
काठमाडौं । एमालेको केन्द्रीय कमिटीको बैठकले पूर्वराष्ट्रपति बिद्यादेवी भण्डारीलाई राजनीतिमा फर्कन रोक लगाउने निर्णय गरेकोमा विभिन्न राजनीतिक दलका नेताहरुले टिप्पणी गरिरहेका छन् ।
यसैक्रममा नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरूङले पूर्वराष्ट्रपति भण्डारीलाई एमालेले राजनीतिमा प्रतिवन्ध लगाउनु नेपालको संविधानको मौलिक हकको धारा–१७ विपरीत रहेको टिप्पणी गरेका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उक्त टिप्पणी गरेका हुने ।
फेसबुकमा उनले लेखेका छन्–‘नेपालको संविधानले पूर्वराष्ट्रपतिलाई गैरनागरिक बनाएको छैन। नेपाली नागरिकहरूको हकमा मौलिक हकसम्बन्धि धारा १७ ले दलीय स्वतन्त्रता प्रदान गरेको छ। कुनै पनि नेपाली नागरिकलाई दल खोल्ने वा कुनै दलमा प्रवेश गर्ने र दलीय गतिविधि गर्न पाउने स्वतन्त्रता प्रदान गरेको छ। गैरनागरिक भएमा वा राष्ट्रिय स्वाधिनताविपरीत कार्य गरेमा मात्र उक्त स्वन्त्रतामा बन्देज लाग्न सक्छ। ‘संवैधानिक पदमा हुँदा सोहीअनुसार चिन्ने हो। पदमा रहेको वा नरहेको दुई स्थितिबाहेक तेस्रो स्थितिको नागरिकको परिकल्पना संविधानले गरेको छैन।
यस स्थितिमा नेपाली नागरिकको मौलिक हकको स्वतन्त्रता नेपाली नागरिक रहेको पूर्वराष्ट्रपतिले उपभोग गर्न नमिल्ने आधार पुष्टि हुने देखिँदैन। बिनाआधार बन्देज लगाउनु भनेको संविधानको मौलिक हकको स्वतन्त्रताको गम्भिर उल्लंघन हुन जाने देखिन्छ। निर्वाचन आयोगमा संविधानअनुसार दर्ता भएका दलहरूले संविधानको मौलिक हकविपरीत कुनै पनि विधान वा नियमावली बनाउन र निर्णय गर्न मिल्दैन। अतः मौलिक हकविपरीत भए गरेका निर्णयहरू प्रथम दृष्टिमा नै वदरयोग्य हुने ठहर्छ।










Facebook Comments