
काठमाडौं । सत्ता साझेदार दल नेकपा एमाले र नेपाली कांग्रेसबीच बागमती प्रदेशमा देखिएको पछिल्लो सत्ता समीकरणको विवादबारे आज छलफल भएको छ ।
आज दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ कांग्रेसबीचको छलफलका क्रममा एमालेका नेताहरूले बाग्मतीमा कांग्रेसमा देखिएको आन्तरिक किचलोबारे चासो राखेका थिए । सोको जवाफमा कांग्रेस नेताहरुले पार्टीको आन्तरिक बिषय भएकाले आफैं मिलाउने जवाफ दिएको कांग्रेस निकट उच्चस्रोतले जानकारी दिएको छ । एमाले नेताहरुले भने बाग्मतीमा कांग्रेसको निर्णयमा एमालेको सहयोग रहने बताएको स्रोतले जनाएको छ ।
बैठकमा एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, एमाले उपाध्यक्ष तथा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री एवं कांग्रेस नेता रमेश लेखक, प्रधानमन्त्रीका मुख्य सल्लाहकार एवं एमालेका उपमहासचिव विष्णुप्रसाद रिमाललगायतको सहभागिता रहेको थियो ।
बागमती कांग्रेस संसदीय दल नेतामा बुधबार इन्द्र बानियाँ निर्वाचित भएका छन् । मुख्यमन्त्री बहादुर सिंहलामालाई पराजित गर्दै कांग्रेस प्रदेश सभापतिसमेत रहेका सांसद बानियाँ संसदीय दल नेतामा निर्वाचित भएका हुन् । ११० सदस्यीय बागमती प्रदेश सभामा कांग्रेसका ३७ जना सांसद छन्। बुधबार संसदीय दल नेता चुनाव हुँदा बानियाँले २२ र लामाले १४ मत पाएका थिए भने एक मत बदर भएको थियो।










Facebook Comments