
काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालको अब चार बर्षसम्म डा. उज्ज्वल चालिसेले नेतृत्व गर्ने भएका छन् ।
सोमबार बसेको मन्त्रिपरिषदको बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा अस्पतालको निमित्त कार्यकारी निर्देशक रहेका डा. चालिसेलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । चालिसे लामो समयदेखि उक्त अस्पतालमा कार्यरत थिए ।
निमित्त निर्देशकका रूपमा कार्यरत रहँदा डा. चालिसेले अस्पतालको प्रशासनिक व्यवस्थापन, प्रविधिको आधुनिकीकरण, सेवा विस्तार, तथा जनमुखी स्वास्थ्य कार्यक्रमहरूमा उल्लेखनीय काम गर्दै अस्पतालमा संस्थागत सुशासनलाई सुदृढ बनाउँदै उनले नेतृत्वमा पारदर्शिता र उत्तरदायित्वको संस्कृति विकास गरेका थिए।
डा। चालिसेको नेतृत्वमा भक्तपुर क्यान्सर अस्पतालले हालै एण्डोस्कोपी, सिस्टोस्कोपी, न्यूरो माइक्रोस्कोप र सी–आर्म जस्ता अत्याधुनिक सेवा सुरु गरेको छ। पेट, मुत्रथैली तथा मस्तिष्क ट्युमरका जटिल अवस्थाको निदान तथा उपचारमा यी सेवाले प्रभावकारी सहयोग गर्दै आएको छ ।
स्वास्थ्य सेवा सुधार, आमनागरिकको पहुँचमा गुणस्तरीय उपचार सुविधा, र सार्वजनिक–निजी सहकार्यको सुदृढीकरणमा डा. चालिसेको अग्रसरता आगामी दिनमा भक्तपुर क्यान्सर अस्पताललाई राष्ट्रियस्तरको उत्कृष्ट क्यान्सर उपचार केन्द्रको रूपमा उभ्याउने अपेक्षा गरिएको छ।







Facebook Comments