काठमाडौं । नेकपा (एकीकृत समाजवादी) सम्मानित नेता झलनाथ खनालले भावनाले मात्रै कम्युनिष्टहरुको एकता हुन नसक्ने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले कम्युनिस्टहरू एकताबद्ध हुनु राम्रो कुरा भएको पनि बताए । सही विचार नभइकन एकताबद्ध गर्न नसकिने उनको भनाइ छ । सही विचार भनेको अहिलेको अवस्था नेपाल कुन ठाउँमा आइपुग्यो भन्ने मूल्याङ्कन गर्नु रहेको उनले बताए ।

ad

नेपाल अहिले जनवादी क्रान्तिको कालखण्ड पार गरेर समाजवादी क्रान्ति र रूपान्तरणको युगमा आइपुगेको समेत उनले बताए । कम्युनिष्टहरुको मार्गदर्शक सिद्धान्त मार्क्सवाद, लेनिनवाद भएको उनले बताए ।

खनालले भने, ‘कम्युनिस्टहरू एकताबद्ध हुनुपर्छ यो असाध्यै राम्रो कुरा हो । तर भावनाले मात्रै एकता पक्कै हुँदैन । सही विचार नभइकन एकताबद्ध गर्न सकिँदैन । सही विचार भनेको यो अहिलेको अवस्था नेपाल कुन ठाउँमा आइपुग्यो भन्दा जनवादी क्रान्तिको कालखण्ड पार गरेर हामी समाजवादी क्रान्ति र रूपान्तरणको युगमा आइपुग्यौँ । यो कुरा सबै कम्युनिष्टहरुले मान्न सक्नुपर्छ । हाम्रो मार्गदर्शक सिद्धान्त मार्क्सवाद, लेनिनवाद हो । मार्क्सवाद, लेनिनवादका सामु फेरि यसको देब्रेतिर एउटा पुच्छर, दाहिनेतिर अर्को पुच्छर यो जोडिरहनुपर्ने केही पनि जरुरी छ । मार्क्सवाद, लेनिनवाद नै सार्वभौम सिद्धान्त हो ।’

सम्मानित नेता खनालले बहुदलीय जनवाद भनेको समाजवाद नभएको र पुँजीवादी जनवादीबाट समाजवाद ल्याउन नसकिने बताए ।