशन दिएपछि केही सर्त अगाडि सार्दै उनी राजीनामा गर्न तयार भएका हुन् । तर प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा अस्वस्थ भई बिहीबारदेखि काठमाडौंस्थित ग्राण्डी अस्पतालमा भर्ना भएर उपचार गराइरहेका कारण राजीनामा केही दिन पर सरेको हो ।

दलको नेता तामाङविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएपछि कांग्रेसका ३७ सांसदमध्ये २२ सांसदले अविश्वास प्रस्तावको पक्षमा मत दिएपछि तामाङ ससदीय दलको नेता पदबाट मुक्त भएका हुन् । बुधबार संसदीय दलको नेतामा कांग्रेसकै सांसद इन्द्रबहादुर बानियाँ निर्वाचित भएका थिए ।

ad

मुख्यमन्त्री लामाले सभापति देउवासमक्ष राखेका सर्त पूरा हुन्छ/हुँदैन त्यसका लागि केही दिन पर्खनुपर्ने भएको छ । लामाले आफूले बुधबार मात्र नियुक्ति गरेका तीन मन्त्रीलाई नयाँ बन्ने प्रदेश सरकारमा पनि लैजानुपर्ने र अब बन्ने मुख्यमन्त्री बानियाँले आफूसँग सल्लाह गरेर मात्रै निर्णय गर्नुपर्ने सर्त देउवासमक्ष राखेको उनी निकट नेताहरूले बताएका छन् । सभापति देउवाले पनि बानियाँलाई लामाले भनेअनुसार काम गर्न निर्देशन दिएको बताइएको छ । हिजो पनि देउवाले लामा, बानियाँलाई सँगै राखेर लामाले भनेअनुसार काम गर्न बानियाँलाई निर्देशन दिएको समाचारस्रोतले जनाएको छ ।

वागमती प्रदेशमा हाल संघमा जस्तै नेपाली कांग्रेस र एमाले गठबन्धनबाट सरकार बनेको छ । वागमतीमा कांग्रेस र एमालेले २०/२० महिना सरकार चलाउने सहमति दुई दलबीच भएको छ । यसअघि कांग्रेसका तर्फबाट लामाले १२ महिना सरकारको नेतृत्व गरिसकेकाले अब कांग्रेसबाटै मुख्यमन्त्री बन्न लागेका बानियाँले ८ महिना मात्र प्रदेश सरकारको नेतृत्व गर्न पाउने र त्यसपछि एमालेले प्रदेश सरकारको नेतृत्व गर्ने बताइएको छ ।