
काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले कांग्रेसमा अहिले संसदीय दलको नेता परिवर्तन हुने कुनै सम्भावना नरहेको बताएका छन् ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले संसदीय दलको नेता फेर्न अहिले हतार नगर्ने पनि स्पष्ट पारे । उनले पार्टीमा आन्तरिक लोकतन्त्रको बिषयमा गम्भीर प्रश्न उठेको पनि बताए । सरकारले भ्रष्टाचार नियन्त्रण, सुशासनको प्रत्याभूति जनतालाई अनुभूति गर्नेगरी काम गर्न नसकेको उनको भनाई थियो ।
कांग्रेस र एमालेबीच भएको सात बुँदे सहमतिमा एक वर्षको अवधिमा एउटा पनि बुँदा अगाडि बढ्न नसकेको पनि उनको भनाई थियो । डा. कोइरालाले राजनीति गर्ने व्यक्तिले विभिन्न दलका नेताहरुसँग भेटघाट गर्नु सामान्य प्रक्रिया भएअनुसार पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसँग आफ्नो छलफल भएको स्पष्ट पारे ।
उनले नेपालको संविधानले पूर्वराष्ट्रपति र पूर्वउपराष्ट्रपतिलाई पुनः राजनीतिमा आउन नरोकेको बताउँदै तर आफ्नो विचारमा राजनीतिमा नफर्केको राम्रो हुने धारणा राखे ।










Facebook Comments