
काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दल नेता चयनका लागि आज अपरान्ह मतदान हुँदैछ । संसदीय दल नेता चयनका लागि बागमतीका सहमहामन्त्री हरिशरण श्रेष्ठको संयोजकत्वमा निर्वाचन समिति बनेको छ । उक्त समितिले आज बिहानदेखि नै निर्वाचनको कार्यक्रम अघि बढाएको हो। आजै दिउँसो २ बजेपछि निर्वाचन हुने कार्यक्रम रहेको बताइएको छ ।
संसदीय दलको नेताका लागि बाग्मती प्रदेश सरकारका वर्तमान मुख्यमन्त्री बहादुरसिंह लामा र प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले उम्मेदवारी दर्ता गराएका छन् । लामाले मंगलबार संसदीय दल नेताको हैसियत गुमाएका थिए । बागमती प्रदेशमा कांग्रेसका ३७ जना सांसद रहेकोमा मुख्यमन्त्री लामाका पक्षमा १५ जना उभिएका छन् भने २२ जना बानियाँका पक्षमा देखिएका छन् । मंगलबार हेटौंडामा भएको संसदीय दल बैठकमा मुख्यमन्त्री लामाका पक्ष र विपक्षमा मतविभाजन गर्दा पक्षमा १५ र विपक्षमा २२ मत परेको थियो।
मुख्यमन्त्री लामाको पक्षमा उनीसहित कुन्दनराज काफ्ले, उत्तम जोशी, लक्ष्मी श्रेष्ठ, रमेश महत, हरिप्रभा खड्गी, रामकुमार पहाडी, क्षत्रबहादुर बम्जन, गीता गुरूङ, मसिना खड्का, तीर्थ लामा, रामकृष्ण चित्रकार, माया श्रेष्ठ, गोविन्द लम्साल र समिता खड्गी छन्।
भने उनको विपक्षमा ईन्द्रबहादुर बानियाँ, शिवराज अधिकारी, कञ्चनचन्द्र वादे, दीपेन्द्र श्रेष्ठ, पुकार महर्जन, विनु रायमाझी पौडेल, यमुनादेवी श्रेष्ठ, उर्मिला नेपाल केसी, शान्ता ढकाल, प्रभात तामाङ, छिरीङ्ग दोर्जे लामा, मीना पराजुली, याङ्किला शेर्पा, मीनकृष्ण महर्जन, बिमल ठकुरी, मदुकुमार श्रेष्ठ, सुरजचन्द्र लामिछाने, सुरेश श्रेष्ठ, श्रीराम लामिछाने, सुना परियार, श्याम खड्का र कृष्णबहादुर तामाङ खुलेका थिए ।
यसअघि २०७९ साल पुस १३ गते भएको संसदीय दल नेता चयनका लागि भएको निर्वाचनमा लामा र बानियाँबीच प्रतिस्पर्धा भएको थियो, त्यतिबेला बानियाँ पराजित भएका थिए ।










Facebook Comments