काठमाडौं । नेपाल वायुसेवा निगम आईसीटीए २०२५ अवार्डद्वारा सम्मानित भएको छ । निगमलाई भारतको नयाँदिल्लीमा आयोजित १० औं आईसीटीए अवार्डमा बेस्ट एयरलाइन्स अन नेपाल रुटको प्रतिष्ठित अवार्डद्वारा सम्मानित गरिएको हो ।​

नयाँदिल्लीस्थित होटल ले मेरीडियनमा २६ जुलाईमा सम्पन्न उक्त अवार्ड समारोहमा आईसीएम ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक अजय गुप्ता र भारत सरकारका प्रतिनिधि नासिर असलम वानीद्वारा संयुक्त रूपमा निगमलाई उक्त सम्मान प्रदान गरिएको हो ।

ad

अवार्ड समारोहको यस संस्करणमा भारत सरकारका वरिष्ठ अधिकारीहरू, पर्यटन बोर्डका प्रतिनिधिहरू, अग्रणी दूर अपरेटरहरू, भारतीय तथा अन्तर्राष्ट्रिय उड्डयन क्षेत्रका प्रमुख व्यवसायीहरूलगायत सम्बन्धित विज्ञहरूको उपस्थिति रहेको निगमका प्रवक्ता सुवास डाँगीले एक प्रेस वक्तव्य जारी गरि जनाएका छन् । उक्त समारोहमा निगमको तर्फबाट दिल्लीस्थित कार्यालयका प्रतिनिधिहरू कमल ज्ञवाली, रमन निरौला र भानुभक्त कटुवाललगायत सहभागी भई निगमलाई प्रदान गरिएको अवार्ड ग्रहण गरेका थिए ।

‘यस सम्मानले नेपालको राष्ट्रिय ध्वजावाहकको रूपमा नेपाल वायुसेवा निगमको प्रतिष्ठालाई थप मजबुत बनाएको छ । साथै, नेपाल(भारतबीचको पर्यटन प्रवर्द्धन तथा जनस्तरको सम्बन्ध सुदृढ गर्न योगदान पुर्‍याउनुका साथै सुरक्षित, भरपर्दो र यात्रुमैत्री हवाई सेवा प्रदान गर्ने निगमको प्रतिबद्धतामा थप प्रेरणा तथा हौसला प्रदान गरेको छ,’ विज्ञप्तिमा भनिएको छ ।