नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले निजामती सेवा विधेयकको ‘कुलिङ पिरियड’सम्बन्धी राज्य व्यवस्था समितिको सिफारिसविरुद्ध काम भए कांग्रेसले सरकारलाई बचाइ नराख्ने बताएका छन् ।

बीपी स्मृति दिवसका अवसरमा आज नेपाली कांग्रेस मध्यपुरथिमी नगर समितिले आयोजना गरेको विचार गोष्ठी र नेपाल तरुण दल मध्यपुरथिमी नगर समितिको अधिवेशन उद्घाटन कार्यक्रममा उनले कुलिङ पिरियड हटाउने प्रयास गरे वा समितिको सिफारिस विपरीत गर्न खोजिए आफूहरू सरकारबारे सोच्न बाध्य हुने बताए ।

ad

महामन्त्री शर्माले कुलिङ पिरियडका विषयमा जसले गलत गरे पनि कारबाही हुने बताए ।

‘कुलिङ पिरियडसम्बन्ध ज–जसले गलत गर्नुभएको छ, ती सबैलाई कारबाही हुन्छ र कुलिङ पिरियड दुई वर्षको ठाउँमा साढे दुई वर्ष होला तर हट्दैन’, उनले भने, ‘राष्ट्रिय सभाबाट यसलाई समाधान गरिन्छ । कुलिङ पिरियडलाई प्रधानमन्त्रीको निर्देशनमा हटाउने प्रयास भएमा वा समितिबाट गरेको सिफारिसविरुद्ध काम भए कांग्रेसले यो सरकारलाई बचाइ राख्दैन ।’

उनले भूमि विधेयकको विषयमा छलफल चलिरहेकाले यसलाई समितिमा लगेर व्यापक सहमतिका साथ अगाडि बढाइने बताए । महामन्त्री शर्माले अझै पनि देश बीपी कोइरालाको नीतिमा अगाडि बढेको भन्दै कल्पना गरेअनुसारको विकासका लागि सबै प्रतिबद्ध भएर लाग्नुपर्नेमा जोड दिए ।

‘देश अहिले पनि बीपीले देखाएको बाटोमै छ । उहाँलाई अन्य दल, राजतन्त्र र स्वयम् कांग्रेसले राम्रोसँग बुझ्न सकेको भए देश धेरै अगाडि हुन्थ्यो । दश वर्षे सशस्त्र द्वन्द्व, राजतन्त्रको बिदाइ, देशका अगाडि विविध समस्या यो ढंगले आउने थिएनन्’, उनले भने ।