
काठमाडौं । पार्टी अध्यक्ष प्रचण्डको कार्यशैलीमा उपमहासचिव जनार्दन शर्माले प्रश्न उठाएपछि प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रभित्रको अन्तरविरोध दुई नेताबीच मात्रै सीमित नभएर पार्टी केन्द्रीय नेतादेखि पार्टीको जनवर्गीय मोर्चासम्म नै पुगेपछि विवाद उत्कर्षमा पुगेको छ ।
टुटफुट र छिन्नभिन्नले गतिलो झापड भेटेका पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको पार्टी नेकपा माओवादी केन्द्रमा पुनः हलचल मच्चिएको छ । प्रचण्ड–जनार्दनबीच एक वर्षअघि विवाद चुलिएको थियो । त्यतिबेला जनार्दनलाई प्रचण्डले थामथुम पार्ने काम गरे । तर प्रचण्डको पुरानै रवैया कायमै रहेपछि नेतृत्वकै विरोधमा उत्रिएका हुन् जनार्दन शर्मा प्रभाकर । शर्माको यो टकरावले माओवादी केन्द्रमा यतिबेला उकुसमुकुसको परिस्थिति सिर्जना भएको छ । शर्माले प्रचण्ड ब्रान्डको खुलेरै आलोचनामा उत्रिएपछि तीन दशकयता पार्टीको मूल नेतृत्वमा रहेका प्रचण्डले दबाब तथा असहज महसुस गरिरहेका छन् ।
दुवै नेताले एकले अर्कोविरुद्ध खुला रूपमा आरोप–प्रत्यारोप लगाउन थालेका छन् । जसले समग्र पार्टीलाई नै विभाजित बनाउँदै लगेको छ । उपमहासचिव शर्माले लगातार अध्यक्ष प्रचण्डको कार्यशैलीमाथि प्रश्न उठाइरहेका छन् । उनले ‘एउटै व्यक्तिले तीन दशकभन्दा बढी समयसम्म नेतृत्वमा रहँदा माओवादी पार्टी सकिने अवस्थामा पुगेको’ टिप्पणी गरिरहेका छन् । उनले पार्टीभित्र नेतृत्व हस्तान्तरणको विकल्प नभएको बताइरहेका छन् ।
शर्माले पनि हालै एक सार्वजनिक मञ्चबाट प्रचण्डलाई लक्षित गरी भ्रष्टाचारीको समेत आरोप लगाए ।
उनले प्रचण्ड पनि भ्रष्टाचारबाट अछुतो रहन नसकेको टिप्पणी गरे । ‘प्रधानमन्त्रीले भ्रष्टाचार नगर्ने र गर्न नदिने हो भने आधा भ्रष्टाचार त्यसै घट्छ, तर त्यस्तो संकल्प हाम्रो नेतृत्वमा देखिएन’ साउन ६ गते राष्ट्रिय सभागृहमा ४७औँ पुष्पलाल स्मृति दिवसका सन्दर्भमा आयोजित कार्यक्रममा बोल्दै उपमहासचिव शर्माले भनेका थिए, ‘दुःखका साथ भन्नुपर्छ मनमोहन अधिकारीबाहेक अरू कम्युनिस्ट नेताले असुली धन्दा गरैकै छन्, यो ठहर भएकै छ । यो आरोप होइन, यथार्थ हो ।’
जुन अभिव्यक्तिपछि माओवादीभित्र तीव्र विवाद छ । शर्मा र प्रचण्ड पक्ष एक–अर्काविरुद्ध उछितो काढ्दै अघि आएका छन् । आफू लक्षित गम्भीर आरोपपछि प्रचण्डले पनि शर्मालाई लक्षित गरी प्रतिक्रियावादीको उक्साहटमा पार्टी विभाजनको खेलमा लागेको आरोप लगाएका छन् ।
१० साउनमा माओवादी गुल्मी–काठमाडौंं सम्पर्क मञ्चको पाँचौँ अधिवेशनलाई सम्बोधन गर्दै प्रचण्डले भनेका छन्, ‘पार्टीलाई फेरि एकपटक घेरा हाल्ने र सखाप पार्ने प्रयास भइरहेको छ । त्यसबाट केही साथी भ्रमित भएका छन् । प्रतिक्रियावादीहरूले केही व्यक्तिलाई उचालेर, लगानीसमेत गरेर आन्दोलनविरुद्ध भ्रम फैलाउने काम अहिले भइरहेको छ ।’
