काठमाडौं । पूर्वमन्त्री रञ्जिता श्रेष्ठ पनि घुस अडियो प्रकरणमा संलग्न भएको भेटिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री एवं नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठसँग बयान लिन सुरु गरेको छ । अख्तियारले उनलाई बयानका लागि आज डाकेको थियो । बिहान १० बजेदेखि उनीसँग सोधपुछ शुरु भएको बताइएको छ ।

मालपोत कास्कीका कार्यालय प्रमुखको थमौती र सरुवाको विषयमा सार्वजनिक भएको घुस अडियोको छानविनका सिलसिलामा अख्तियारले पूर्वमन्त्री श्रेष्ठको पनि संलग्नता भेटेपछि बयानका लागि डाकेको हो । राजीनामा दिएका निवर्तमान सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता संलग्न भएको व्यक्तिसँग नै पूर्वमन्त्री श्रेष्ठले पैसा मागेको प्रमाण फेला परेको हो ।

ad


अडियो रेकर्ड गर्ने पोखराका व्यक्तिसँग पूर्वमन्त्री श्रेष्ठले पटकपटक सम्पर्क गरेको र पैसा समेत मागेको खुल्छ । उनले मन्त्रिपरिषद्‌ बैठकको सूचना आदान प्रदानदेखि आफ्नो निजी सुरक्षा अधिकृत (पीएसओ) प्रयोग गरेर समेत पैसा मागेको खुलेको हो ।

पूर्वमन्त्री श्रेष्ठले ९८५१२…५४ नम्बरको फोनबाट पोखराका ती व्यक्तिसँग बारम्बार सम्पर्क गरेको र रकम समेत मागेको प्रमाण फेलापरेको हो । तर पूर्वमन्त्री श्रेष्ठले आफूमाथिको आरोप अस्वीकार गरेकी छन् ।

अख्तियार उच्च स्रोतका अनुसार पूर्वमन्त्री श्रेष्ठले पोखराका ती व्यक्तिसँग फोनमा म्यासेज गरेर, ‘…जी, पशुपति पूजामा छु, क्यास चाहिएको छ । ड्राइभरलाई लिन पठाइदिँऊँ ?’ भनी म्यासेज लेखेको भेटिएको हो ।

अख्तियारस्रोतका अनुसार परीक्षणका लागि आज उनको आवाज रेकर्ड गराइनेछ ।