
सन्तान नभएका दाम्पत्य जोडीको संघर्ष र समाजले दिएको मानसिक दबाबलाई केन्द्रमा राखेर सर्ट फिल्म ‘निःशब्द’ निर्माण गरिएको छ ।
सेलिब्रेटी टाइम्सको ब्यानरमा रहेर रामजी ज्ञवालीको लेखन, निर्माण तथा निर्देशनमा फिल्म बनेको हो । निर्माण पक्षले शुक्रबार फस्र्टलुक पोस्टर ल्याउँदै फिल्मबारे जानकारी दिएको छ ।
यो फिल्ममा फिल्ममा ओजस्वी विक्रम विष्ट, मिसेल घिमिरे र दिवस नाथले अभिनय गरेका छन् । छायांकन शंकल्प भुजेलले, सम्पादन नहकुल खड्काले, साउन्ड डिजाइन भरत कँडेलले र कलर ग्रेडिङ राजेन्द्र मोक्तानले गरेका छन् ।
हाल पोस्ट–प्रोडक्सनको अन्तिम चरणमा रहेको ‘निःशब्द’लाई निर्देशक ज्ञवालीले च्यारिटी सोमार्फत दर्शकसमक्ष ल्याउने, अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलहरूमा पठाउने तथा अवार्ड प्रतिस्पर्धामा उतार्ने बताएका छन् ।
उनी भन्छन्,‘पहिला फिल्मको सम्पूर्ण काम सकिएपछि हामी कसरी दर्शकलाई देखाउने भन्ने विषयमा निर्णय गर्नेछौँ । तर, युट्युब हाम्रो पहिलो प्राथमिकताचाहिँ होइन ।’
‘निःशब्द’ले सन्तान नहुँदा समाज र पारिवारिक दबाबले भोग्नुपर्ने पीडा, विवशता र मौन पीडालाई पर्दामा जीवन्त पार्ने निर्माण टिमले जनाएको छ । निर्देशक ज्ञवाली यो फिल्मले दर्शकलाई भावनात्मक रूपमा छुने र सोच्न बाध्य बनाउने बताउँछन् ।
उनी भन्छन्, ‘सर्ट फिल्ममा ठूलो फिल्ममा जस्तो सहजै कथा भन्नलाई समय हुँदैन । हामीले छोटो समयमा केही बोल्दै छौँ । दर्शकले छोटो कथामा धेरै कुरा वुझ्नुहुनेछ भन्ने विश्वास छ ।’
रामजी ज्ञवालीले यसअघि निर्माण गरेका ‘रित्तो गाउँ’, ‘लापत्ता सन्तान’ र डकुड्रामा ‘मौन’ समेत प्रदर्शनको पर्खाइमा छन् । ‘निःशब्द’सहित उनका चार प्रोजेक्ट दर्शकमाझ आउन बाँकी छन् ।









Facebook Comments