प्रचण्डको अभिव्यक्तिपछि शर्माले विशेष महाधिवेशनको माग गरेका छन् । उनले पार्टी फुट्छ भन्ने हल्ला नेतृत्वकै तर्फबाट फैलाइएको भन्दै त्यसले कार्यकर्ता र जनतामा भ्रम पैदा गरिरहेको आरोप लगाएका छन् ।
‘विगत दुई वर्षदेखि माथिल्लो तहबाटै लगातार पार्टी फुट्छ भन्ने गरिएको प्रचारलाई यतिबेला थप मलजल गर्दै पार्टी कार्यकर्ता र जनतामा भ्रमको खेती गर्नेहरूप्रति सचेत हुन आग्रह गर्दछु,’ प्रचण्ड अभिव्यक्तिपछि शर्माले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै भनेका छन्, ‘विशेष महाधिवेशनले पार्टीभित्रको वैचारिक अस्पष्टता, राजनैतिक अन्यौलता, सांगठनिक अराजकता, विधि विहीनता, सहित नयाँ पुस्ताको भावना र सपना सम्बोधन गर्ने कार्य योजना तयार पार्न पार्टीको पुनर्गठन गर्नेछ ।’
पार्टीभित्रको यो अन्तर्विरोध माओवादी केन्द्रभित्रको संरचना, अनुशासन र नेतृत्वप्रति गहिरो असन्तुष्टि झल्काउँछ । विशेष महाधिवेशनको माग २०७८ को महाधिवेशनपछिदेखि नै उठ्दै आए पनि अध्यक्ष प्रचण्डले अझैसम्म त्यसमा कुनै ठोस निर्णय लिएका थिएनन् ।
गत बुधबार बसेको पदाधिकारी बैठकले स्थायी समितिको एजेन्डा तय गरेको थियो । जसमा पार्टीभित्रको एकता, समाजवादी मोर्चा, पार्टी अभियानलगायतका एजेन्डा परेका छन् । यद्यपि, चरम विवादका बीच सुरु हुन लागेको स्थायी समितिले उठेका विवादलाई निरूपण गर्ला वा नगर्ला यकिनपूर्वक भन्ने अवस्था छैन ।
अहिले केन्द्र, प्रदेश र स्थानीय तहमा नेता तथा कार्यकर्ता पंक्तिसम्म नै गुटगत बहस चर्किएको छ । भ्रातृसंगठनका नेताहरू समेत कित्ताकाँट गर्न र आफ्ना नेताको रक्षामा उत्रिएका छन् । दुवै पक्ष आरोप प्रत्यारोपमा उत्रिँदा माओवादी भित्रको कलह छरपष्ट मात्रै भएको छैन, पार्टी फुटको चर्चा समेत भइरहेको छ ।
विवादले सर्वत्र स्थान पाएका बेला उपमहासचिव शर्माले सामाजिक सञ्जालमार्फत कार्यकर्तालाई सम्हालिन र अध्ययन गर्न आह्वान गरेका छन् । अर्का नेता सुदन किरातीले पनि प्रचण्डविरुद्ध आक्रोश पोखेका छन् । चाकडी र चाप्लुसी प्रवृत्ति अन्त्य गर्नुपर्ने किराँतीको विश्लेषण छ ।
यता प्रचण्डको रक्षार्थ अर्का उपमहासचिव वर्षमान पुन उभिएका छन् । राजनीतिक वृत्तमा माओवादी पुनः फुट्न लागेको चर्चा चलिरहँदा प्रचण्डले माधव नेपालसँग एकताको कार्ड फ्याँकेका छन् ।
पार्टी भित्रको अन्तरसंघर्षमा कुनै न कुनै नेतालाई काखी च्यापेर शक्ति सन्तुलनमा राख्ने माओवादी अध्यक्ष प्रचण्ड विगतदेखि प्रवृत्ति हो । बाबुरामलाई ठीक पार्न मोहन वैद्य र वैद्यलाई ठीक पार्न भट्टराईलाई बोक्ने काम प्रचण्डले जनयुद्धदेखि नै गर्थे । पछिल्लोपटक महासचिव पदमा वर्षमान र जनार्दनको लडाइँमा देव गुरुङलाई महासचिव बनाए ।
