
वसन्त लोहनी
बगिरहेको एउटा लामो नदी
घाटघाटमा पानी खाएकाहरूले दिएको नामसँग क्रमबद्ध
कहिले नरोकिएको समय–प्रवाह युग चक्रको चारमा विभक्त
युग–चक्रहरूबाट बनेको कल्प
प्रत्येक कल्पको सुरुवात – नयाँ सृष्टिको बिहानीबाट
प्रत्येक कल्पको अस्त – सृष्टिको प्रलयरूपी अवसानबाट
यस्तै गन्नै नसकिने कल्पहरूको समय प्रवाहमा
आज हामी यहाँ आइपुगेका छौँ ।
प्रत्येक युगको बाँच्ने आधार हो – सद्गुण
युगको अन्त्य – त्यो आधार कमजोर भएर हुने
अर्थात् सद्गुणको अत्यधिक क्षयबाट
के हो सद्गुणको क्षय रु
त्यो हो– कपट, पाप र लोभ अत्यधिक बढ्नु
अझ भनौँ शासन पद्धति नै बन्नु ।
जब सद्गुणको क्षति अकल्पनीय रूपमा बढ्दै जान्छ
तब सद्गुणलाई बचाउन अद्वितीय शक्तिको अभ्युदय हुन्छ
यसरी नै दुई पछिको युगमा
भगवान् श्रीकृष्णको मध्यरातको जन्मलाई
रातको प्रकाश भन्ने गरिएको
त्यो युगमा ऋषि मुनिहरूले मध्यरातमा तपस्या गर्थे
रातको संगीत सुनेर
निर्जन स्थलको निस्पट्ट अन्धकारमा मध्यरातको आफ्नै संगीत
कहिले नसुनेको मान्छेको लागि त्यो भयंकर डरलाग्दो
तर ऋषिमुनिको तपस्याका लागि मोहनीलाग्दो
त्यसैले उनीहरू लिन हुन्थे त्यो संगीतसँग लयबद्ध भएर
एकोनिष्ठ समर्पणका लागि, अनि
लोक कल्याणका लागि ।
हामी पनि अहिले
युग चक्रको अन्तिम युगको प्रथम चरण छौँ
यो शताब्दीको सुरुवात मध्यरातमा भएदेखि
कति युद्धविराम मध्यरातमा भए
हाम्रो छिमेकी टुक्रिएर मध्यरातमा स्वतन्त्र भए
पर समुन्द्र पारि टुक्राइएको मुलुक जोडिएर एक भए
हाम्रै मुलुकमा मध्यरातमा नै भयो कोत पर्व
अधिकार दिने खोपाको देउता बने
अधिकार लिने राज्य सञ्चालनको सर्वोच्च बने
धेरैपछि मध्यरातमा संविधान पनि आयो
मध्यरातमा नै एउटा प्रधानमन्त्री मरे
मध्यरातमा नै अर्को प्रधानमन्त्रीले विदेशी खुफिया प्रमुख भेटे
मध्यरातमा नै संसद् भंग गरे
सँगै मर्ने सँगै बाँच्ने वाचाबीचको यो समय प्रवाहमा
मध्यरातको उज्यालो प्रदूषणमा सत्ता परिवर्तन गरे
के वैध, के अवैध
डर त्रास, लालच र चरम खुराफाती शासनमा
ओरालोमा ब्रेक फुस्किएको साइकलजस्तो भएर
सद्गुणको क्षति यति धेरै भइसक्यो
रगत धेरै गएर बचाउन नसकिएको बिरामीको जस्तो
के यो मुलुक बाँच्न सक्छ यसरी रु
युग समाप्ति कहिले होला
नयाँ सृष्टिको बिहानी कहिले आउला
त्यो अर्कै कथा हो
तर अहिलेको यो कालखण्डको मध्यरात शासनको अन्त्य
सकेसम्म चाँडो हुन सक्नु पर्यो
जति चाँडो यसको अन्त्य,
त्यति केही राहत हुन सक्नेछ ।









Facebook Comments