
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक मंगलबार ३० दशमलव ७६ अङ्कले बढेर तीन हजार दुई दशमलव ०७ विन्दुमा कायम भएको छ । नेप्से एक दशमलव ०३ प्रतिशतले बढेको हो ।
आज ३२१ कम्पनीको चार करोड १८ लाख आठ हजार ९६६ कित्ता शेयर एक लाख ५७ हजार ५२५ पटक खरिदबिक्री हुँदा रु १८ अर्ब ५२ करोड ९३ लाख २२ हजार ८८५ बराबरको कारोबार भएको छ । आजको कारोबारमा विकास बैङ्क, वित्त र व्यापार समूहको उपसूचक घटेको छभने अरू सबै समूहको उपसूचक बढेको छ ।
मुक्तिनाथ कृषि कम्पनी लिमिटेड, ट्रेड टावर लिमिटेड, सान्भी इनर्जी लिमिटेड र नेडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा भने समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर आठ दशमलव ६० प्रतिशत छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै हिमालयन डिस्टिलरी लिमिटेड रु ६४ करोड ४१ लाख ३८ हजार बराबरको शेयर खरिदबिक्री भएको छ । शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै प्रभु बैङ्क लिमिटेडको १८ लाख ५८ हजार २२३ कित्ता शेयर किनबेच भएको छ ।
नेप्से परिसूचक चार वर्षयताकै उच्च बिन्दु रहेर बजार बन्द हुँदा सेयर बजारको आकार पहिलो पटक ५० खर्ब रूपैयाँ पुगेको छ।बजार लगातार बढ्न थालेसँगै सेयर बजारको आकार (बजार पुँजीकरण) ले नयाँ रेकर्ड बनाएको हो।
बजार पुँजीकरणलाई सेयर बजारमा रहेको लगानीकर्ताहरूको सम्पत्ति समेत भनेर बुझिन्छ। सेयर मूल्यमा आउने उतारचढावको आधारमा यसमा घटबढ भने भइरहन्छ। लगानीकर्ताले सेयर बिक्री गरेर हात पार्ने रकम नै उसको वास्तविक सम्पत्ति हुन्छ।
मंगलबार नेप्से परिसूचक बजार बन्द हुँदा ३००२.०७ विन्दुमा आएको थियो। नेप्सेले एक वर्षअघिको उच्च विन्दु पार गरेको हो। २०८१ साउन ३१ मा नेप्से ३०००.८१ विन्दुमा पुगेको थियो। त्यसैले मंगलबार नेप्से करिब चार वर्षयताकै उचाइमा आइपुगेको हो। यसअघि नेप्से २०७८ भदौ १० गते ३०९४ मा बन्द भएको थियो।









Facebook Comments