अहिले पनि प्रचण्डको ध्यान उही शैलीको शक्ति सन्तुलनमा छ । फलस्वरूप नेकपा एकीकृत समाजवादीसँग तत्काल पार्टी एकता गर्ने उनको ध्याउन्न छ । एमालेबाट टुक्रिएर बनेको नेकपा एसका अध्यक्ष माधव नेपालसँग प्रचण्डले भेटवार्ता बाक्लिएको छ । आइतबारयता तारान्तार प्रचण्ड–माधवको भेटले पार्टी एकतामा गम्भीर छलफल भएको बुझिन्छ ।
नेकपा एसले साउन २ गते वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानसँग एकता गरेको थियो । माओवादीले यसअघि नेपाल समाजवादी पार्टीसँग एकता गरेको थियो भने महेन्द्र राय नेतृत्वको समूहसँगको एकता अन्तिम चरणमा पुगेको छ ।
माओवादी अध्यक्ष प्रचण्डले नेत्रविक्रम चन्द विप्लवसंग समेत पार्टी एकताको बहस नचलेको होइन । प्रचण्डले दिएको पार्टी एकताको आश्वासनले गर्दा नै ८४ को चुनावमा जाने निर्णय गरिसकेका विप्लवलाई एकतामा ल्याउन प्रचण्डले नै रोकिरहेका छन् । एकता हुने छाँट नदेखिएपछि विप्लवले पनि जनार्दन समूहसँगको छलफल अघि बढाएका छन् । विप्लवका प्रवक्ता खड्गबहादुर विश्वकर्माले पनि तत्काल एकताको कुनै वातावरण नबनेको स्वीकार गरे ।
चार दल सम्मिलित नेपाल समाजवादी मोर्चा निष्क्रिय जस्तै बनेको छ । नेपालमा समाजवाद स्थापनाको उद्देश्यसहित अघिल्लो वर्ष असार ४ मा गठन भएको मोर्चा गति र दिशाविहीन बनेको देखिन्छ । गत वर्ष चैत १५ मा राजावादीहरूको कार्यक्रमलाई निस्तेज पार्न मोर्चाले काठमाडौंमा शक्ति प्रदर्शन गरेको थियो । राजावादी आन्दोलन तुहिएपछि मोर्चा पनि औपचारिकतामा मात्रै सीमित भएको छ । मोर्चा सेलाएपछि यसका वर्तमान संया्जक विप्लवले मोर्चाबाट बाहिरिने संकेत गरेपछि प्रचण्ड झस्किएका थिए ।
परिणाम स्वरूप मंगलबार नेकपा एसको केन्द्रीय कार्यालय आलोकनगरमा मोर्चाको बैठक बसेर छलफल भएको थियो । नयाँ रणनीति सहित अघि बढ्ने बारे घनीभूत छलफल भएको नेताहरूले दाबी गरेका छन् ।
१० वर्षे सशस्त्र द्वन्द्वको अन्त्य गर्दै शान्तिपूर्ण राजनीतिमा फर्किएको माओवादीले २०६४ को संविधानसभा चुनावमा झन्डै दुईतिहाइ जनमतसहित एकल सरकारको नेतृत्व गर्ने अवसर पायो । तर त्यो धेरै लामो समय टिक्न सकेन । गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री बनेका प्रचण्ड पार्टी एकतालाई जोगाउन सकेनन् ।
त्यसपछि माओवादी छिन्नभिन्न भयो । अहिलेसम्म आइपुग्दा माओवादी विभिन्न टुक्रामा विभाजित छ । विभाजनकै असरका कारण माओवादी त्यसयताका चुनावमा तेस्रो शक्तिमा खुम्चिँदै आएको छ । कांग्रेस एमालेसँग विगतमा भएको गठबन्धनजस्तो आगामी निर्वाचनको सम्भावना कम भएकाले आगामी निर्वाचनसम्म प्रचण्डले कस्तो कार्ड प्रयोग गर्छन्, प्रतीक्षाको विषय बनेको छ ।









Facebook Comments