
काठमाडौं । मिडिया काउन्सिल विधेयकका बारेमा बहस जारी रहेकै अवस्थामा काउन्सिललाई स्वतन्त्र र स्वायत्त निकायको रूपमा नराखिएको भन्दै सञ्चारक्षेत्रसँग आबद्ध संगठनहरूले विरोध गरेपछि उक्त विधेयक फेरि विवादमा परेको छ । राष्ट्रिय सभामा उत्पत्ति भई माथिल्लो सदनबाट गत माघ २८ गते पारित भएको यो विधेयकलाई सरकारले सञ्चारमाध्यमलाई व्यवस्थित र मर्यादित बनाउन प्रयास गरिए पनि यसका केही प्रावधानहरू प्रति सरोकारवालाले आपत्ति जनाएका छन् ।
राष्ट्रिय सभाबाट पारित भए अनुसारकै विधेयक ल्याइए त्यो कुनै पनि हालतमा मान्य नहुने सञ्चार क्षेत्रसँग आबद्ध संघसंस्थाहरूको चेतावनी छ । काउन्सिललाई सरकार मातहत नभई स्वतन्त्र निकायको रूपमा विकास गर्नुपर्ने आवाज उठिरहेको छ । विधेयकमा स्वतन्त्रता, स्पष्टता र उत्तरदायित्वका खाका नमिलेकाले प्रस्तावित केही व्यवस्थाहरूप्रति आपत्ति जनाउँदै सञ्चार क्षेत्रका विज्ञहरूले विधेयक पुनर्लेखनको माग गर्दै आएका छन् । विधेयकमा मिडिया काउन्सिलको प्रशासनिक, आर्थिक र संरचनागत स्वायत्तता सुनिश्चित गरिएको भन्दै पुनर्लेखनको माग जोडदार रूपमा उठिरहेको छ ।
विधेयकको दफा ६(२) अनुसार, काउन्सिलको अध्यक्ष र सदस्य नियुक्तिको सिफारिस गर्न मन्त्रालयका सचिवको संयोजकत्वमा सरकारले तोकेको विज्ञ र मन्त्रालयकै सहसचिव रहने तीन सदस्यीय समिति बन्ने व्यवस्था छ । विधेयकमा काउन्सिललाई सञ्चार मन्त्रालयको एउटा युनिटजस्तो बनाउन खोजिएको विज्ञहरूको भनाइ छ । यो प्रावधान काउन्सिलको स्वायत्तताविरोधी रहेको तर्क उनीहरूको छ । नेपाली कांग्रेसनिकट प्रेस युनियनले काउन्सिल अध्यक्षको नियुक्ति सचिवको सिफारिसमा नभई संसद्बाट हुनुपर्ने माग गर्दै आएको छ ।
विधेयकमा मिडिया काउन्सिललाई पत्रकारिताको प्रवद्र्धन, स्वस्थ र मर्यादित पत्रकारिताको विकास गर्ने सरकारी निकाय बनाउनुपर्नेमा सरकारको पिछलग्गु बनाउन खोजिएकोमा पत्रकारहरूको विभिन्न संगठनहरूले विधेयक पुनर्लेखनको माग गर्दै आएका हुन् ।
पत्रकारिता क्षेत्रमा पेसागत तथा व्यावसायिक आचरण कायम राख्न तथा स्वनियमलाई प्रवद्र्धन गरी स्वच्छ, स्वतन्त्र र जवाफदेही पत्रकारिताको विकास तथा संरक्षणका लागि स्वायत्त नियामक निकायका रूपमा मिडिया काउन्सिलको स्थापना र सञ्चालन सम्बन्धमा नयाँ कानुनको मस्यौदा आवश्यक रहेको विधेयकमा लेखिएको छ । यो विधेयक २०८१ वैशाख १२ मा राष्ट्रिय सभामा दर्ता भएकामा सोही वर्ष माघ २८ मा पारित भई प्रतिनिधिसभामा आएको हो ।









Facebook Comments