काठमाडौं । पूर्वमन्त्री रञ्जिता श्रेष्ठ पनि घुस अडियो प्रकरणमा संलग्न भएको भेटिएको छ । राजीनामा दिएका निवर्तमान सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता संलग्न भएको व्यक्तिसँग नै पूर्वमन्त्री श्रेष्ठले पैसा मागेको प्रमाण फेला परेको हो ।

अडियो रेकर्ड गर्ने पोखराका व्यक्तिसँग पूर्वमन्त्री श्रेष्ठले पटकपटक सम्पर्क गरेको र पैसा समेत मागेको खुल्छ । उनले मन्त्रिपरिषद्‌ बैठकको सूचना आदान प्रदानदेखि आफ्नो निजी सुरक्षा अधिकृत (पीएसओ) प्रयोग गरेर समेत पैसा मागेको खुलेको हो ।

ad

पूर्वमन्त्री श्रेष्ठले ९८५१२…५४ नम्बरको फोनबाट पोखराका ती व्यक्तिसँग बारम्बार सम्पर्क गरेको र रकम समेत मागेको प्रमाण फेलापरेको हो । तर पूर्वमन्त्री श्रेष्ठले आफूमाथिको आरोप अस्वीकार गरेकी छन् ।

अख्तियार उच्च स्रोतका अनुसार पूर्वमन्त्री श्रेष्ठले पोखराका ती व्यक्तिसँग फोनमा म्यासेज गरेर, ‘…जी, पशुपति पूजामा छु, क्यास चाहिएको छ । ड्राइभरलाई लिन पठाइदिँऊँ ?’ भनी म्यासेज लेखेको भेटिएको हो ।

अख्तियारस्रोतका अनुसार, सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता, भूमिसुधार मन्त्री भइसकेकी नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ र मन्त्रीलाई पैसा बुझाउने पोखराका ती व्यक्तिबीच निरन्तर सम्पर्क भएको खुलेको हो ।

अर्को म्यासेजमा पूर्वमन्त्री श्रेष्ठले ‘नरिवलको तेल एउटा लिन पठाइदिनुस् न, मन्त्रीज्यूलाई चाहियो’ भनेर म्यासेज लेखेको भेटिएको छ । उनले बारम्बार ‘आफू सामान्य प्रशासनमन्त्रीसँग मिटिङमा रहेको’ भनी म्यासेज लेखेको देखिन्छ । पोखराका ती व्यक्तिलाई मन्त्रीको पीएसओ भन्ने व्यक्तिले समेत म्यासेज गरेर ‘पैसाको कुरा कहिले हुन्छ ?’ भनेको विवरण भेटिएको छ ।

मन्त्रिपरिषद्‌को बैठक बस्दै छ भन्ने सूचनादेखि ‘मलाई मन्त्री गुप्ताले कल गर्दै छ’ भन्नेसम्मको कुराकानी फेला परेको अख्तियारस्रोतले बतायो । स्रोतले भन्यो, ‘पोखराको जग्गाका लागि मालपोतको कर्मचारी फेर्न जे जस्तो प्रयास भयो, त्यसमा नाउपा अध्यक्ष श्रेष्ठ संलग्न भएको देखिन्छ ।’