देशान्तर विशेष संवाददाता

काठमाडौं । सत्तालिप्सा, आफन्तको पक्षपोषण र पार्टी भित्रका विरोधीहरूलाई भित्तामा पुर्‍याउने तुच्छ राजनीतिक मानसिकताका कारण नेपालका सबै राजनीतिक दलहरूमा भाँडभैलो मच्चिएको छ, मुख्य दलहरू नेपाली कांग्रेस नेकपा एमाले मात्र होइन, भर्खरै उदाएका एकीकृत समाजवादी, रास्वपा, नाउपा, जनमतसम्म यही प्रवृत्तिको सिकार बन्दै छन् । यो प्रवृत्तिले पार्टीहरू त सकिँदै छन्, संघीय लोकतान्त्रिक गणतन्त्रको स्थायित्वमाथि पनि सबैतिरबाट आक्रमण हुन थालेको छ । त्यसैले प्रमुख दलहरूले प्रतिबद्धता जनाएको निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्ने टड्कारो महसुस भएको छ । तर, संविधान संशोधनको मुख्य एजेन्डा बनाएर बनेको संसद्का प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा एमालेले यो गम्भीर विषयमा ध्यान पुर्‍याउन नसकेको राजनीतिक विश्लेषकहरूको भनाइ छ ।

ad

नेपाली कांग्रेस, देशको सबैभन्दा ठूलो र पुरानो लोकतान्त्रिक दल, पछिल्लो समय सभापति शेरबहादुर देउवा र डा. शेखर कोइरालाबीचको गुटगत टकरावले रन्थनिएको छ । गत असार २८ गते १८ जना नेता–कार्यकर्तामाथि अनुशासनको डन्डा चलाएपछि कोइराला पक्षले यसलाई ‘पूर्वाग्रही र एकलौटी’ भन्दै तीव्र विरोध जनाएको छ । कोइरालाले देउवाको कदमविरुद्ध भेला नै आयोजना गरेर पार्टीभित्रको असन्तुष्टिलाई सतहमा ल्याएका छन् ।

संस्थापन इतरभन्दा पनि देउवा अहिले आसन्न महाधिवेशनको विषयलाई लिएर आफ्नै गुटमा पनि सहमति जुटाउन नसक्ने अवस्थामा पुगेका छन् । पछिल्लो समय उनीनिकट बहादुर सिंह लामा बागमती प्रदेशको मुख्यमन्त्रीलाई संसदीय दलबाट हटाएर इन्द्र बानियालाई बनाइएको छ । उनी मुख्यमन्त्री बन्नकै लागि तयारी अवस्थामा रहेका छन् ।

काठमाडौंका एक कांग्रेसी कार्यकर्ता भन्छन्, ‘नेताहरूले आफ्नो गुट जोगाउनमै ध्यान दिए, जनताको मुद्दा बिर्सिए ।’
सत्ताको नेतृत्वकर्ता दल नेकपा (एमाले)मा पनि आन्तरिक कलहको आगो सल्किएको छ । अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता निष्क्रिय बनाएर उनको राजनीतिक सक्रियतामा प्रतिबन्ध लगाउने निर्णय गरेपछि पार्टीभित्र ठूलो तरंग उत्पन्न भएको छ । साउन ६ गतेको केन्द्रीय कमिटी बैठकको सर्कुलरले भण्डारीको सक्रियतामाथि अंकुश लगाएपछि उनी प्रतिवादमा उत्रिएकी छन् । भण्डारीले आफूलाई ‘माझ किराँतकी छोरी’ भन्दै ओलीविरुद्ध खुला चुनौती दिँदै मदन भण्डारी फाउन्डेसनमार्फत देश दौडाहाको तयारी गरिरहेकी छन् । एमाले स्रोतका अनुसार, उनले ओलीको ‘भण्डाफोर’ गर्ने योजना बनाएकी छन् ।

यसले एमालेको आन्तरिक एकता कमजोर बनाएको छ । एक एमाले कार्यकर्ताले भने, ‘ओलीको एकलौटी शैलीले पार्टीमा पुराना नेताहरूको अपमान भइरहेको छ ।’ माओवादी केन्द्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपमहासचिव जनार्दन शर्माबीचको टकरावले पार्टीभित्र गम्भीर संकट निम्त्याएको छ । शर्माले प्रचण्डको कार्यशैली र नेतृत्व हस्तान्तरणको मुद्दा उठाएपछि दुई नेताबीचको वाकयुद्ध चर्किएको छ । पुष्पलाल स्मृति दिवसमा शर्माले प्रचण्डलाई अप्रत्यक्ष रूपमा ‘असुली धन्दामा संलग्न’ भएको आरोप लगाएपछि प्रचण्ड पक्षधर नेताहरूले उनलाई कारबाही गर्नुपर्ने माग गरेका छन् । शुक्रबारदेखि बसेको स्थायी कमिटी बैठकमा यी मुद्दाहरूले प्राथमिकता पाएका छन् ।

माओवादीका एक नेताले भने, ‘प्रचण्ड र शर्माको लडाइँले कार्यकर्ताहरू विभाजित भएका छन् । यो अवस्थाले पार्टीको भविष्य संकटमा पर्न सक्छ ।’

नेकपा (एकीकृत समाजवादी)मा पनि आन्तरिक कलहले पार्टी विभाजनको डिलमा पुगेको छ । सम्मानित नेता झलनाथ खनालले अध्यक्ष माधवकुमार नेपालको एकलौटी शैलीको आलोचना गर्दै एमाले फुटाएकोमा पश्चाताप व्यक्त गरेपछि नेपालले खनाललाई ‘पार्टी छाड्न’ सुझाव दिए । खनालले पनि नेपाललाई ‘अक्षम’ भन्दै राजीनामा मागेका छन् । पतञ्जली जग्गा प्रकरणमा नेपालविरुद्ध अख्तियारले मुद्दा दायर गरेपछि उनलाई नेतृत्व छाड्न दबाब बढेको छ । यस्तै, वामदेव गौतमले संगठन विभागको जिम्मेवारी नपाएपछि पार्टी छाड्ने धम्की दिएका छन् ।

यो अवस्थाले एकीकृत समाजवादीको अस्तित्वमाथि नै प्रश्न उठाएको छ । एक नेताले भने, ‘पार्टी बनाउनु त गल्ती भएन, तर नेतृत्वको अहंकारले सबै बिग्रियो ।’

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा अध्यक्ष राजेन्द्र लिङ्देनको कार्यशैलीमाथि प्रश्न उठ्दा आन्तरिक कलह चर्किएको छ । लिङ्देनले अनुशासन समितिका अध्यक्ष नवराज सुवेदी, प्रवक्ता सगुन सुन्दर लावती र उपाध्यक्ष मुकुन्दश्याम गिरिलाई पदमुक्त गरेपछि महामन्त्री डा. धवलशमशेर राणा पक्षले उनलाई ‘स्वच्छाचारी’ भएको आरोप लगाएको छ ।

यो विवाद निर्वाचन आयोगसम्म पुगेको छ । राणा पक्षले लिङ्देनमाथि महाधिवेशन टार्ने षड्यन्त्र गरेको आरोप लगाएका छन् । केही नेताहरू किशोरबहादुर कार्की र सीता बस्यालले पार्टी परित्याग गरेपछि राप्रपाको आन्तरिक संकट गहिरिएको छ ।

नागरिक उन्मुक्ति पार्टी (नाउपा)मा रेशम चौधरी र उनकी पत्नी रञ्जिता श्रेष्ठबीचको मनमुटावले पार्टी फुटको संघारमा पुगेको छ । गत बुधबार रञ्जितालाई अध्यक्ष पदबाट हटाएर लालवीर चौधरीलाई अध्यक्ष बनाइएपछि विवाद चुलिएको छ । पोखराको लिची बगैँचाको जग्गा प्रकरणमा रञ्जिताको अडियो टेप बाहिरिएपछि उनको नेतृत्वमाथि प्रश्न उठेको थियो । रञ्जिताले विधानविपरीत शिव वास्तोलालाई कार्यवाहक अध्यक्ष तोकेपछि पार्टीभित्रको असन्तुष्टि सतहमा आएको हो ।

नाउपाका एक कार्यकर्ताले भने, ‘यो पारिवारिक लडाइँले पार्टीलाई ध्वस्त बनायो । जनताको मुद्दा कता हरायो ?’ सबै दलहरूमा देखिएको आन्तरिक रडाकोले मुलुकको राजनीतिक स्थिरतामाथि गम्भीर प्रश्न उठाएको छ ।